हेटौंडा/ए डिभिजन क्लब हिमालयन शेर्पा चोथौ बागमती गोल्डकप फुटबल प्रतियोगिता–२०७७ को पहिलो खेलबाटै बाहिरिएको छ ।
मकवानपुरको पूर्वीक्षेत्र स्थित वाग्मती गाउँपालिकामा जारी प्रतियोगितामा मोफासलको बागमती युवा क्लब सर्लाहीसँग ३–२ गोल अन्तरले पराजितहुँदै शेर्पा प्रतियोगिता बाट बाहिरिएको हो ।
सर्लाहीको जीतमा विदेशी खेलाडी स्टेफन समिर र म्याक्सवेल तथा विमल घिसिङले एक÷एक गोल गरेका थिए । शेर्पाका लागि बसन्तमान राई र सुजन थापा मगरले एक÷एक गोल गरेपनि हार टार्न सकेनन् ।
खेलको २७ औं मिनेटमा स्टेफन समिरले आकर्षक गोल गर्दै सर्लाहीलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा विमलको गोलसँगै सर्लाहीले अग्रता दोब्बर बनाएको थियो । शेर्पाका लागि ४८ औं मिनेटमा बसन्तमान राईले एक गोल गर्दै खेलमा अग्रता घटाएका थिए । सर्लाहीका विदेशी खेलाडी म्याक्सवेलले ५६ औं मिनेटमा आफ्नो टिमका लागि तेस्रो गोल गरे । शेर्पाका सुजनले ६० औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरेपनि हारबाट जोगाउन भने सकेनन् ।खेलमा सर्लाहीका विमल म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँचहजार रुपैयाँ प्राप्त गरे । स्थानीय जनता माविको मैदानमा भएको खेलमा शेर्पामाथि सर्लाहीले पहिलो हाफदेखि नै दबाब कायम गरेको थियो । विशेष गरी सर्लाहीका विदेशी खेलाडी समिर र म्याक्सवेल शेर्पाका डिफेन्डरमाथि भारी परे । शेर्पाले स्तरीय खेल पस्कन सकेन । शेर्पा मोफासलमा जारी नकाउट प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो । शेर्पाका खेलाडीबीच तालमेलको अभाव र फिटनेसमा समस्या देखिन्थ्यो ।
जीतसँगै सर्लाही सेमिफाइनलमा पुगेको छ । फाइनल प्रवेशका लागि सशस्त्र प्रहरीको (एपीएफ) क्लब र थ्री स्टार क्लब बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत् बुधबार जाउला खेल युथ क्लब र नवजनजागृति युवा क्लब सिमराबीच प्रतिस्पर्धा हुनेछ । चैत २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद आठलाख र उपविजेताले चारलाख रुपैयाँ प्राप्त गर्नेछन् ।