Sajhakura Dainik - सरसफाई र नागरिक दायित्व
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

सरसफाई र नागरिक दायित्व


हाम्रो कुरा 22 पटक पढिएको




्शहरी क्षेत्रमा जनसंख्याको चापसँगै फोहोर व्यवस्थापनले जटिल समस्या सिर्जना गर्दै लगेको छ ।

 विकसित मुलुकका ठूला र औद्योगिक शहरहरुमा जस्तो जल र वायु प्रदूषणको समस्या नभए पनि  हाम्रा शहरहरुमा स्वास्थ्य र सरसफाइसम्बन्धी चेतनाको कमीका कारण फोहोरमैला व्यवस्थापनमा विभिन्न जटिलताहरु देखिने गरेका छन् । नेपालमा राज्यस्तरबाट फोहोरमैला बिसर्जन गर्ने उपयुक्त स्थानको व्यवस्था हुन नसक्दा विभिन्न ठूला शहरमा पटक–पटक समस्या सिर्जना हुने गरेको छ । हाम्रा नीति निर्माताहरुले अहिलेसम्म स्वास्थ्य र सरसफाइको क्षेत्रमा प्रभावकारी र ठोस नीति बनाउन नसक्दा तदर्थवाद हावी हुँदै गएको छ । त्यसको प्रभाव फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी बोकेका स्थानीय तहहरुमा समेत छ ।

काठमाडौं, पोखरा, वीरगञ्ज, विराटनगर, भरतपुरजस्ता महानगरमा समेत फोहोर व्यवस्थापनको प्रभावकारी व्यवस्था हुन सकेको छैन । अधिकांश शहरी क्षेत्रबाट निस्कने फोहोरमैला भीर, पाखा वा नदी किनारमा डम्पिङ गर्ने गरिएको छ । फोहोरमैलाको वर्गीकरण र व्यवस्थापनमा प्रभावकारी कामहरु हुन सकेको छैन । जथाभावी फोहोर फाल्ने कार्यले वातावरण तथा पारिस्थितिक पद्दतिमै नकारात्मक असर परिरहेको छ । पछिल्लो समयमा सरसफाइप्रति थोरै भए पनि नागरिक सचेतना बढ्न थालेको छ । फोहोर व्यवस्थापनको काम सरकार वा नगरपालिकाको मात्र हो भन्ने पुरानो सोचमा विस्तारै परिवर्तन आउन थालेको छ । नगर क्षेत्रमा रहेका टोल विकास संस्थाहरु, उद्योग वाणिज्य संघ, अन्य सामाजिक संघसंस्था तथा समूहहरुले सरसफाइमा चासो र सक्रियता देखाउनुलाई सकारात्मक मान्नुपर्छ । यसले नागरिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गर्न सकिन्छ ।

हेटौंडा उपमहानगरपालिका तीब्ररुपमा शहरीकरणको प्रक्रियामा छ । पुरानो नगरबाट साविकका ५ वटा गाविस गाभिएर बनेको हेटौंडा उपमहानगरपालिकामा पनि फोहोर व्यवस्थापनका चुनौतीहरु छन् । हालैमात्र देशकै तेस्रो सफा र स्वच्छ शहर घोषणा भई पुरस्कृत भएको भए पनि फोहोर व्यवस्थापन प्रभावकारी छैन । मुख्य बजार क्षेत्र र केही वडाहरुमा नियमित फोहोर संकलन भइरहेको 

भए पनि पर्याप्त छैन । पूरै नगर क्षेत्रको सरसफाइ व्यवस्थापनका लागि अहिलदेखि नै दीर्घकालीन योजना बनाएर अगाडि बढ्न ढिला गर्नु हुँदैन । 

हेटौंडा उपमहानगरपालिकाले धेरै वर्षदेखि फोहोरलाई आम्दानीको स्रोत बनाउने नीति अवलम्बन गरेको भए पनि प्रभावकारी योजना तयार पार्न सकेको छैन । नगरबासीले आफ्नो 

घरभित्रको फोहोर घर अगाडिको सडकमा वा कुनै खुला ठाउँमा फाल्ने प्रवृत्ति अझै कायमै छ । यस्ता क्रियाकलापको अन्त्यका लागि नागरिकहरुले आफ्नौ दायित्व बुझ्नुपर्छ र आवश्यक भएमा यस्ता कार्यलाई दण्डनीय बनाउनुपर्छ । सरसफाइसँगै स्वच्छता कायम रहने भएकाले जथाभावी फोहोर नगर्न नगरबासी स्वयम् सचेत हुनु पर्दछ । फोहोरमैलाको समस्याप्रति सरोकारवाला निकायहरु गम्भीर बनेर व्यवस्थापनमा जुट्नु आवश्यक छ ।





कमेन्टसहरु




2584306 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top