Sajhakura Dainik - तीज गीतमा विकृति बढ्दो
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

तीज गीतमा विकृति बढ्दो


हाम्रो कुरा 7 पटक पढिएको




महिलाहरुले मीठो मसिनो खाने, दिल खोलेर गाउने र उन्मुक्त नाच्ने सप्तरंगी पर्व हो, तीज । तीज गीतको मौलिक भाका छ, मर्म छ । यसको गाउने समयसीमा पनि छ । नाग पञ्चमीदेखि ऋषि पञ्चमीसम्म तीज गीत गाउने प्रचलन छ ।

 खासगरी महिलामाथि हुने उत्पीडन, ज्यादतीलाई गीतमा उनेर गाइन्छ, तीजमा । महिलाहरुले वर्षभर भोगेका दुःख, पीडा, व्यथा, अवहेलना, अप्ठ्यारालाई गीतको माध्यमबाट उजागर गर्ने मेसो हो, तीज । तर, पछिल्ला समय नेपाली समाज आधुनिक बन्दै गएको कारण यसको प्रभाव तीज गीतमा पनि परिरहेको छ । समाजको आधुनिकीकरणसँगै हामीले मान्ने चार्डपर्वका शैलीहरु परिवर्तन भएका छन् । विगतमा हामीले जसरी हाम्रा चार्डपर्व मनाउने गथ्र्यौं, त्यो विधिमा अहिले निकै नै परिवर्तन आएको छ । यस्तैको एउटा उदाहरण बनेको छ, तीज ।

तीजको तिथि नजिकिएसँगै कोभन्दा को कमको शैलीमा ‘तीज गीत’ रेकर्ड गर्ने, भिडियो बनाउने र युट्युबमा अपलोड गर्ने होड चलेको छ । ‘तीज गीत’ भनेर अपलोड भएका धेरैजसो भिडियो हल्काफुल्का मनोरञ्जनले भरिएका छन् । नानाथरी शब्द ओकलेर होस् वा अनेकन नौटंकी देखाएर, जबरजस्ती हँसाउने प्रयास गरिएको छ। हाँस्यकलाकारको उट्पट्याङले ‘तीज गीत’ रत्यौलीजस्तो हुन पुगेको छ । गीतसँग तालमेल नै नमिल्नेगरी संवाद र दृश्यहरु राखिएको छ । विचित्रको गेटअप, अनौठो हाउभाउ र बेढंगको प्रस्तुतिले ‘तीज गीत’माथि ठट्टा बढ्दै गएको छ । पछिल्लो समय तीजको गीतमा आधुनिकता भित्रिएसँगै यसको मौलिकता हराउँदै गएको छ । यसले तीज पर्वलाई नै विकृत पारिरहेको छ । विगतमा गाउने तीज गीत र अहिले गाइने तीज गीतमा निकै नै परिवर्तन आएको छ । अहिले अधिकांश तीज गीत दुईअर्थी र अश्लील शब्दको प्रयोग गरी दोहोरीको शैलीमा गाइन थालिएको छ । महिलाका वेदना उजागार हुनुपर्ने तीज गीतमा अहिले छोटाछोटा कपडा लगाएर कामुकता प्रर्दशन गर्नेमात्र काम भएको छ । के यस्ता गीतले हाम्रो संस्कृति संरक्षणमा योगदान पुगेको छ ? सोच्नुपर्ने बेला आएको छ । हिजो महिलाहरुमा जुन वेदना थियो, त्यो आज फेरिएको छ । त्यसैले हिजो वेदना पोखिन्थ्यो, त्यसैलाई आज दोहो¥याउनुपर्छ भन्ने छैन । हिजोका महिलाले बाँचेको परिवेश र आजको महिलाले बाँचेको 

परिवेश बद्लिएको छ । तर, त्यसो भन्दैमा अश्लील शब्द र अभिनय गरेर तीज गीतलाई विकृत बनाउनु उपयुक्त हुँदैन ।

तीज गीतमा आएको विकृतिको बाढीलाई रोक्नको लागि विशेषगरी गीत लेख्ने र गाउने नै बढी चनाखो बन्नुपर्ने देखिन्छ । खासमा कलाकारले नै आफ्नो मौलिक संस्कृति बिर्सिएर गीत लेख्ने र गाउने गरेका कारण तीज गीतमा विकृतिको बाढी नै आइरहेको मान्न सकिन्छ । आधुनिक शैलीलाई अनुसरण गर्ने नाममा हाम्रा मौलिक परम्परातका विशेषताहरु हराउँदै गएको छ । यसरी हाम्रा सांस्कृतिक धरोहरमा परिवर्तन हुँदै जाने हो भने हाम्रो पहिचान पनि गुम्ने खतरा हुन्छ । तीज गीतमा आएको विकृति रोक्नका लागि सरोकारवाला निकाय गम्भीर बन्नैपर्छ । तीज गीतको विकृतिलाई नरोक्ने हो भने हाम्रो मौलिकता हराएर जाने निश्चित छ ।





कमेन्टसहरु




2584329 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top