Sajhakura Dainik - अझै बिकेन रोपवे उपकरण
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

अझै बिकेन रोपवे उपकरण


समाचार 127 पटक पढिएको


अझै बिकेन रोपवे उपकरण


हेटौंडा, ९ साउन÷ हेटौंडा सिमेन्ट उद्योगले लिलामी प्रक्रिया अघि बढाएको करिब ४ वर्षमा पनि करोडौं मूल्यको रोपवे उपकरण बिक्री गर्न सकेको छैन।
लामो समयदेखि सञ्चालन हुन नसकी अलपत्र अवस्थामा रहेको रोपवेको उपकरण बिक्रीका लागि पटकपटक लिलाम सूचना प्रकाशन गरिरहे पनि बिक्री हुन नसकेको हो ।
हेटौंडा सिमेन्ट उद्योगको कच्चा पदार्थ चुनढुङ्गा भैंसेखानीबाट ढुवानी गर्न बनाइएको रोपवे बन्द भएको एक दशकपछि लिलाम बिक्री गर्ने निर्णय भए पनि खरिदकर्ताले उदासीनता देखाइरहेका छन् । लिलामका लागि उद्योगले पटकैपिच्छे मूल्य घटाउँदै पटकपटक सूचना प्रकाशित गरेपनि खरिदकर्ताले
खरिदमा चासो देखाएका छैनन् । लिलामीका लागि उद्योगले पटकपटक सूचना प्रकाशित गरे पनि बन्द अवस्थाका उपकरण खरिद गर्न बोलपत्र परेको छैन। नियमित सञ्चालनमा आएको रोपवेबाट चुनढुंगा ढुवानीको लागत खर्च बढी पर्ने भन्दै एक दशकअघि उद्योगले सञ्चालन बन्द गरेपछि उद्योगले रोपवे र उपकरणहरु बिक्री गर्न चाहेको हो । उद्योगले भैंसेदेखि उद्योगसम्म प्रयोगमा नरहेको ११ किलोमिटर रोपवेको सिस्टम तथा भण्डारणमा रहेको जगेडा पाटपूर्जा बिक्रीका लागि प्रक्रिया सुरु गरेको थियो ।
उद्योगले इच्छुक व्यवसायीलाई १५ दिनभित्र बोलपत्र पेश गर्न आह्वान गरेपनि पटकपटकको सूचनापछि पनि बिक्रीलायक कम्पनी वा फर्मले बोलपत्र खरिद नगर्दा उद्योग हैरानीमा छ । पुनर्मूल्याङ्कनका लागि समिति बनाएर पटकपटक मूल्य घटाउँदै टेन्डर आह्वान गरे
पनि कोही खरिद गर्न राजी भएका छैनन् । ‘रोपवे बिक्रीका लागि धेरैपटक सूचना जारी भइसकेको छ, तै पनि कोही लिलाम खरिद गर्न नआएपछि फेरि पनि सूचना प्रकाशनको तयारी भइरहेको छ,’ हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेले भने–‘पुनमूल्याङ्कन समितिको प्रतिवेदनपछि यही महिनाभित्र फेरि अर्को सूचना प्रकाशनको तयारी गरेका छौं ।’
मर्मतसम्भार गरेर सञ्चालन गर्न करोडौं खर्च लाग्ने भएपछि जीर्ण बन्दै गएको रोपवे लिलाम गर्ने तयारीमा उद्योग लागेको हो । प्रयोगविहीन रोपवे करोडौं खर्च गरेर मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि उद्योगले हटाउने तयारी गरेको हो । पटकपटक बोलपत्र आह्वान गर्दा पनि
खरिदकर्ता नआएपछि उद्योगले लिलामी दर पनि घटाएको छ । पहिलोपटक जारी गरेको सूचनामा रोपवे र जगेडा पाटपूर्जाका लागि मूल्यअभिवृद्धि कर बाहेक न्यूनतम मूल्य ६ करोड १६ लाख ५३ हजार ३ सय ५२ रुपैयाँ कायम गरेको थियो । खरिदकर्ताको अनिच्छापछि उद्योगले पछिल्लोपटक करिब पौने तीन करोडमा झारेको थियो । अझ पुनर्मूल्यांकनपछि दर घटाउने तयारीमा उद्योग रहेको बताइएको छ ।
उद्योगले आफ्नो उत्पादन सुरुवातसँगै २०४३ सालबाट भैंसेखानीबाट लामसुरेस्थित कारखानासम्म चुनढुङगा ढुवानी गर्न सञ्चालनमा ल्याइएको रोपवे २०६१ सालदेखि बन्द छ । २०६० सालमा आएको बाढीपहिरोले भैंसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोपवे बन्द भएको थियो ।  करिब ८ करोडको लगानीमा निर्माण भएको रोपवेको आर्थिक भार थेग्न नसकेपछि रोपवे बन्द गर्नुपरेको उद्योगले जनाएको छ। ८ करोडमा स्थापना गरेको रोप वे मर्मतमै ३ करोड खर्च हुने भएपछि बिक्री गर्ने विकल्प उद्योगले सोचेको हो ।
२०४३ सालबाट २ दशकसम्म भैंसेखानीबाट चुनढुङ्गा ढुवानी गरेको रोपवे बाढीले भत्काएपछि सञ्चालन हुन सकेको थिएन । टावर, स्टेशन, सवस्टेशन भत्कने, क्यारियरहरु पनि झर्ने गरेपछि उद्योगले ९ वर्षपछि बिक्रीको लागि प्रक्रिया सुरु गरे पनि हालसम्म बिक्री गर्न सकेको छैन । प्रतिघन्टा ३ सय मेट्रिक टन चुनढुङ्गा ढुवानी गर्ने क्षमता रहेको रोपवेको सुरुमा एक सय ६५ वटा वकेट (क्यारियर)
रहेकोमा बिग्रिएर झर्दै गएपछि एक सय ४० जति बाँकी रहेको उद्योगले जनाएको छ ।



कमेन्टसहरु




2639746 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top