Sajhakura Dainik - सुन किन्नेको भन्दा बेच्नेको भीड
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

सुन किन्नेको भन्दा बेच्नेको भीड


अर्थ / व्यापार 35 पटक पढिएको




हेटौंडा, १२ भदौं÷हरेक वर्षको झै यस वर्षको तीजमा पनि हेटौंडाका सुन पसलमा ग्राहकहरुको भीड लागेको छ । तर त्यो भीड सुन किन्नेको नभई सुन बेच्नेको लागि हो ।


नेपाली नारीहरुको महान् पर्व तीजको मुखैमा सुनको मूल्य अत्याधिक वृद्धि भएपछि सुन पसलमा सुन किन्नेको भन्दा बेच्नेको भीड लाग्न थालेको हो ।  तीजमा नेपाली महिलाहरु रातो सारीसंगै पहेँलो सुनमा पनि सजिने गर्दछन् । त्यसैले हरेक वर्ष तीज नजिकिएसँगै सुन पसलमा विभिन्न गरगहना किन्नेहरुको भीड लाग्ने गर्दछ । सोहि अनुसार यस वर्षको तीज पनि नजिकिएसँगै सुन पसलमा ग्राहकहरुको भीड लागेको छ । तर त्यो भीडमा सुन किन्नेको नभई बेच्नेको सङ्ख्या बढि छ । 

सुनको मूल्य दिनप्रतिदिन बढेसँगै सुन किन्नुको साटो बेच्न थालिएको हो । सुनको व्यवसाय हुने प्रमुख सिजन तीजमा नै सुन किन्नेको भन्दा बेच्नेको भीड लागेपछि सुन व्यवसायीहरु दुःखी भएका छन् । उनीहरुले सुनहको मूल्य बढिरहँदा आफूहरु घाटामा परेको बताएका छन् । हेटौडा–२ पिपलबोटामा रहेको चुरियाँमाई सुनचाँदी पसलका भीप्रसाद बिकले यसवर्ष गत वर्षको तुलनामा ९० प्रतिशत व्यापार घटेको बताए । उनले भने–‘पोहोर सालतीर तीज आउन यतिको समय हुँदा करिब दुई करोडको व्यापार भइसक्थ्यो तर यो वर्ष भने पचास लाखको पनि भएको छैन । बरु सुन बिक्री हुनुको साटो किन्नु परेको छ ।’ न्यु मनकामना सुनचाँदी पसलकी निर्मला बिकले भनिन् ।

सुनको भाऊ नीरन्तर बढिरहदा आफस्हरु व्यवसायबाट नै बिस्थापित हुनुपर्ने अवस्था आएको उनले बताइन् । उनले सुनको मुख्य सिजनमा नै व्यवासय नभएको भन्दै गुनासो गरिन् । बिकले सरोकारवालाले समयमा ध्यान दिएर मूल्य घटाउन पहल गर्न आग्रह समेत गरिन् । ‘सीजनमा पनि सुन किन्न आउने कोही छैनन् । उल्टो महंगीको बेलामा बेच्नुपर्छ भनेर बेच्न आउने भीड लाग्छ ।’ उनले थपिन् । 

बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार प्रतितोला ८०० रुपैयाँले बढेर ७३ हजार ४०० रुपैयाँमा बिक्री भयो । तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ८०० रुपैयाँले नै बढेर ७३ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत सोमबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ कृतिमानका साथ प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्रािष्ट्रय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । त्यसकै असर नेपालमा पनि परेको हो । सुनको भाउ महँगो भएपछि कारोबार ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीले बताएका छन् ।





कमेन्टसहरु




2639770 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top