Sajhakura Dainik - ‘गुड क्याप्टेन बन्न तानाशाही बन्नैपर्छ’
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अन्तर्वार्ता

‘गुड क्याप्टेन बन्न तानाशाही बन्नैपर्छ’


अन्तर्वार्ता 14 पटक पढिएको


‘गुड क्याप्टेन बन्न तानाशाही बन्नैपर्छ’
पुरनबहादुर जोशी (अध्यक्ष)रोटरी क्लब अफ मकवानपुररोटरी क्लव_ मकवानपुरमार्फत् अहिले नानी बिरुवा रोपणको काम भइरहेको छ । यो नानी विरुवा अवधारणाचाहिँ के हो ?

धरै संघसंस्थाहरुले वृक्षरोपण गर्ने गरेका छन्, जब म युनिभर्सिटीमा पढ्थेँ तब त्यहाँ यो नानी विरुवाको विषयमा धेरै कुराहरु जानकारी पाएको थिएँ । आज विश्वमा सबैभन्दा ठूलो चुनौतीको रुपमा पर्यावरण संरक्षणको कुराहरु आइरहेको छ । विश्वमा वातावरण प्रदूषणको दोष एकअर्कालाई थोपिरिरहेको छ । अमेरिकन देशले भन्छ, यो एसियन देशहरुले गरेको प्रदूषण हो र एसियन देशहरु भने अन्य देशलाई आरोप लगाइरहेको छ । जसले जसलाई आरोप लगाइरहे पनि यसले मानव जातिलाई असर गर्छ । त्यसैले, हामी सबै मिलेर वातावरण संरक्षणमा जुट्नुपर्दछ भन्ने सोचले आजभन्दा दुई वर्षअघि यो नानी विरुवा रोप्ने सोच मैले बनाएको थिएँ । तर, यो काम कसको माध्यमबाट गर्ने भन्नेमा अन्योल थियो । म रोटरी क्लब अफ मकवानपुरको अध्यक्ष भएपछि सबै रोटरिएनहरुको सहयोगमा मैले यो कामलाई अघि बढाएको छु । नानीभन्दा हाम्रो समाजमा सानासाना बच्चाहरुलाई बुझ्ने गर्दछौं । हो, यही नानी भन्ने वाक्यांशलाई बिरुवामा जोडेर हामीले काम अघि बढाएका छौं । नेपालमा धेरै संघसंस्थाले वृक्षरोपण त गर्छन् तर, त्यो हुर्कन नपाउँदै कसैले उखेलेर फालिदिन्छ, अनि हामी एक अर्कालाई दोषारोपण गरिरहेका हुन्छौं । तर, जन्माएरमात्र हुँदैन त्यसलाई हुर्काउनु पनि पर्छ । त्यही अवधारणाअनुसार प्रत्येक घरमा हामीले विरुवा लगाइदिने र त्यसको संरक्षण गर्नलाई त्यो घरको अभिभावकलाई सचेत गराउने उद्देश्य लियौं । घरको साना सदस्य साना नानीबाबुको नाममा बिरुवा रोपिदिने र आफ्ना छोराछोरीलाई जस्तै गरी हुर्काउनुहोस्, यो तपाईहरुको छोराछोरी हो भनेर जिम्मा लगाइदिने काम हामीले सुरु गरेका हौं । अभिभावकलाई उसको छोरा र छोरीसँग भावनात्मक हिसाबले जोडिदिने जसको कारण त्यो अभिभावकले आफ्ना छोरा र छोरीजस्तै गरी त्यो बिरुवाको संरक्षण गर्छन् र बिशाल रुख बन्छ, जसले वातावरण संरक्षणमा सघाउ पु¥याउँदछ ।

अन्य संघसंस्थाले गर्ने वृक्षरोपणभन्दा तपाईंहरुले एउटा फरक ढंगले वृक्षरोपणको काम गरिरहनुभएको छ । तर, एउटा अभिभावकलाई उसका छोराछोरी जस्तै विरुवालाई माया गराउन भावनात्मक सम्बन्ध विस्तार गर्नुभएको छ । तर, त्यसरी अभिभावकलाई जिम्मा दिँदैमा त्यो बिरुवा हुर्कन्छ भन्ने कुनै ग्यारेन्टी छ र ? तपाईहरुले पछि पनि अनुगमन, निगरानी राख्नुहुन्छ कि हुन्न ?
भावनात्मक हिसाबमा कुनै मानिसलाई जोडिदियो भने मान्छेले काम गर्छ । जहाँ भावना हुन्छ, त्यहाँ माया पनि हुन्छ । जस्तो उसको आफ्नो छोरीको नाममा अमृता छ भने उसको घरमा रोपिएको बिरुवा पनि अमृता हो भन्ने कुरा हामीले सिकाएपछि जसरी उसले आफ्नो छोरीको हेरचाह गर्छ, त्यसैगरी त्यो बिरुवाको पनि हेरचाह गर्छ । त्यसैले हामीले यसलाई नानी बिरुवा प्रोजेक्टका रुपमा अघि बढाएका हौं ।

हेटौंडाको हुप्रचौर वरिपरि विरुवा रोपेर नानी बिरुवा प्रोजेक्ट सुरु गर्नुभएको छ, यो सिजनमा तपाईंहरुले कति बिरुवा रोप्नुहुन्छ ?
यो साउनभरी नै हामीले धेरैभन्दा धेरैको घरमा पुगेर उसको साना नानीबाबुको नाममा बिरुवा रोप्ने काम गर्छौं । आफ्नो साना छोराछोरी नभए नातिनातिनी, नातिनातिनी नभए अरु काकामामाको छोराछोरीको नाममा बिरुवामा नेम ट्याग लगाएर हामी यो साउनभर नै घरघरमा नानी बिरुवा रोप्ने काम गर्छौं । म के पनि अनुरोध गर्न चाहन्छु भने हामी तपार्इंको घरमा आउँदा हामीलाई सहयोग गर्नुहोला । तपाईहरुलाई हामी बिरुवा दिन्छौं । बिरुवासँगै परिवारको सदस्यको नाम पनि दिन्छौं, विरुवा संरक्षणमा जाली पनि दिन्छौं । मात्र तपाईंले त्यो विरुवा हुर्काएर आफ्नो वरिपरिको वातावरण हराभरा बनाउनुहोस् ।
 
तपाई लामो समयदेखि मकवानपुरमा शैक्षिक सेवामा लागिरहनु भएको छ । त्यसको अलावा सामाजिक काममा पनि महत्वपूर्ण भूमिका निभाइरहनुभएको छ । त्यो सँगै रोटरी क्लब अफ मकवानपुरको अध्यक्षसमेत भइसक्नु भएको छ । रोटरीमा तपाईंको यो एक वर्षे कार्यकालमा के कस्तो काम गर्ने लक्ष्य राख्नुभएको छ ?
खासगरी हामीले पर्यावरण जोगाउन नानी विरुवा प्रोजेक्ट सञ्चालन गरिसकेका छौं । म एउटा शैक्षिक क्षेत्रको व्यक्ति हुँ, सरकारले पनि शिक्षा क्षेत्रमा ठूलो लगानी गरिरहेको छ । तर, पनि कतिपय सामुदायिक विद्यालयहरु छन्, त्यसमा पर्याप्त शैक्षिक सामग्रीहरु छैनन् । त्यसमा पनि हामीले सहयोग गर्ने लक्ष्य बनाएका छौं । र सानासाना बालबालिकाहरुका लागि स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गर्ने कार्यक्रम छ । र, हामीले अर्को एउटा महत्वपूर्ण काम पनि गर्दैछौं । हेटौंडा उपमहानगरपालिकाका हरेक वडामा एउटा–एउटा लाइब्रेरी स्थापना गर्ने सोच बनाएका छौं । हेरौं, यो कत्तिको सफल हुन्छ । मेरो एक वर्षको कार्यकालमा त्यो कतिको सम्भव हुन्छ ? म गर्छु, साथै म अध्यक्ष नभए पनि त्यो कामलाई निरन्तरता दिन सक्छु । १९ वटै वडामा लाइब्रेरी स्थापना गरी त्यसको संरक्षण, सञ्चालनको लागि पनि हामी दीर्घकालीन योजना बनाउने छौं । मेरो कार्यकालमा शिक्षा र स्वास्थ्यमा बढी फोकस गरेर कार्यक्रमहरु बनाउँदैछौं ।
रोटरी क्लव मकवानपुरको मातहतमा रहेर काम गर्ने युवाहरुको संस्था रोट्र¥याक्ट क्लब अफ मकवानपुर पनि छ, तपार्इंको कार्यकालमा ती जुझारु युवाहरुलाई कसरी सामाजिक काममा परिचालन गर्नुहुन्छ ?
एउटा कुरा के छ भने कुनै पनि क्लब वा संस्थाको सबैभन्दा महत्वपूर्ण पाटो भनेको लिडरसीप हो, लिडरसीप राम्रो भयो भने राम्रो काम हुन्छ । रोटरी र रोट्र¥याक्टमा धेरै युवाहरु छन्, ती युवाहरुलाई परिचालन गर्नुपर्छ । म निकै खुसी पनि छु किनकि युवा शक्ति मेरो हातमा छ । र, युवा शक्तिलाई सामाजिक काममा परिचालन गर्नेछु । नानी विरुवा प्रोजेक्टको काममा पनि रोट्र¥याक्टर भाइबहिनीहरुले महत्वपूर्ण काम गरिरहेका छन् । युवाहरुको हिम्मतलाई मार्नु हुँदैन । अघि बढ्न दिनुपर्दछ । संस्थाको एउटा बडी भनेको युवा शक्ति नै हो । मेरो कार्यकालमा रोट्र¥याक्टलाई हदैसम्मको परिचालन गर्नेछु । म जहाँ जान्छु, रोट्र¥याक्ट पनि त्यहीँ जान्छ ।

तपाईं लामो समयदेखि शैक्षिक सेवा गरिरहनु भएको छ, साथै अन्य संघसंस्थामा रहेर पनि समाजसेवा पनि गरिरहनु भएको छ । वास्तवमा यो शैक्षिक सेवा गर्नमा तपाईंलाई बढी आनन्द आउँछ कि सामाजिक सेवा गर्न ?
समाजको सेवा गर्न त जहाँबाट पनि गर्न सकिन्छ । म एउटा निजी शैक्षिक संस्था पनि सञ्चालन गरेर बसेको छु । जति कम्युनिटीलाई सेवा गर्न आनन्द आउँछ, त्यति निजी सेवा गर्न आनन्द नआउँदो रहेछ । म आधुनिक विद्यालय, हेटौंडा क्याम्पसमा हुँदा पनि मैले शैक्षिक गुणस्तर बढाउनेबारे धेरै कामहरु गरेँ । त्यो काम मैले व्यक्तिगत बलबुताले गरेँ । र, म रोटरी क्लबमार्फत जाँदा अझै म समाजसँग नजिक हुन सक्छु भन्ने लागेर यतातिर पनि लागिरहेको छु । यो सामाजिक सेवा गर्दा मलाई समाजसँग अझ नजिक बनाइदिन्छ, ममा शक्ति बढाइदिन्छ, युवा शक्ति पनि मेरो साथमा हुन्छ भनेर म संस्थामार्फत् पनि समाजसेवामा जोडिइरहेको छु । रोटरी क्लबको अध्यक्ष भएर एक वर्षमा मैले धेरै कामहरु गरेर देखाउनेछु ।

हेटौंडामा तपाईंजस्ता धनसम्पत्ति कमाउने व्यक्तिहरु धेरै छन् । धन कमाउने व्यक्ति सबैले समाजसेवा गर्छन् भन्ने पनि छैन, तपाईलाई चाहिँ समाजसेवामा जोडिन के कुराले प्रेरित ग¥यो ?
मानिसले कुनै दिन काम गर्छ भने आनन्द प्राप्तीको लागि गर्छ । कोहीलाई पैसा जम्मा
गरेर आनन्द हुन्छ भने उसले पैसामात्र जम्मा गर्ने गर्दछ । कोही भने समाजमा योगदान गरेर, पैसा खर्च गरेर आनन्द प्राप्ती गरिरहेको हुन्छ, त्यसैले आनन्द हरेक मानिसहरुको सोचमा निर्भर हुन्छ । मेरो सवालचाहिँ समाजसेवा गर्दा धेरै आनन्द आउँछ । पैसा भएरमात्र हुँदैन । पैसा खर्चिएर समाजसेवा गर्ने भावना पनि हुनुपर्दछ । म पनि गरिब वर्गबाट हुर्किएर आएको मान्छे हुँदा म समाजसेवामा निकै रुचि राख्छु । मेरो बुबा एउटा सिपाही हुनुहुन्थ्यो । मैले पनि निकै संघर्ष गरेको छु । त्यतिबेला मैले सोचेको थिएँ कि कुनै दिन म धेरै धनसम्पत्ति कमाएँ भने समाजसेवा गर्छु भनेर । एकदिन सबैले कमाएको सबैथोक छोडेर जानु छ । कात्रोको त कुनै गोजी हुँदैन । समाजमा कुनै योगदान गर्न सकियो भने त्यो कहिल्यै मर्दैन ।

तपाईंले भर्खरै मात्र पारिवारिक पृष्ठभूमिको कुरा अलिकति निकाल्नुभयो । वास्तवमा तपाईंको पारिवारिक पृष्ठभूमि कस्तोे थियो ? अलिकति गहिरिएर बताइदिनुस् न ।
मेरो पुख्र्यौली घरचाहिँ पश्चिम नेपालको स्याङ्जाको वालिङमा हो । मेरो बुबा सिपाहीमा जागिरे हुनुहुन्थ्यो । जागिरको शिलशिलामा मलाई पनि इन्डिया लैजानुभयो । मैले पनि त्यहाँ घुमेँ, पढेँ, धेरै कुराहरु सिकेँ । बुवाआमाहरुले पढ्नुभएको थिएन । मलाई पढाएर आफ्नो देशमा गएर सेवा गर भनेर पठाउनुभयो । त्यसैक्रममा म यतातिर आएँ । मेरो घरमा केही पनि थिएन । एउटा सिपाहीले कति नै आम्दानी गर्न सक्छ र ? तर, मलाई बुबाआमाले शिक्षा दिए, चेतना भरिदिए । मलाई संघर्ष गर्ने धेरै प्रेरणाहरु बुबाआमाले दिनुभयो । बाधाहरु पन्छाउँदै पन्छाउँदै आत्मविश्वासले काम गर्नुपर्छ। र, लामो संघर्षपछि म यो स्थानमा आइपुगेँ ।

तपाईंलाई शैक्षिक क्षेत्रमा वा अन्य क्षेत्रमा पनि निकै हक्की स्वभावको हुनुहुन्छ, अलिक कडा स्वभावको हुनुहुन्छ भनेर चिनिनुहुन्छ, वास्तवमा तपाईंले आफूलाई भित्रबाट चाहिँ कसरी प्रस्तुत गर्नुहुन्छ ?
मेरो बुबा फौजी भएको हुँदा म पनि फौजमा हुर्किएको मान्छे । फौजमा बस्दा मलाई एउटा साथीले सल्लाह दिएको थियो । एउटा फौजमा दुई तरिकाको मान्छे हुन्छन् । एउटा ‘लोएल लेफ्टिनेन्ट’ र अर्को ‘गुड क्याप्टेन’ हुन्छ रे । लोयल लेफ्टिनेन्ट जो हुन्छ त्यो तानाशाही प्रवृत्तिको हुन्छ, कुनै पनि कुरालाई राम्रोसँग जग बसाल्नुपर्छ भने त्यो मान्छे लोयल लेफ्टिनेन्ट हुनु जरुरी छ । घरको जग राम्रो बसाउन मान्छेहरु जेसुकै किसिमको हत्कन्डा अपनाउनुपर्छ । कुनै पनि कुरा राम्रो बनाउनुपर्छ भने तानाशाह बन्नैपर्छ । मैले आधुनिक विद्यालयलाई राम्रो बनाउन तानाशाह भएँ । तानाशाहमार्फत् गएर राम्रो सिस्टमको विकास गरिसकेपछि म गुड क्याप्टेन भएँ । त्यसैले गुड क्याप्टेन हुनको लागि तानाशाही बन्नैपर्छ ।



कमेन्टसहरु




2584285 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top