Sajhakura Dainik - हेटौंडामा कुस्तीको बन्द प्रशिक्षण सुरु
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
खेलकुद

हेटौंडामा कुस्तीको बन्द प्रशिक्षण सुरु


खेलकुद 56 पटक पढिएको




हेटौंडा÷आगामी मंसिर १५ गतेदेखि २४ गतेसम्म नेपालमा हुने प्रतियोगिताका लागि सार्क राष्ट्रस्तरीय कुस्तीको बन्द प्रशिक्षण हेटौंडामा सुरु भएको छ।

 

नेपालमा हुने १३ औं सागमा सहभागी हुने कुस्ती टोलीको बन्द प्रशिक्षण हेटौंडामा सुरु भएको हो । विभिन्न दशवटा तौल समूहमा २० महिला र २० पुरुष गरी ४० जनाले हेटौंडा–४ स्थित कभर्ड हलमा प्रशिक्षण सुरु गरेको कुस्तीका मुख्य प्रशिक्षक ब्रह्मदेवप्रसाद यादवले जानकारी दिए । 

देशभरका जिल्लागत छनौटबाट प्रथम र दोस्रो भएका खेलाडीहरुलाई हेटौंडामा प्रशिक्षणको व्यवस्था मिलाइएको हो । दुई महिनासम्म हामी हेटौंडामा प्रशिक्षण दिई  प्रतियोगितामा सहभागी हुने महिला र पुरुष खेलाडीको अन्तिम छनौटपश्चात् वैदेशिक प्रशिक्षणका लागि जाने यादवले बताए । 

उनका अनुसार भारत र इरान लगेर थप प्रशिक्षण गराउन कुस्तिसंघले व्यवस्था मिलाइरहेको बताए । ‘मिल्यो भने हामी ४० जनालाई नै वैदेशिक प्रशिक्षणका लागि लैजानेछौं । नभए दोस्रो चरणको बन्द प्रशिक्षणमा हामी विदेश पनि लैजान्छौं ।’ उनका अनुसार ४० जनाबाट २२ जना खेलाडीले मात्रै दोस्रो चरणको बन्द प्रशिक्षणमा सहभागिता जनाउने छन्। पुरुषतर्फ ५७, ६१, ६५, ७०, ७४, ८४, ८९, ९२, ९७ र १२५ केजी तौल समूहका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको छ । यस्तै, महिलातर्फ ५०, ५३, ५५, ५७, ५९, ६२, ६५, ६८, ७२ र ७६ केजी तौल समूहका खेलाडीहरु रहेका छन् । बन्द प्रशिक्षणमा १२ जना विभागीय टिमका खेलाडीहरु समेत सहभागी रहेको कुस्तीका प्रशिक्षक राजेन्द्र चन्दले जानकारी दिए । ६५ केजीमा १२ औं सागमा कास्य पदका जितेका सरोज यादव, ७० केजीमा सुरेश चुनारा, ७४ केजीमा बैजनाथ यादव र १२५ केजीमा राज यादव उत्कृष्ट खेलाडी रहेको उनले बताए । 

यस्तै, महिलातर्फ ५० केजीमा ममिशा सिंह, ५३ केजीमा शिवांगी दुवे र ५५ केजीमा संगीता धामी उत्कृष्ट रहेको मुख्य प्रशिक्षक यादवले जानकारी दिए । महिला तर्फका यी तीनै जनाले ६ महिना दिल्लीमा प्रशिक्षण गरेर आएको भन्दै उनले यी खेलाडीहरुबाट बढी अपेक्षा रहेको बताए ।

‘१३औं साग घरमा नै हुँदैछ, हामीलाई घरेलु दर्शकको भरपुर साथ रहनेछ’, सागबाट आफ्नो अपेक्षा सुनाउँदै मुख्य प्रशिक्षक यादवले भने, ‘यो पटक हामी तीनवटासम्म स्वर्ण पदक जित्ने लक्ष्यका साथ तयारी गररहेका छौं ।

कुस्तीमा अहिलेसम्म स्वर्ण आएको छैन । तर, विगतका साग गेममा पदक विहिन अवस्था भने छैन । हाम्रो लक्ष्य स्वर्ण नै 

हो ।’ हेटौंडामा दुईमहिना बन्द प्रशिक्षण पछि खेलाडी छनोट गरिने र दोस्रो चरणको बन्द प्रशिक्षण सुरु गरिने उनले बताए ।

कुस्तीमा दक्षिण एसियामै भारत बलियो टोली भएको र पहिलो चरणमा उनीहरुसँग भिड्न 

नपरेको खण्डमा धेरै पदक ल्याउन सकिने प्रशिक्षकहरुको बुझाइ छ । ‘भारत र इरानमा हुने प्रशिक्षणबाट 

हाम्रो खेलाडीले आफ्नो कमी कमजोरी सच्याउन मौका पाउनेछन् । जसले गर्दा हामीलाई पदक जित्न थप बल पुग्नेछ ।’, उनले भने ।





कमेन्टसहरु




2584328 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top