Sajhakura Dainik - दुर्घटना न्यूनीकरण आवश्यक
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

दुर्घटना न्यूनीकरण आवश्यक


हाम्रो कुरा 35 पटक पढिएको




अघिपछिको तुलनामा चाडबाडको बेला विभिन्न अपराध एवम् सवारी दुर्घटनाका घटनामा वृद्धि हुने गरेको विगतका तथ्याङ्कले पुष्टि गर्दछ ।

 विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि चाडबाडको समयमा हुने दुर्घटना र आपराधिक घटना कम गर्न प्रहरीले विशेष सुरक्षा योजना र रणनीति बनाएको सार्वजनिक गरेको छ । जिल्लामा अहिलेसम्म ठूलो अप्रिय घटना नभए पनि सचेत हुनु आवश्यक छ । दशैं–तिहार जस्तो नेपालीहरुको विशेष चाडपर्वलाई दुर्घटनारहित बनाउन प्रहरीले विगतका वर्षहरुमा पनि विशेष अभियान चलाएको थियो । यति हुँदा पनि दशैं–तिहारको आसपासमा सडक दुर्घटनाका कारण वर्षेनि ठूलो संख्यामा यात्रुको मृत्यु हुने घटनामा कमी आएको पाइँदैन । सवारी चाप अत्यधिक रहेको पूर्व–पश्चिम राजमार्गमा बनेका साना–ठूला खाल्डाहरुले हुनसक्ने सम्भावित सडक दुर्घटनाप्रति सम्बन्धित निकाय चनाखो बन्नु आवश्यक छ ।

चाडबाडलाई सुखद् र रमाइलो बनाउन सडक दुर्घटना नियन्त्रण गर्न विशेष पहल आवश्यक देखिन्छ । नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढीको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ भने प्राकृतिक प्रकोपबाट भन्दा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यधिक भएको भन्दै विश्व स्वास्थ्य संठनले समेत नेपाल सरकारलाई पटक–पटक सचेत गराएको देखिन्छ । यसका बाबजुद दुर्घटनाको दर भने महामारी बनेर दिन–प्रतिदिन बढ्दै जानुको कारक तत्व खोजी गरी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी र दिगो प्रयास हुन सकेको छैन । राजमार्गमा बनेका खाल्डाखुल्डी पनि सडक दुर्घटनाको एउटा मुख्य कारण हो । सम्भावित चाडपर्व र सवारी चापलाई मध्यनजर गर्दै सडकका खाल्डाका कारण दुर्घटना बढ्नसक्ने समाचार सञ्चार माध्यमबाट सार्वजनिक भएपछि अहिले पूर्व पश्चिम राजमार्गको खाल्डा टाल्ने काम भइरहेको छ । यसले सम्भावित दुर्घटना न्यूनीकरणमा केही हदसम्म भए पनि सहयोग गर्ने विश्वास गर्न सकिन्छ । चालकको अपरिपक्व सिकाई, मादकपदार्थ सेवन, तीव्र गति वा अनावश्यक प्रतिस्पर्धा गरी सवारी हाँक्ने प्रवृत्ति, सवारीसाधनको जीर्ण अवस्था, क्षमताभन्दा बढी यात्रु चढाउने प्रवृत्ति, अस्तव्यस्त एवम् गुणस्तरहीन सडक, आवश्यक स्थानमा ट्राफिक सिग्नलको अभाव तथा ट्राफिक नियम पालनामा लापरबाही, सडक व्यापार र छाडा पशुजस्ता कुरा सडक दुर्घटनाका मुख्य कारण रहँदै आएका छन् । चाडबाडको बेलामा बढ्ने यात्रु चापका कारण सवारी साधन दिनरात चलाउँदा र तीव्र गतिमा चलाउँदा दुर्घटनाको सम्भावना अझ बढ्ने गरेको पाइन्छ ।

चालकको लापरबाही र जनचेतनाको कमी दुर्घटनाको अहम् कारण मानिए पनि लापरबाही गर्नेलाई रोक्ने निकायको भरपर्दो उपस्थिति नहुनुले दुर्घटना बढाएको तथ्य नकार्न सकिँदैन । भनसुन र पैसाको बलमा लाइसेन्स दिने, लामो रुटका बसमा एउटै चालकले दिनरात सवारी चलाउने, सिण्डिकेटको बलमा थोत्रा बस कुदाउने, क्षमताभन्दा बढी र छतमा यात्रु चढाउने, तीब्र गतिमा सवारी कुदाउने बेथितिलाई रोक्न सकेमा दुर्घटना न्यूनीकरणमा उल्लेख्य सफलता मिल्ने निश्चित छ ।





कमेन्टसहरु




2639727 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top