Sajhakura Dainik - मुलुक मानव अधिकारमा कमजोर
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

मुलुक मानव अधिकारमा कमजोर


हाम्रो कुरा 127 पटक पढिएको




शनिबार, डिसेम्बर १० मा नेपाललगायत विश्वभर मानव अधिकार दिवस मनाइएको छ । यसअघि १६ दिने महिला हिंसाविरुद्धको अभियान पनि विभिन्न कार्यक्रम गरी मनाइयो । मानिसको जीवनमा यी दिवस र अभियान अत्यन्त महत्वपूर्ण छन् ।
 देशमा मानव अधिकारको अवस्था जस्तो भए पनि दिवस मनाउने क्रममा भने मुलुकमा मानव अधिकारको प्रत्याभूति गराउन शासकहरुको ध्यानाकर्षण गराइन्छ । नेपाल मानवअधिकारको सूचकांकमा निकै तल रहेको कारण राज्यपक्ष यो विषयमा अझ बढी संवेदनशील र गम्भीर बन्नुपर्दछ । अन्यथा, वर्षमा एक दिन श्राद्ध गर्ने शैलीमा मनाइने यस्ता दिवस कहिल्यै पनि विगतमा परिणाममुखी हुन नसकेको प्रशस्त अनुभव हामीसँग छ ।
सन् १९४८ डिसेम्बर १० दिनका दिन संयुक्त राष्ट्रसंघ महासभाबाट मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र तयार हुन म्याग्नाकार्टादेखि विभिन्न कानूनी दस्तावेजको पृष्ठभूमि रहे पनि दुईवटा विश्वयुद्धले दिएको पीडाले यसलाई साकार रुप दिएको मान्न सकिन्छ । खासगरी दोस्रो विश्वयुद्धमा विश्वको ठूलो जनधनको क्षति भएपछि मानव अधिकारको आवश्यकता बढी खट्केको हो । मानवअधिकार उल्लंघनको एकमात्र कारण मानिस मानिसबीच हुने विभेद हो । हरेक मानिसको जीवनको सुरुवात र अन्त्य समान तरिकाले हुन्छ भने बाँच्दासम्म किन विभेदपूर्ण तरिकाले बाँच्नुपर्ने ? वर्ग, वर्ण, जाति, क्षेत्र, लिंग, भाषा, धर्म, संस्कृति आदिका आधारमा हरेक मानिसको सामाजिक हैसियत र जीवनस्तर फरक हुनु नै मानव अधिकार हनन्का घटनाका कारण हुन् । नेपालको सन्दर्भमा मानव अधिकारको संरक्षणलाई राजनीतिक र सामाजिक आन्दोलनको विकाससँगै जोडेर हेर्न सकिन्छ । नागरिक अधिकार, राजनीतिक अधिकार, सामाजिक अधिकार, आर्थिक अधिकार र सांस्कृतिक अधिकार गरी पाँच अधिकार नागरिकले प्राप्त गर्न सकेको खण्डमा आधारभूत मानव अधिकार पाएको मान्न सकिन्छ । तर, नेपालमा धेरै हदसम्म राजनीतिक अधिकार र केही हदसम्म सामाजिक अधिकार पाएको भए पनि अन्य अधिकारको हिसाबले नेपाली निकै पछि छन् ।
तीसवटा धारामा लेखिएको मानव अधिकारको विश्वब्यापी घोषणापत्र वा देशका संविधान, कानून सबैको उद्देश्य भनेको मानिसले मानिस भएर बाँच्न पाउनुपर्छ भन्ने नै हो र त्यही नै मानव अधिकार पनि हो । तर, मुलुकमा सधैँ सत्ता–समीकरणको घृणित खेल, संसद्मा अवरोध, विभिन्न बहानामा हुने बन्द, हड्तालजस्ता विषयले मानव अधिकार उल्लंघनका घटनामा वृद्धि गरिरहेको छ । अर्कोतर्फ डेढ दशकदेखि स्थानीय निकायको निर्वाचनमा मतदान गर्न नपाउँदा नेपाली नागरिकको धेरै अधिकार खोसिएको छ । मानव अधिकारका सबै पक्षलाई समेट्ने गरी संविधानको धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हक राखिएको भए पनि ती हकहरु अधिकांश नेपालीले उपभोग गर्न नपाएको तीतो यथार्थलाई मनन गर्नु आवश्यक छ ।



कमेन्टसहरु




2639763 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top