Sajhakura Dainik - मकवानपुरबाट एक अर्ब ३८ करोड रुपैयाँ फिर्ता
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

मकवानपुरबाट एक अर्ब ३८ करोड रुपैयाँ फिर्ता


समाचार 21 पटक पढिएको




हेटौंडा, २८ साउन÷ संघीय सरकारले गत आर्थिक वर्ष २०७५÷७६ मा मकवानपुरका विभिन्न कार्यालय र स्थानीय तहमा पठाएको एकीकृत विनियोजनतर्फको एक अर्ब ३८ करोड ४४ लाख रुपैयाँ फिर्ता भएको छ ।

 जिल्लामा पठाइएको बिनियोजन खर्चबापतको १४ अर्ब १४ करोड ९१ लाख रुपैयाँमध्ये १२ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ मात्र खर्च भएको थियो ।  कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरका अनुसार डिभिजन सडक कार्यालय हेटौंडाको बजेट सबैभन्दा बढी रकम फ्रिज भएको छ । कार्यालयको लागि सरकारले ९७ करोड ७८ लाख ९५ हजार रुपैयाँ छुट्याएकोमा ३५ करोड ९६ लाख ६३ हजार रुपैयाँ खर्च हुन नसकेको हो । त्यस्तै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको लागि छुट्याइएको एक अर्ब ३६ करोड ९४ लाख ६५ हजारमध्ये ३० करोड ३ लाख रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको लेखा नियन्त्रण कार्यालय मकवानपुरका कोष नियन्त्रक प्रमोद मैनालीले बताए । जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षातर्फको पनि एक करोड १५ लाख रुपैयाँ बजेट फिर्ता गएको छ । शिक्षाको भवन पुनःनिर्माणको लागि ४७ करोड ४६ लाख रुपैयाँ छुट्याइएको थियो ।  मकवानपुरका १० वटा स्थानीय तहमा पठाइएको एकीकृत विनियोजन खर्चतर्फको करिब ६ करोड रुपैयाँ फ्रिज भएको छ । सबै स्थानीय तहमा गरी ७४ करोड ६९ लाख ६० हजार रुपैयाँ पठाइएकोमा ६ करोड ८ लाख १९ हजार रुपैयाँ खर्च हुन नसकेको हो । स्थानीय तहहरुले एकीकृत बिनियोजनखर्चतर्फको ६८ करोड ६१ लाख ४० हजार रुपैयाँ मात्र खर्च गर्न सकेका हुन् । १० स्थानीय तहमध्ये थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाले छुट्याइएको सबै रकम खर्च गर्न सफल भएका छन् । थाहा नगरपालिकाको ८ करोड २१ लाख ७२ हजार रुपैयाँमा सबै रकम खर्च भएको हो भने इन्द्रसरोबर गाउँपालिकाको २ करोड ९६ लाख रुपैयाँ सबै खर्च गर्न सफल भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरका कोष नियन्त्रक प्रमोद मैनालीले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाले पाएको २२ करोड ७४ लाख विनियोजन रकममध्ये पाँचलाख ३४ हजार रुपैयाँ मात्र फिर्ता भएको छ । मनहरी गाउँपालिकाको कुल ६ करोड २९ लाख ४७ हजार एकीकृत बिनियोजन रकममध्ये एक करोढ ९६ लाख खर्च हुन नसकी फ्रिज भएको छ । ४ करोड ५३  लाख ८७ हजार रुपैयाँ पाएको कैलाश गाउँपालिकाले ३३ लाख ९४ हजार खर्च गर्न सकेन । त्यसैगरी विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिकाले पाएको ५ करोड ७८ लाख १० हजार रुपैयाँ एकीकृत विनियोजन रकममध्ये ५ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ ।  मकवानपुरगढी गाउँपालिकाको ५ करोड ७८ लाख ९९ हजार रुपैयाँमध्ये ९८ लाख ३३ हजार खर्च हुन नसकेको कार्यालयको तथ्यांकले देखाएको छ । बागमती गाउँपालिकाको ५ करोड ६१ लाख बिनियोजन रकममध्ये २० लाख रुपैयाँ मात्रै फ्रिज भएको छ भने बकैया गाउँपालिकाको ८ करोड ४३ लाख रुपैयाँमध्ये एक करोड ८४ लाख रुपैयाँ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । त्यस्तै भीमफेदी गाउँपालिकाको–४ करोड १६ बिनियोजन रकममध्ये ४४ लाख ४० लाख रुपैयाँ भने फ्रिज भएको बताइएको छ । यसैबीच संघीय सरकारले स्थानीय तहलाई दिएको बित्तीय हस्तान्तरणतर्फको खर्च नभएको बजेट भने स्थानीय तहहरुले फिर्ता पठाइसकेका छैनन् । केही स्थानीय तहले सशर्त र समपुरक अनुदानको खर्च हुन नसकेको रकम फिर्ता पठाए पनि धेरैले हालसम्म फिर्ता नगरेको कोष नियन्त्रक प्रमोद मैनालीले जानकारी दिए ।  स्थानीय तहको लेखा परीक्षणपछि मात्रै सशर्त र समपुरक अनुदान रकमको बास्तविक खर्च बिबरण आउने मैनालीले बताए । मकवानपुरका १० वटा स्थानीय तहलाई संघीय सरकारले दुई अर्ब ९९ करोड ४३ लाख रुपैयाँ बित्तीय हस्तान्तरणबापतको बजेट पठाएको थियो । त्यसमध्ये एक अर्ब १० करोड ३१ लाख रुपैयाँ बित्तीय समानीकरण बापतको रकम थियो ।






कमेन्टसहरु




2584359 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top