Sajhakura Dainik - स्थायी राजधानी शंकास्पद
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

स्थायी राजधानी शंकास्पद


हाम्रो कुरा 16 पटक पढिएको


प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा नै स्थायी राजधानी हुने लगभग निश्चित भएको भनिए पनि स्थायी राजधानीको विषय झनै पेचिलो बनेको छ ।

 केही दिनअघि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आफू प्रदेश राजधानी हेटौंडा नै हुनुपर्छ भन्ने पक्षमा नरहेको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि यो विषय थप शंकास्पद बनेको छ । प्रदेशको स्थायी राजधानी तोक्ने र नामाकरण गर्ने विषय प्रदेशसभामा पेश नहुँदा अन्यौल बनिरहेको अवस्थामा करिब ३ महिनाअघि प्रदेशसभा बैठकले स्थायी राजधानी तोक्ने कार्यविधि पारित गरेको थियो । कार्यविधि पारित भएसँगै स्थायी राजधानी र नामाकरण टुंगो लाग्ने विश्वास सार्थक हुन सकेको छैन । करिब एक वर्षअघिदेखि हेटौंडा नै स्थायी राजधानी हुने र यो विषय केही दिनमै टुंगिने बताइरहेका मुख्यमन्त्री पौडेलेको पछिल्लो अभिव्यक्तिले झनै अन्यौल बनाएको छ । प्रदेशसभाको विशेषाधिकार रहेको स्थायी राजधानी र नामाकरणको विषयमा सत्तारुढ दल नेकपाका सभासदबीच नै विवाद देखिएपछि यो विषयले प्रदेशसभामा प्रवेश नै पाउन सकेको छैन । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाका कतिपय सांसदहरु राजधानी काभ्रे बनाउनुपर्छ भन्ने अडानमा रहेका र कतिपय हेटौंडा नै हुन्छ भन्ने रहेका कारण यो विषयले प्रदेशसभा बैठकमा औपचारिक प्रवेश पाउन नसकेको हो । प्रदेश राजधानी सिफारिस गर्न गठित समितिले पनि पाँचवटा ठाउँलाई विकल्पको रुपमा प्रस्तुत गरेपछि अन्यौलता बढाएको थियो । प्रदेशसभाबाट कुनै पनि ठाउँमा स्थायी राजधानी तोक्न दुई तिहाई बहुमत नपुग्ने सम्भावना भएपछि यो विषय नेकपाको शीर्ष नेतृत्वसम्म पुगेको थियो । नेकपाका दुई अध्यक्षमध्ये पुष्पकमल दाहाल प्रचण्ड हेटौंडाका पक्षमा रहेको र केही महिनाअघि केपी ओली पनि यसप्रति सकारात्मक भएको भन्दै ३ नम्बर प्रदेश राजधानी हेटौंडा हुने सुनिश्चितजस्तै भएको समाचार सार्वजनिक भएको थियो । त्यसो त प्रदेशको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस प्रदेश राजधानी हेटौंडा हुनुपर्छ भन्ने पक्षमा रहेको बताइन्छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्वयम् हेटौंडाका स्थायी बासिन्दा भएका कारण हेटौंडा राजधानी बनाउने विषय उनको प्राथमिकतामा पर्नुपर्ने हो । प्रदेश राजधानी सिंहदरबारको छायाँमा हुँदैन, हेटौंडा नै राख्नुपर्छ भन्दिन, नुवाकोट वा रामेछाप लगे कुनै आपत्ति छैन भन्ने मुख्यमन्त्री पौडेलको पछिल्लो अभिव्यक्तिले हेटौंडाबासीलाई रुष्ट बनाएकोमात्र होइन, प्रदेश राजधानी काभ्रेतिर लैजाने संकेत देखिन्छ । किनकि, नुवाकोट र रामेछापमा उचित पूर्वाधार र सम्भावना दुबै छैन । पूर्वाधारको उपलब्धता र क्षमता, पहुँच सुविधा, आर्थिक सम्भाव्यता, प्राकृतिक प्रकोप, हावापानी, सुरक्षा व्यवस्थालगायत सबै हिसाबले हेटौंडा राजधानीको लागि उपयुक्त हुँदाहुँदै राजधानी सार्न खोज्नु उचित देखिँदैन । अस्थायी राजधानी बनेको २० महिनाभित्र हेटौंडामा राजधानीका लागि आवश्यक सबैजसो पूर्वाधार र संरचना तयार भइसकेको अवस्थामा नयाँ ठाउँमा राजधानी लैजानु आर्थिक र प्रशासनिक हिसाबले उपयुक्त हुँदैन । एक महिनादेखि अवरुद्ध प्रदेशसभाको बैठक सुचारु गरी हेटौंडालाई स्थायी राजधानी बनाएर प्रदेशको प्रशासनिक र विकास निर्माणको कार्यमा जुट्नु उचित हुनेछ ।





कमेन्टसहरु




2584301 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top