Sajhakura Dainik - जिल्ला सभामा प्रदेश राजधानी र २५ मिटरको चर्चा
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

जिल्ला सभामा प्रदेश राजधानी र २५ मिटरको चर्चा


समाचार 10 पटक पढिएको


जिल्ला सभामा प्रदेश  राजधानी र २५ मिटरको चर्चा


हेटौंडा, २६ साउन÷ जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्लासभामा प्रदेश स्थायी राजधानी र २५ मिटर सडक विस्तारको विषयले चर्चा पाएको छ ।

 जिल्ला सभाको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने वक्ताहरुले प्रदेश–३ को स्थायी राजधानी हेटौंडा नै कायम गराउन सबैले पहल गर्नुपर्ने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रदेश–३ का मुख्यमन्त्री डोरमिण पौडेलले २५ मिटर सडक विस्तार नहुने दावी गरे । अहिलेको अवस्थाको हेटौंडा बजार क्षेत्र भत्काउन नहुने तर्क गर्दै मुख्यमन्त्री पौडेलले कुनै पनि शहरको बीचबाट राजमार्ग बिस्तार गर्नु गलत हुने धारणा राखे । कुनै पनि हालतमा २५ मिटर सडक विस्तार हुन नदिने पक्षमा आफू रहेको पौडेलले सुनाए ।  हेटौंडा बजार क्षेत्रको सडक १६–१६ मिटर मात्र विस्तार गर्नु उपयुक्त रहेको उनले बताए । बजार क्षेत्रमा आफ्नो पनि घर रहेको र १६ मिटर बिस्तार गर्दा सबै सकिने भन्दै १६ मिटर मात्रै विस्तार गर्ने हो भने आफ्नो घर भत्काएर काम सुरु गर्न तयार रहेको पनि पौडेलले बताए । प्रदेश स्थायी राजधानीको विषयमा बोल्दै पौडेलले दुई तिहाई मतले राजधानी तोकिने बताए । प्रदेश सभामा दुई तिहाइ बहुमत जता आउँछ उतै राजधानी हुने बताए । काठमाडौंमा सम्पादकहरुको अन्तरक्रियामा आफूले राजधानी नुवाकोट हुने अभिव्यक्तिले हेटौंडाबासीले नराम्रो मानेको भन्दै पौडेलले आफूले काठमाडौं उपत्यकामा हुदैंन नुवाकोट, रामेछाप सिन्धुली जहाँ लान नि मिल्छ भनेको बताए ।कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले प्रदेशको स्थायी राजधानी हेटौंडाबाट अन्यत्र सारिए आन्दोलनको आँधी बेहरी आउने चेतावनी दिए । अन्य ६ वटा प्रदेशको राजधानी यथावत रहँदा प्रदेश ३ को मात्र राजधानी सारिए ठूलो आन्दोलन हुने दावी गरे । राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले प्रदेशको राजधानी हेटौंडाबाट बाहिर लैजानै नसक्ने दावी गरे । हेटौंडाकै नेता मुख्यमन्त्री भएकाले मुख्यमन्त्रीले विशेष पहल गरे राजधानी अन्यत्र नजाने उनको भनाइ थियो । काठमाडौंमा पुगेर मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी नुवाकोट वा रामेछाप जता लगे पनि हुन्छ भन्ने अभिव्यक्ति दिएको भन्दै अधिकारीले आपत्ति जनाए । कार्यक्रममा पूर्व सांसद केदार न्यौपाने, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, प्रदेश(३ का प्रमुख सचिव आनन्दराज ढकाल, नेकपा मकवानपुरका नेता बद्री लम्साल, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, दुग्ध सहकारी संघका केन्द्रीय अध्यक्ष नारायण देवकोटा, गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष कृष्ण धिताल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।  सभामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले समन्वय समितिले गत वर्ष गरेको कामको समीक्षा गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । स्थानीय तहहरुले गरेको कामहरुको प्रभावकारी अनुगमन गरी नदीजन्य पदार्थहरुको अनुगमन कार्यहरुलाई अझ व्यवस्थित र कडाईका साथ नियमन गरिने नीति समन्वय समितिले लिएको छ । अन्तर जिल्ला स्थानीय तह खेलकुद प्रतियोगिताको आयोजना गर्ने पनि समितिले आफ्नो योजनामा समेटेको छ भने स्थानीय तहहरुसँग समन्वय गरी विभिन्न तालिम, प्रशिक्षण अनुशिक्षण जस्ता क्षमता अभिवृद्दिका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । जिल्लाको समग्र क्षेत्रको सूचना तथा अभिलेखहरुलाई व्यवस्थित बनाईराख्न कार्यालयमा सूचना तथा अभिलेख केन्द्र स्थापना गरिने पनि योजना अघि सारिएको छ भने बालमैत्री स्थानीय तह, खुला दिसामुक्त जिल्ला अभियान, पूर्ण साक्षर जिल्ला, खोप सुनिश्चित जिल्ला जस्ता अभियान जस्ता सरोकारका विषयमा आवश्यक समन्वय र सहजीकरण गरिने समन्वय समिति प्रमुख खुलालले बताए ।






कमेन्टसहरु




2584372 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top