Sajhakura Dainik - १३ वर्षमा पनि पूरा भएन सभागृह निर्माण
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

१३ वर्षमा पनि पूरा भएन सभागृह निर्माण


समाचार 127 पटक पढिएको


१३ वर्षमा पनि पूरा भएन सभागृह निर्माण


हेटौंडा, २५ भदौ÷ जिल्लाकै सुविधा सम्पन्न सभाहलका रुपमा हेटौंडा–४ स्थित हुप्रचौरमा निर्माण थालिएको सभागृह १३ वर्ष पुग्दासमेत निर्माण पूरा हुन सकेको छैन ।


राज्यको केन्द्रीय योजनामा नपर्नु र हेटौंडा उपमहानगरपालिकाले पनि प्रयाप्त बजेट विनियोजन नगर्दा सभागृहले पूर्णता नपाएको हो । हेटौंडा उपमहानगरपालिका र तत्कालीन जिल्ला विकास समिति मकवानपुरले केन्द्रीय योजनामा राखेर बजेट विनियोजनका लागि पटक–पटक सिफारिस गर्दासमेत सभागृहले बजेट प्राप्त नगर्दा निर्माण कार्य पूरा हुन नसकेको हो ।

केही हप्ताअघि भएको हेटौंडाको पहिलो नगरसभामार्फत पारित वार्षिक नीति तथा कार्यक्रममा सभागृह निर्माणलाई पूर्णता दिने उल्लेख गरेपछि भने अलपत्र अवस्थामा रहेको बासुदेव सभागृह पूर्ण हुनेमा केही आशा पलाएको छ । हेटौंडा उपमहानगरपालिकाको वार्षिक बजेट नीति तथा कार्यक्रममा बासुदेव सभागृहको अधुरो निर्माण कार्य सम्पन्न गर्नको लागि नगरपालिकाको सहलगानमिा सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार निजी क्षेत्रसँग साझेदारी गर्ने वा अन्य वैकल्पिक स्रोत परिचालन गर्ने उल्लेख गरिएको छ । सभागृहको बाँकी काम सम्पन्न गर्नको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा एक करोड रुपियाँको बजेटअनुमानसमेत गरेको छ । तर, त्यति रकमले सभागृह निर्माणको काम सम्पन्न हुन नसक्ने सरोकार–वालाहरुको अनुमान छ ।

लामो समयदेखि हेटौंडाबासीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले आफ्नो कार्यक्रमहरु विभिन्न होटल तथा 

रिसोर्टहरुमा महंगो शुल्क तिरेर गरिरहनु परेको भन्दै जितसक्दो छिट्टो निर्माण सम्पन्न गर्न जरुरी रहेको औंल्याएका छन् । हेटौंडा उपमहानगरपालिकाले दुई वर्षअगाडि पुरानो डिजाइनलाई परिवर्तन गरेर नयाँ डिजाइनमा सभाहल निर्माणका लागि दुई करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । नगरले आन्तरिक वाइरिड्ड तथा साउण्ड व्यवस्थापनका लागि टेण्डर आव्हान गरेपनि कुनै पनि फर्मबाट टेण्डर परेन । जसले गर्दा नगरले कार्य अगाडि बढाउन सकेन । करिब साढे चार करोड रुपियाँ सभागृहको भौतिक संरचना तयार हुने पटक पटक हेटौंडा उपमहानगर– पालिकाले बताउँदै आएको छ ।

शाहीकालमा निर्माण थालिएको हललाई तत्कालीन समय ज्ञानेन्द्र सभागृह नामाकरण गरिएको थियो । लोकतन्त्र प्राप्तिपछि जनआन्दोलन–२ मा मकवानपुरे सहिद वासुदेव घिमिरेको स्मृतिमा सिटी हललाई वासुदेव सभागृह नामाकरण गरिएको थियो । त्यसपछि दलहरुले पनि विशेष चासो राखेको सभाहल अझै निर्माण हुन नसकेको हो । दलहरुले चासो देखाएपछि सभागृह निर्माणमा बजेट जुटाउन दबाब पुग्ने आशा गरिए पनि अन्ततः सभागृह स्थानीय दल, नागरिक समाज तथा हेटौंडा नगर–पालिकासमेतको बेवास्ताको शिकार भएको थियो । विभिन्न जिल्लास्तरको कार्यक्रम गर्न नगरपालिकाकै 

निगरानीमा भाडामा हल उपलब्ध गराउने उद्देश्यसाथ हल निर्माण थालनी गरिएको थियो । हलको तल्लो र माथिल्लो तहमा गरी छ सयभन्दा बढी दर्शक अटाउन सक्ने क्षमता छ ।

नगरपालिका, जिविससहित सरकारी कार्यालय, गैसस र नागरिक समाजले विभिन्न कार्यक्रम गर्न निजी होटलहरुको हलमा लाखौं भाडा तिरिरहेको भएपनि सभाहल निर्माण गरेर सञ्चालन गर्नेतर्फ चासो नदेखाएको जनगुनासो छ । हलमा जडान गरिएका केही सिसाहरु पनि फुटाइएका छन् ।

हलमा विद्युतीय सुविधा, कुर्सीहरु, शौचालय, टिकट काउन्टर, साउण्ड सिस्टम केहीको व्यवस्था गरिएको छैन । खेल मैदाननजिक भएकाले खेल हेर्ने बहानामा पुगेका युवायुवतीहरुबाट अनैतिक कार्य भएको तथा अन्य सुरक्षा आवश्यक भएको भन्दै स्थानीय वीरेन्द्रनगर टोल विकास संस्थालाई नगरपालिकाले निगरानीको जिम्मेबारी दिएको छ । एक बिगाह जग्गामा आर्थिक वर्ष २०६१÷०६२ बाट सभागृह निर्माण थालिएको थियो ।





कमेन्टसहरु




2584362 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top