Sajhakura Dainik - पर्यटनको लागि छुट्याइएको ६४ प्रतिशत बजेट खर्चै भएन
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

पर्यटनको लागि छुट्याइएको ६४ प्रतिशत बजेट खर्चै भएन


समाचार 23 पटक पढिएको




हेटौंडा, ३२ साउन÷ प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगतका पर्यटन विकास आयोजनाले बितेको आर्थिक बर्ष २०७५÷०७६ मा पर्यटन क्षेत्रमा छुटयाइएको बजेट पर्याप्त खर्च गर्न नसकेको पाइएको छ ।

 पर्यटन विकासको लागि छुट्याइएको कुल बजेटमध्ये करिब ६४ प्रतिशत बजेट खर्च हुन नसकी फ्रिज भएको छ । आयोजनाको लागि कुल ८४ करोड ७३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेकोमा ३० करोड ८२ लाख ३ हजार रुपैयाँ अर्थात ३६ दशमलव ३७ प्रतिशत बजेट मात्र खर्च भएको हो । आयोजनाको लागि पुुँजीगत तर्फ ७८ करोड ५४ लाख ४५ हजार रुपैयाँ छुट्याइएकोमा २७ करोड २९ लाख ७३ हजार रुपैयाँ मात्र खर्च गरिएको छ । पुँजीगत तर्फ प्रगति ३४ दशमलव ७५ प्रतिशत मात्रै छ । चालुतर्फ ६ करोड १९ लाख रुपैयाँ छुट्याइएकोमा ३ करोड ५२ लाख मात्र खर्च भएको छ । चालुतर्फ प्रगति भने ५६ दशमलव ९१ प्रतिशत छ ।  आयोजनाका लेखा फाँटका सुमन घिमिरेका अनुसार पर्यटन आयोजनाको लागि ढिलो गरी बजेटको अख्तियारी प्राप्त भएकाले बजेट खर्च न्यून भएको हो । आयोजना अन्र्तगत पदमार्ग संचालनको लागि २ करोड २० लाख रुपैयाँ छुटयाइएकोमा कुनै पनि खर्च हुन सकेन । त्रिभुवन राजपथलाई पर्यटकीय मार्ग घोषण तथा विकास कार्यक्रम अन्र्तगत झिरघारीमा  २३ लाख ३३ हजार रुपैयाँ खर्च गरी मैत्री बगैँचा निर्माण गरिएको छ भने लामिडाँडा र टिस्टुङमा २८ लाख ४४ हजार रुपैयाँ खर्च गरी विश्रामघर निर्माण गरिएको छ । १० वटा जिल्लामा पर्यटकीय क्षेत्रको पहिचानसहितको हिल स्टेशन निर्माण गर्ने भनिए पनि त्यसले सार्थकता पाउन सकेन । हिल स्टेशनको लागि छुट्याएको ३७ करोड रुपैयाँमध्ये करिब सर्भे, डिजाइन र ड्रोइङ्मा दुईकरोड २१ लाख रुपैया“मात्र खर्च भएको छ । अन्य रकम खर्च हुन सकेन । प्रदेश मन्त्रालयले सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको सोम्दाङग, रुबी भ्याली, मकवानपुरको चित्लाङ, सिमभञ्ज्याङ, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको चिम्टेश्वर र ककनीलाई हिल स्टेशनको रुपमा विकास गर्न बजेट विनियोजन भएको गरिए पनि हालसम्म निर्माण कार्य सुरु हुन सकेको छैन । ऐतिहासिक तथा पुरातात्विक विकास कार्यक्रमअन्तर्गत् स्वयम्भु गीता परिसरमा रहेको गीता मनिदर भवन निर्माण, मकवानपुरगढी चिसापानीगढी, हरिहरपुर गढी, सिन्धुली गढी प्रवद्र्धन कार्यक्रम आयोजना कार्यालयले गरेको छ । सूर्यगढी, रसुवागढी, दुगुनागढी,उपरदाङगढीलगायत पर्यटन विकास गुरुयोजना पनि निर्माण गरिएको छ । राष्ट्रिय व्यक्तित्वको जन्मस्थान पहिचान तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत् सिन्धुलीको दुम्जामा वीपी कोइराला र रामेछाप डाँडामा पुष्पलालको स्मृति पार्क निर्माण गरिएको छ । चिवतनको परेवाकोटमा जेपी स्मृति पार्क र गोलघर धर्मशाला सञ्चालनमा ल्याइएको छ । पोष्टबहादुर बोगटी स्मृति बाटिकाका साथैपिसकर–भिमान र दोरम्बा स्मृति पार्क पनि निर्माण भएको छ ।मन्त्रालयले  गतवर्षमा पर्यटनतर्फ २१ वटा ठूला आयोजनाकोे डीपीआर तयार भएको जनाएको छ । प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी सातवटा डीपीआर तयार गरेको छ ।  आयोजनाले पर्यटकीय पार्क निर्माण, भ्यू टावर, पर्यटकीय पदमार्ग निर्माण, बगैंचा, पार्किङ स्थल, पदमार्गको स्तरोन्नति, धार्मिक पर्यटकीय सर्किट निर्माण, तातोपानी क्षेत्रको संरक्षणलगायत कार्यको डीपीआर तयार भएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले मकवानपुरको दामान, कुलेखानी, मार्खु, चित्लाङ, सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, रामेछापको शिवालय, ललितपुरको कालेश्वर, नुवाकोटको ककनी, धादिङको रुभी भ्याली, रसुवाको सोमदाङ र सिन्धुलीको सिन्धुली गढी खुर्कोटलाई एक जिल्ला एक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अगाडि बढाएकोमा करिब पाँचलाख रुपैयाँमात्र खर्च भएको बुझिएको छ ।






कमेन्टसहरु




2639734 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top