Sajhakura Dainik - गोरु विस्थापित गर्दै हाते ट्याक्टर
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

गोरु विस्थापित गर्दै हाते ट्याक्टर


समाचार 127 पटक पढिएको


गोरु विस्थापित गर्दै हाते ट्याक्टर


हेटौंडा, ७ असोज÷ उत्पादनको हिसाबले कृषिको उर्वरभूमि मकवानपुरको उत्तरी क्षेत्रमा खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोग बढ्दो छ ।

 २०७२ सालको विनाशाकारी महाभूकम्पले गोरु परिएसँगै गोठ भत्किएपछि मकवानपुरको उत्तरी क्षेत्रका अधिकांश कृषकहरुले खेतबारी जोत्नका लागि ट्याक्टरको प्रयोग गर्ने गरेका छन् । गोरुको बिकल्पमा अहिले गाउँ÷गाउँमा हाते ट्याक्टर छ्यापछ्याप्ती छ । गोठमा भैंसी र गाई मात्र छन् । जोत्नका लािग गोरु छैन । गोरुले गर्ने काम अहिले हाते ट्याक्टरले गर्न थालेका स्थानीयले बताएका छन् ।‘भूकम्पले गोठ पनि भत्कियो, गोरु पनि म¥यो’, थाहा नगरपालिका पालुङका कृषक रामबहादुर कार्कीले भने,‘गाउँमा अब गोरुले जोत्ने चलन क्रमशः हराउँदै गएको छ । खेतबारी सबै ट्याक्टरले जोत्न थालिसके । गोरुको ठाउँ ट्याक्टर लियो । हल गोरु पाल्न पनि गाह्रो र हली पनि नपाउने भएकाले पनि जिल्लाको उत्तरी क्षेत्रका बासिन्दाहरु कृषिमा क्रमशः यान्त्रिकरणतर्फ उन्मुख हँुदै गएका छन् ।’ कृषि विकास कार्यालय मकवानपुरले भूकम्पपछि उत्तरी क्षेत्रमा अनुदानका रुपमा दुईसय भन्दाबढी हाते ट्याक्टर वितरण गरिसकेको छ ।

‘उत्तरी क्षेत्रमा अहिले गोरुले जोत्ने चलन हराउँदै गएको छ’, कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले भने,‘कृषिलाई अब आधुनिकीकरणसँग यान्त्रिकीकरण गर्न जरुरी छ ।’ मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने साविकको सिस्नेरी गाविसका रमेशसिंह ठकुरीले काठमाडौं छैमलेका कृषकलाई दुई हल गोरु बिक्री गरेर कृषि विकास कार्यालयसँग अनुदानको हाते ट्याक्टर किनेका छन् । आफ्नो १८ रोपनी खेतबारी ट्याक्टरले खनजोत गर्नुको साथै भाडामा गाउँलेको पनि खेतवारी जोत्ने गरेका छन् ।

एक घण्टा ट्याक्टरले जोतेको उनले छसय रुपियाँ लिने गरेका छन् । एक घण्टामा झण्डै पाँच रोपनी जग्गा जोत्ने गर्छ । गोरुको जस्तो गोठमा बाधेर पाल्न पनि नपर्ने र ट्याक्टरले एकै दिनमा धेरै पनि जोत्ने भएकाले जिल्लाका उत्तरी क्षेत्रका कृषकहरुको रोजाइमा पनि ट्याक्टर रहेको छ ।

‘२०५० सालको बाढीले यस क्षेत्रको पानीघट्ट र मिल विस्थापित गरेर विद्युत्बाट चल्ने मिल स्थापना भयो’, थाहा नपास्थित स्थानीय उच्च माविका प्राचार्य सानोभाइ कार्कीले भने,‘२०७२ सालको भुकम्पले गोठ भत्केर र  गोरु मरेर विस्थापित भए ।’ गाउँघरमा अहिले हल गोरु पाल्न सक्ने जनशक्तिको अभाव छ । हली पनि पाइँदैन ।  ग्रामीण भेगका कृषकहरु क्रमशः व्यावसायिक भएकाले यान्त्रिकरणतर्फ उन्मुख भएका छन् । सहजढंगले छिटो छरितो खेती गर्ने  प्रविधितर्फ कृषकहरु आकर्षित हँुदै गएका छन् । ‘निर्वाहमुखी खेती प्रणालीमा मात्र गोरु, राँगाले जोतेर सम्भव हुन्छ, कृषि विकास कार्यालयका प्रमुख गदालले भने,‘व्यावसायिक खेती प्रणालीमा यो सम्भव नै हुदैन ।’ कृषि विकास कार्यालय मकवानपुरले कृषकहरुलाई यान्त्रिकीकरण गर्नेतर्फ सीप र तालिमहरु दिदै आएको छ भने उपकरणहरु पनि अनुदानमा उपलब्ध गराउदै आएको छ ।





कमेन्टसहरु




2639732 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top