Sajhakura Dainik - पुष्पलाल पार्कको फेरियो परिचय
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

पुष्पलाल पार्कको फेरियो परिचय


समाचार 4 पटक पढिएको


पुष्पलाल पार्कको फेरियो परिचय


हेटौंडा,२३ चैत÷दुई वर्षअघिसम्म हेटौंडा–५ मा रहेको पुष्पलाल पार्क लागूऔषध दुव्र्यसनी तथा युवायुवतीको अनैतिक क्रियाकलाप गर्ने थलोको रुपमा बदनाम थियो । तर, अहिले परिचय फेरिएको छ । २ वर्षको अवधिमा शान्ति, स्वास्थ्य तथा पारिवारिक मनोरञ्जन गर्ने स्थलको रुपमा पार्कलाई परिणत गरिएको छ ।

व्यवस्थापक परिवर्तन भएपछि हेटौंडाको मध्य भागमा रहेको एक मात्र पार्कको मुहार फेरिएको हो । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले सञ्चालनको जिम्मा लिएदेखि पार्कलाई शान्ति बाटिकाको रुपमा परिणत गरिएको छ । हाल अहिले दैनिक २ सय जनाको हाराहारीमा अवलोकनकर्ता पार्कमा पुग्ने गरेको पार्क व्यवस्थापनले जनाएको छ । ४० थरीका गुलाफ गरी ३ सय ४० प्रकारका फूल रापेर पार्क सजाइएका छन् ।
डिप बोरिङमार्फत पानी निकाली पोखरीमा २ वटा डुङ्गासमेत सञ्चालनमा ल्याइएको छ । प्रवेश निशुल्क छ भने डुङ्गा चढ्न चाहनेले प्रतिव्यक्ति ३० रुपियाँका दरले शुल्क तिर्नुपर्ने पार्कको सेवामा खटिएकी कर्मचारी शारदा तिमल्सिनाले जानकारी दिइन् । पार्कमा शंकरको मूर्ति निर्माण गरिनुका साथै पालेघर, २ वटा फुड स्टलसमेत निर्माण गरिएको छ । पार्कस्थलमै बैठक हलसमेत निर्माण गरिएको र त्यस हललाई जुनसुकै संस्थाले निशुल्क उपयोग गर्न सकिने पार्कका संरक्षक विजयराज सग्देलले जानकारी दिए ।
 पार्कको बीचमा रहेको तलाउमाथि बनाइएको ध्यान केन्द्रमा दैनिक ४० जना स्थानीय ध्यान गर्न आउने बताउँदै संरक्षक सिग्देलले पार्कमा शान्तिको अनुभूति गर्न सकिने दाबी गरे । उनका अनुसार समयसमयमा पार्कमा युवाहरुलाई भेला गराई दुव्र्यसनी विरुद्ध जनचेतनामुलक कार्यक्रम पनि सञ्चालन हुने गरेको छ । पार्कमा निर्माण गरिएको पानीको रंगीन फोहोराले धेरैको ध्यान खिचेको छ । पार्कको सुरक्षा, सरसफाईमा समेत विशेष ध्यान दिइएको छ । पार्क नियमित हेरचाह गर्नका लागि दिउँसो ४ जना र राती २ जना गरी ६ जना कर्मचारी  खटाइएको छ । फुड स्टलबाट उठाइने मासिक भाडा, डुङ्गा चढेको शुल्क र दानपात्रमार्फत पाइने सहयोगबाट कर्मचारीको तलव व्यवस्थापन गरिरहिएको संरक्षक सिग्देलले जानकारी दिए ।
निजी साझेदारी परियोजना (पीपीपी) कार्यक्रमअन्तर्गत हेटौंडा उपमहानगरपालिकासँग ५ वर्षको सम्झौता गरी २०७१ सालदेखि ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले पार्क सञ्चालनको जिम्मा लिएको हो । संस्थाले हालसम्म पार्क व्यवस्थापनको लागि करिब ८३ लाख रुपियाँ खर्च गरिसकेको जनाएको छ । करिब डेढ दशकअघि स्थापित पार्कको संरक्षणको जिम्मा यसअघि गौतम नर्सरीले लिएको थियो । नर्सरीले पार्क व्यवस्थापन प्रभावकारी ढंगले सञ्चालन गर्न नसकेपछि १० वर्षे सम्झौताअवधि सकिनु केही महिनाअघि मात्रै हेटौंडा उपमहानगरपालिकाले सम्झौता खारेज गरेको थियो।
पार्कको व्यवस्थापनको लागि हेटौंडा उपमहानगरपालिकाले वार्षिक ३ लाख रुपैयाँ उपलब्ध गराउँदै आएकोमा आगामी वर्षदेखि ५ लाख रुपियाँ उपलब्ध गराउने गरी सम्झौता भएको पार्क संरक्षक सिग्देलले जानकारी दिए । पार्कलाई अझै व्यवस्थित बनाउनको लागि लागि तलाउमा सांगीतिक रंगीन फोहरा बनाउने तयारी भएको पनि सिग्देलले बताए ।
संगीतको लयअनुरुप पानीको रंगीन फोहोरा देखिने प्रविधि प्रयोग गर्न निकै खर्चिलो भएको उनले बताए । करिब ७० लाख रुपियाँ लाग्ने उक्त प्रविधि जडानको लागि लगानी खोजिरहेको पार्क व्यवस्थापनले जनाएको छ । एक बिगाहा क्षेत्रफलमा फैलिएको पार्कमा स्थापनाकालमै करिब २२ लाखको लगानी गरिएको थियो ।



कमेन्टसहरु




2584319 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top