Sajhakura Dainik - आजदेखि काँग्रेसको दोस्रो चरणको जागरण अभियान
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

आजदेखि काँग्रेसको दोस्रो चरणको जागरण अभियान


समाज 16 पटक पढिएको




हेटौंडा÷नेपाली काँग्रेसले आज मंगलबारबाट देशभर दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।

 पार्टीका संस्थापक नेता वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर कांग्रेसले आजबाट दोस्रो चरणको ‘हिमाल, पहाड, तराई–मधेश जागरण’ अभियान सुरु गर्न लागेको हो । दोस्रो चरणको अभियान असोज ७ गतेसम्म चल्नेछ । दोस्रो चरणको जागरण अभियानको लागि मकवानपुरको पनि सबै तयारी पूरा भइसकेको पार्टीले जनाएको छ । काँग्रेस मकवानपुरले सोमबार पत्रकार सम्मेलन गरी जिल्लाका ४ वटै प्रदेश निर्वाचन क्षेत्र केन्द्रित गरेर अभियान सञ्चालन गर्ने जनाएको छ । जिल्लाका चारवटै प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि तोकिएको र केन्द्रले निर्धारण गरेअनुसारको कार्यतालिका अनुसार अभियान चलाइने पार्टी मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए । काँग्रेस प्रवक्ता कोइरालाका अनुसार क्षेत्र नम्बर १ ‘क’ मा प्रेमचन्द्र दाहाल, १ ‘ख’ मा ऋषिराम घिमिरे, २ क मा प्रतिमा गौतम र २ ख मा शेषनाथ अधिकारीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ । आज क्षेत्र नम्बर १ ‘क’ मा हेटौंडा–१६, १ ‘ख’ मा हेटौंडा ५ नम्बर वडामा, २ ‘क’ मा मार्खु र २ ‘ख’ को मनहरीमा वृक्षारोपण गरी एकसाथ अभियान उद्घाटन हुनेछ ।  जागरण अभियानको दोस्रो चरणका कार्यक्रमहरू पनि प्रथम चरणका कार्यक्रम झैं छरितो हुने बताइएको छ । सीमित आसन ग्रहण तथा खादा÷मालारहित हुने पार्टीले जनाएको छ । दोस्रो चरणको अभियानको अन्तिम दिन असोज ७ गते कांग्रेसले मकवानपुरसहित ७७ वटै जिल्लामा विभिन्न मुद्दा प्रस्तुत गर्दै विरोध प्रदर्शन र सभा गर्ने जनाइएको छ । जननायक वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको प्रतिक स्वरूप एक सय छ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा रोपेर दोस्रो चरणको जागरण अभियानको उद्घाटन हुने पार्टीले जनाएको छ । अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, सरकारले गरेका गलत कामहरुको भण्डाफोर, वडा स्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रमहरु तय गरेको छ । विशेष सामाजिक संवादका क्रममा विभिन्न पेशा जाती र समुदायको भावना बुझ्ने, उनीहरुका प्रश्न, पीडा र अपेक्षाका बारेमा जानकारी लिने पार्टी मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेले बताए ।






कमेन्टसहरु




2639752 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top