हेटौंडा/ बागमती प्रदेशको गौरव योजना पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको ग्लोबल टेण्डर खुलाउने पूर्व निर्धारित समय सीमा नाघेको छ ।गतवर्ष भीमफेदी–कुलेखानी सुरुङमार्ग आयोजनाको कार्यालय स्थापना गर्दै बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले फागुन पहिलो हप्ता ग्लोबल टेण्डर आह्वान गर्ने समय अवधि तोकेको थियो । तर, चैत तेस्रो हप्ता लागिसक्दा पनि मन्त्रालयले भीमफेदी–कुलेखानी सुरुङमार्गको टेण्डर आह्वान गर्न सकेको छैन् । मन्त्रालय स्रोतका अनुसार सुरुङमार्गको टेण्डर आह्वान गर्न पछिल्लो राजनीतिक घटना क्रमले बाधा पुगेको जनाइएको छ ।
मन्त्रालय स्रोतले भन्यो, ‘हामीले पूर्व निर्धारित समय अर्थात फागुन पहिलो हप्ताभित्र टेण्डर आह्वान गर्ने तयारीमा थियौं । देशको पछिल्लो राजनीतिक घटना क्रमले ढिला भएको छ ।’, यसअघि बागमती प्रदेश सभाको सार्वजनिक लेखा समितिले भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण कार्यसम्बन्धी प्रक्रिया तत्काल अघि नबढाउन निर्देशन दिएको थियो । लेखा समितिको निर्देशनले टेण्डर प्रक्रिया समयमै नभएको हो ? भन्ने प्रश्नमा स्रोत भन्छ, ‘लेखा समितिको निर्देशनले गर्दा ढिला भएको होइन, देशको राजनीतिक परिस्थितिले गर्दा हो ।’
गत भदौ अन्तिममा बसेको सार्वजनिक लेखा समितिको बैठकले संघको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल पूर्वाधार विकास कम्पनीकाठमाडौंबीच काठमाडौं–कुलेखानी–भीमफेदी–हेटौंडा (सुरुङ मार्गसहित) सडक निर्माणको सम्झौता भइसकेका कारण त्यसको वैधानिकता स्पष्ट पार्न जरुरी रहेको औंल्याउँदै भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण कार्यसम्बन्धी प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको थियो । समितिको निर्देशनपछि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले नेपाल पूर्वाधार विकास कम्पनीलाई काम गर्न असर नपर्ने गरी सुरुङमार्गसहितको सडक आयोजना निर्माण गर्न लागेको धारणा सार्वजनिक गरेको थियो ।
मन्त्रालयलका अनुसार भीमफेदी–कुलेखानी सुरुङमार्गको डीपीआर निर्माण भइसकेको छ । प्रदेश सरकार स्थापना लगत्तै भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारेको सरकारले हालसम्म पनि टेण्डर आह्वान गर्न नसकेको हो । प्रदेश सरकारले २०७७ वैशाखमा टेण्डर आह्वान गर्ने योजना पनि बनाएको थियो । सुरुङमार्ग निर्माणका लागि १८ करोड ७२ लाख ७ सय ७६ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले यसअघि वैशाखबाट सुरुङमार्गको काम सुरु हुने पनि बताएका थिए । हरेक सार्वजनिक कार्यक्रममा सुरुङमार्गबारे विषय कोट्याउने मन्त्री फुँयालले निर्धारित समयभित्र पनि टेण्डर आह्वान गर्न सकेका छैनन् । स्वतन्त्र जन दवाव अभियानको विभिन्न माग समेटिएको ज्ञापन पत्र केही दिनअघि बुझ्दै भौतिक पूवाधार विकास मन्त्री फुँयालले एक महिनाभित्र सुरुङमार्गको टेण्डर आह्वान हुने जानकारी दिएका थिए ।
भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २ सय १५ किलोमिटर सुरुङ निर्माण हुनेछ । सुरुङमार्ग निर्माण हुँदा हेटौंडा काठमाडौंको यात्र करिब २ घण्टामा गर्न सकिने छ । सुरुङ निर्माणपछि भीमफेदीदेखि कुलेखानीसम्मको १५ किलोमिटर सडक ३ दशमलव २५ किलोमिटरमा सीमित हुनेछ । भीमफेदीदेखि कुलेखानीसम्म सुरुङमार्ग दुई लेनको बन्ने जनाइएको छ ।