Sajhakura Dainik - बधशालाप्रति व्यवसायीको बेवास्ता
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

बधशालाप्रति व्यवसायीको बेवास्ता


समाज 35 पटक पढिएको




हेटौंडा, २३ साउन÷ हेटौंडामा अव्यवस्थित रुपमा भइरहेको पशुपंछी काटमारलाई नियन्त्रण गर्न भन्दै प्रदेश–३ सरकार र हेटौंडा उपमहानगरपालिका समेतको सहयोगमा सञ्चालनमा ल्याइएको बधशालाको हेटौंडाका व्यवसायीले बेवास्ता गरेका छन् ।

 एक महिनाअघिबाट निजी क्षेत्रको लगानीमा हेटौंडा औद्योगिक क्षेत्रमा बफेलो क्वालिटी फुड प्रालिले व्यवस्थित बधशाला सञ्चालनमा ल्याएकोमा हेटौंडाका व्यवसायीले भने बधशालाको उपयोग गर्न आनाकानी गरिरहेका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा तीनवर्षदेखि बन्द अवस्थामा रहेको बफेलो क्वालिटी फुड प्रालिको प्रदेश ३ का मुख्यमन्त्रीले गत साउन २० गते उद्घाटन गरेका थिए । हेटौंडाका सबै व्यवसायीले एकै स्थानमा पशु बध गर्ने सहमति गरेता पनि बध गर्दा लाग्ने शुल्क महङ्गो भएको र दीर्घकालीन सञ्चालनको ग्यारेन्टीसमेत नभएको भन्दै व्यवसायीहरु पन्छिएका हुन् ।  हेटौंडा उपमहानगरपालिकाले एकै ठाउँमा पशु बध गर्न भन्दै व्यवसायीहरुलाई पटकपटक आग्रह गरे पनि उनीहरुले त्यसको बेवास्ता गर्दै आएका छन् । व्यवसायीसँग पटकपटक छलफल गरियता पनि बध मूल्य निर्धारणको विषयमा असहमति राख्दै व्यवसायीहरु पन्छिरहेको र आफूहरुले सहमति गराउने प्रयास गरिरहेको हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखाका अधिकृत ध्रुव भुजेलले बताए । हेटौंडामा रहेका मासु व्यवसायी संघका प्रतिनिधिहरुसँग विभिन्न चरणमा छलफल गरिए पनि सहमति नभएको र आफूहरु अझै छलफलकै क्रममा रहेको भुजेलले बताए । हेटौंडा मासु व्यवसायी संघका अध्यक्ष सूर्य अधिकारीले उद्योगीले पशु बध गरेबापतको मूल्य महङ्गो निर्धारण गरेकाले आफूहरु त्यहाँ जान नसकेको दावी गरे । आफूहरुले प्रस्ताव गरेको मूल्यमा सहमति नभएपछि आफूहरुले बधशालाको प्रयोग गर्न नसकेको उनले बताए । ‘पहिलो कुरा उद्योगले पशु बध गरेबापतको मूल्य नै महङ्गो तोकेको छ, दोस्रो कुरा वधशाला दीर्घकालीन सञ्चालनमै हामीलाई शंका छ, यसको ग्यारेन्टी कसले लिने ?’ उनले भने– ‘हामीले अहिले चलाइरहेको बधशाला बन्द गरी उसैमा भर पर्दा भोलि बन्द भइहाल्दा हामीलाई अप्ठेरो पर्न सक्छ, यसतर्फ सबैले सोचिदिनुपर्छ ।’ अधिकारीका अनुसार उद्योगले अहिले एउटा राँगा बध गरी मासु तयार गरेबापत एक हजार पाँचसयसम्म शुल्क तोकेको छ । उक्त शुल्क आफूहरुले तिर्न नसक्ने उनले बताए  । माछामासु व्यवसायी संघ मकवानपुरका महासचिव नारायण राजथलाले भने आफू मातहतमा रहेका व्यवसायीहरु बधशालामा बध गर्न इच्छुक भए पनि केही व्यवसायीहरुको असहमतिको कारण रोकिएको स्पष्ट पारे । ‘हाम्रो संघले राँगाभैंसी, खसी, कुखुरा लगायत बध गर्दाको छुट्टाछुट्टै मूल्यसूची प्रस्ताव गरेका थियौं, त्यसलाई उद्योगले स्वीकार गरिसकेको अवस्थामा केही साथीहरुले असमति जनाइहेका छन्, जसले गर्दा समस्या भइरहेको छ ।’ राजथलाले भने । माछामासु व्यवसायी संघकाअनुसार हाल हेटौंडामा दैनिक ६० वटा राँगाभैंसी, करिब एक सय २० वटा खसीबोका र १० हजारवटा भन्दा बढी कुखुरा खपत हुने गरेको छ । हेटौंडा बजारका विभिन्न २० भन्दा बढी स्थानमा राँगाभैंसी बध हुने गरेको छ । जथाभावी पशु बध गर्दा स्वस्थकर मासु उत्पादनमा समस्या हुनुका साथै वातावरण पनि प्रदूषित भएको भन्दै प्रदेश र स्थानीय सरकारले निजी क्षेत्रको लगानीमा उद्योग सञ्चालनमा ल्याएको थियो । ५५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा करिब १८ करोड रुपैयाँ लगानी गरिएको उद्योगका निर्देशक शैयद रियाजुद्दिनले बताए । उद्योगमा प्रदेश ३ सरकारले ७१ लाख रुपैयाँ अनुदानसमेत उपलब्ध गराएको छ ।उद्योगमा प्रतिघण्टा ४० वटा राँगाभैंसी बध गर्ने क्षमता रहेको छ । हेटौंडाभित्र रहेका करिब सयजनाभन्दा बढी मासु व्यवसायीले निश्चित शुल्क तिरेर सोही ठाउँमा राँगाभैंसी बध गर्ने अनौपचारिक सहमति बनेको थियो । दैनिक २५ टनसम्म मासु फ्रिजिङ गर्न सकिने क्षमताको मेसिन उद्योगमा रहेको छ । व्यवसायीसँग निश्चित शुल्क लिएर पशुपंक्षी बध गरिदिनुका साथै उद्योगले आफैंले सुक्खा मासुसमेत उत्पादन गरी हेटौंडा, काठमाडौंसहित देशभरका विभिन्न शहरमा मासु प¥याउने लक्ष्यसमेत लिएको छ । उद्योगमा हाल ७५ जना कर्मचारीसमेत नियुक्त गरिएको छ ।





कमेन्टसहरु




2639740 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top