Sajhakura Dainik - विकट गाउँमा सामुहिक माछापालनबाट मनग्य आम्दानी
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

विकट गाउँमा सामुहिक माछापालनबाट मनग्य आम्दानी


समाचार 3 पटक पढिएको


विकट गाउँमा सामुहिक माछापालनबाट मनग्य आम्दानी


मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको काँकडा–१ दुङथलीका किसानले सामुहिक रुपमा माछापालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । दुङथलीका २५ जना चेपाङ र तामाङ मिलेर सामुहिक रुपमा माछा– पालन गरिररहेका हुन् ।

हेटौंडा, २२ साउन÷ मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको काँकडा–१ दुङथलीका किसानले सामुहिक रुपमा माछापालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । दुङथलीका २५ जना चेपाङ र तामाङ मिलेर सामुहिक रुपमा माछा– पालन गरिररहेका हुन् ।

चार वर्ष अघि दुई वटा पोखरीबाट सुरु गरिएको माछा– पालन हाल १९ वटा पोखरीमा फैलिएको छ । सडक खन्न गाउँमा डोजर ल्याएको बेला स्थानीय गौरब थिङले एउटा पोखरी खनेर माछा पालेका थिए । ‘सुरुमै एक क्विन्टल माछा उत्पादन भयो, माछा पनि खोलाको जस्तै स्वादिलो थियो’, थिङले भने, ‘त्यसपछि हामी सबैले सल्लाह गरेर सामुहिक रुपमा माछापालन गरेका हौं ।’

उनीहरुले पोखरीमा लोथर खोलाको पानी जम्मा गरेर रहु, नैनी, ग्राँस लगायत जातका माछा पालेका छन् । यहाँ उत्पादित माछा प्रति केजी तीनसय रुपैयाँमा गाउँमै बिक्री हुने गरेको माछापालक कुमार चेपाङले बताए । उनको पाँच कट्ठा खेत २०५९ सालको बाढीले बगाएपछि प्रयोगबिहीन 

बगरमा परिणत भएको थियो । ‘मैले पाँचै कट्ठा बगरमा पोखरी खनेर माछा पालन गरेको छु’,चेपाङले भने, ‘वर्षको डेढ लाख रुपैयाँ जतिको माछा बेच्छु, परिवार चलाउन निक्कै सजिलो भएको छ ।’ उनी वर्षको दुई पटक माछा बेच्छन् । 

पहिले पहिले मिलन तामाङ दिनभर खोला धाउँदा पनि माछा नपाएर निराश भएर घर फर्कन्थे । ‘पोखरीमा माछा पाल्न थालेपछि मन लागेको समयमा माछा खान पाईएको छ’,उनले भने, ‘खाएर बचेको माछा बेचेर घर खर्च पनि चलेको छ ।’ 

उनीहरुले जिल्ला कृषि विकास कार्यालयमा दुङ्थली माछा पालन समुह दर्ता गराएका छन् । कार्यालयले माछा पालनमा ६० हजार रुपैयाँ सहयोग गरेको समूहका अध्यक्ष अक्कल लामाले बताए । ‘गाउँमै माछाको माग पूरा गर्न सकिएको छैन’,उनले भने, ‘माछाको उत्पादन बढाउन र रोग लागेमा उपचारको लागि भने प्राविधिको अभाव रहेको छ ।’ उनी आफैले पनि पाँचवटा पोखरीमा माछा पालिरहेका छन् । एउटा पोखरीबाट चार क्विन्टलसम्म माछा उत्पादन हुने उनले बताए । खेर गइरहेको बगरमा माछा उत्पादन हुन थालेपछि धेरैजना यसतर्फ आकर्षित भएका छन् ।  





कमेन्टसहरु




2584304 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top