Sajhakura Dainik - आवश्यक सेवा, सुविधा राज्यले दिनुपर्छ
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अन्तर्वार्ता

आवश्यक सेवा, सुविधा राज्यले दिनुपर्छ


अन्तर्वार्ता 7 पटक पढिएको


नवराज अर्याल (अध्यक्ष)उद्योग संघ मकवानपुर हेटौंडा औद्योगिक क्षेत्रका उद्योग संघ मकवानपुरले उद्योगी व्यवसायीहरुको हितमा के कस्तो काम गर्दै आइरहेको छ ? उद्योग संघ मकवानपुरले चाहिँ विशेष गरी यहाँको उद्योगीहरुको सुरक्षाको लागि काम गर्दै आएको छ ।

 दैनिक औदोगिक उत्पादन गर्नको लागि विद्युत्को, खानेपानी, सडक सुधार लगायतको  बारेमा सम्बन्धित निकायलाई घच्घच्याउने काम गरिरहन्छ । साथै उद्योगीको अधिकार स्थापित गर्नको लागि सँधै लागिपरिरहेको छ ।


हेटौंडा औद्योगिक क्षेत्रमा विभिन्न किसिमका सुरक्षा चुनौती रहेको भन्ने गुनासो आइरहन्छ, त्यस्तो चुनौतीलाई पन्छाउनको लागि तपाईहरुले के कसरी भूमिका खेलिरहनुभएको छ ?

औद्योगिक क्षेत्रभित्र खुला सिमाना भएको कारण सुरक्षा चुनौती त निकै छ । राज्यले २५ मिटर बाटो बढाउने भन्दै भएका तारबार पनि भत्काएको अवस्था छ । यस्तो अवस्थामा हामीले जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको लागि माग गरेका छौं । हाम्रो जग्गा भएको भए हामी आफैंले तारबार लगाउँथ्यौं होला तर, यो काम औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको हो । त्यसका लागि हामीले कार्यालयलाई पटकपटक आग्रह गरे पनि काम हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारीले पनि यो समस्या समाधानमा लागिपर्ने प्रतिवद्धता जनाएका छन् । 


औद्योगिक सुरक्षा बल खटाइएको छ । उसले निर्वाह गर्नुपर्ने भूमिका कतिको निर्वाह गर्न सकेको छ ?

सुरक्षा बलले प्रयाप्त सुरक्षा व्यवस्था मिलाउन सकेको छैन । उसको आफ्नो जनशक्ति पूर्ण नभएको कारण उसले आवश्यक मात्रामा सुरक्षा व्यवस्था गर्न सकेको छैन । राज्यले एउटा नीति ल्याएर औद्योगिक सुरक्षा बल त गठन ग¥यो तर त्यहाँ चाहिने आवश्यक भौतिक पूर्वाधारहरु र जनशक्तिहरु पु¥याउन सकेन । ३२ सय रोपनी जमिन भएको औद्योगिक क्षेत्रलाई २०–२५ जनाको टोलीले कसरी हेर्न सक्छ र ? जिल्ला प्रशासन कार्यालयको समन्वयमा एक सय ५१ जनाको गुल्म राख्ने तयारी गरेका छौं । अहिलेको २०–२५ जनाको औद्योगिक सुरक्षा बलले त लौरो बोकेर घुम्नेबाहेक अरु कुनै काम गर्न सक्दैन । 


औद्योगिक क्षेत्रमा विद्युत् समस्या, खानेपानीको समस्याको कुराहरु बारम्बर उठिरहने गर्छ । वास्तवमा बिजुली पानीको राम्रो व्यवस्था गरिदिनको लागि औद्योगिक व्यवस्थापन कार्यालयलाई झक्झक्याउनु भएको छैन ?

औद्योगिक व्यवस्थापन कार्यालयले बिजुली, पानी बाटो सबै सुविधा दिने प्रतिवद्धतासहित उद्योगीहरु त्यहाँ भाडामा बस्न आएका हुन् । यस विषयमा व्यवस्थापन कार्यालयलाई घच्घच्याइरहनुपर्ने त हैन । यो व्यवस्थापन कार्यालयचाहिँ उद्योगीहरुबाट भाडा उठाउने, बिजुली पानीको कमिशन खाने अनि दिनुपर्ने सुविधाचाहिँ केही पनि नदिने गरिरहेको छ । यस विषयमा हामीले विभिन्न निकायमा घचघच्याइरहेका छौं । तै पनि समस्या समाधान 

भइरहेको छैन । सम्पूर्ण सेवा सुविधा दिने काम त राज्यको हो । हामीबाट त त्यस सेवाबापत कर उठाइरहेका छन् । भाडा लिइरहेका छन् । अहिलेको अवस्थामा हेर्दा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयचाहिँ भाडा उठाएर खाने जमिनदारजस्तो मात्र भएको छ । 

औद्योगिक क्षेत्रमा उद्योगीहरुले जग्गा भाडामा लिएर उद्योग सञ्चालन नगरी ठाउँ मात्र ओगटेर बस्यो भन्ने आरोपहरु पनि लाग्ने गर्छ । किन यसरी जग्गा ओगटेर मात्र बस्नुभएको ?

बाहिरबाट हेर्ने मान्छेले यस्तो आरोप लगाउनु स्वाभाविक हो । उद्योगीहरुले त उद्योग सञ्चालनकै लागि जग्गा लिएका हुन् । निजी जग्गा त हैन, त्यसको भाडा तिर्नैपर्छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बत्ति र पानीको आवश्यक व्यवस्था मिलाइदिए मात्र पनि अहिले भएका सबै जग्गामा उद्योग सञ्चालन हुन्छ । अहिले ९ वटा उद्योगहरु सञ्चालनको तयारीमा बसिरहेका छन् । तर, बिजुली नदिइँदा उद्योगहरु चल्न सकिरहेका छैनन् । जसले जुन कुरो भनिरहनु भएको छ त्यो भनेको उद्योगीको चरित्र हत्या गर्ने काम मात्र हो भन्ने लाग्छ । 

राज्यले प्रयाप्त बिजुली र पानीको व्यवस्था गरिदिए सबै उद्योगहरु सञ्चालनमा आउनेछन् ।


औद्योगिक क्षेत्रमा विद्युतीकरणको काम पनि भइरहेको छ, थप बिजुली कहिलेसम्ममा आइपुग्ने भन्ने छ ?

१० मेगावाट विद्युत् सरकारले उपलब्ध गराएको छ । तर, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले दिनुपर्ने सुविधाहरु दिएको छैन । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले क्यापासिटर बैंक नराखेकाले सरकारले दिएको विद्युत् पनि उपयोग गर्न पाइएको छैन । हामीलाई समस्या भइरहेको छ । हामीसँगको छलफलको क्रममा विद्युत् प्राधिकरणका कुलमान घिसिङ, उर्जा मन्त्री महेन्द्रबहादुर शाहीलगायतको टोलीले पनि औद्योगिक क्षेत्रको बिजुलीको समस्याको बारेमा जानकारी लिएर जानुभएको छ । उहाँहरुले केही सहजीकरण गर्नुहुन्छ भन्नेमा विश्वस्त छौं । 

उर्जामन्त्री र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतको सहभागितामा तपाईंहरुसँग औद्योगिक क्षेत्रमै आएर अन्तरक्रिया भएको छ, उहाँहरुले औद्योगिक क्षेत्रको समस्याको बारेमा ठेट समाधानको कुराहरु चाहिँ के दिनुभयो ?

उद्योग भनेको उत्पादन गर्ने क्षेत्र हो, राज्यको नीति भनेकै उत्पादन गर्नु नै हो । उद्योगीहरुलाई सक्दो सहयोग गर्छौ भन्ने किसिमको प्रतिवद्धता जनाउनुभएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरेका प्रतिवद्धताहरु पूरा गर्नुपर्नेमा पनि उहाँहरुले जोड दिनुभयो । 


मयुरधापमा औद्योगिक क्षेत्र–२ स्थापनाको तयारी भइरहेको छ । अहिलेको अवस्थामा उद्योगमैत्री वातावरण छ त ?

अहिलेको अवस्थामा चाहिँ औद्योगिकमैत्री वातावरण छैन । औद्योगिक क्षेत्रभित्र उद्योग गर्दा बत्ती र पानीको सुविधा चाहिँ मिल्छ भन्ने सबैलाई लागेको छ । तर, औद्योगिक क्षेत्रले त्यो सुविधा दिएनन् भने चाहिँ उद्योगहरु चल्न सक्दैनन् । सरकारले सबै सुविधा उपलब्ध गराएर उत्पादनमा प्रेरित नगरेसम्म उद्योगहरु राम्ररी चल्न सक्दैनन् । सरकारले उद्योगको संरक्षण गर्नुपर्छ ।


अन्त्यमा मकवानपुरमा उद्योगी व्यवसायीलाई तपाईको भन्नु केही छ कि ?

हामी मकवानपुरका सम्पूर्ण उद्योगी व्यवसायी संयम हुनुपर्छ । मजदुर र मालिकबीच विभेद ल्याउने व्यवहार गर्नुहुन्न । राज्यले तोकेअनुसारको सेवा सुविधा मजदुरलाई दिनुपर्छ । उद्योगमा हुने बन्द हड्तालको विरुद्ध लाग्नुपर्ने अवस्था छ ।





कमेन्टसहरु




2584296 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top