Sajhakura Dainik - लुम्बिनी, अशोक स्तम्भ र मायादेवी मन्दिर
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
बिचार

लुम्बिनी, अशोक स्तम्भ र मायादेवी मन्दिर


बिचार 24 पटक पढिएको


मोक्तान वीरबहादुर तामाङ // लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो ।

करिब २५६४ वर्ष पहिला सुन्दर र पवित्र बगैंचामा माता मायादेवीको कोखबाट शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म भएको थियो । बुद्ध जन्मिएको भूमि लुम्बिनी अहिले संसारभरका बौद्धमार्गीलगायत शान्तिप्रेमी सबै मानिसहरुबीच विश्व शान्तिको मुहानको रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तीर्थालु पर्यटकहरु तथा अध्ययनकर्ता लुम्बिनी पुग्ने गर्छन् । विश्वभरका बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तीर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दू धर्मावलम्बीका लागि समेत लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ ।लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरुले शताब्दीऔंदेखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेको तथ्यहरु खुल्छन् । प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्गदर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तीर्थयात्रा गरेका थिए । प्राप्त ऐतिहासिक तथ्यहरुका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरुमा चिनियाँ यात्रीहरु त्सेङ साई, पायिहयान र हुयेन साङ थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पाचौं शताब्दीमा र हुयेन साङले सातौं शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी यात्रीहरुमा हुयेन साङको यात्रा विवरणहरुले लुम्बिनीको बारेमा बिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् ।सन् १३१२ मा नेपालको कर्णाली क्षेत्रका राजा रिपु मल्लले लुम्बिनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा रिपुमल्ल चरि जयतु भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी गुमनामजस्तै बन्न पुग्यो । पछि सन् १८९६ मा गभर्नर जनरल खड्ग शमशेर र अँग्रेज भारतका पुरातात्विक अनुसन्धान एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरि चासो र सरोकारको विषय बन्यो । हाल लुम्बिनी विश्वभरका लाखौं मानिसहरुको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेको छ । यहाँ लुम्बिनीको पुरातात्विक धरोहरको रुपमा रहेको अशोक स्तम्भ र मायादेवी मन्दिरको संक्षिप्त चर्चा गरिन्छ ।

अशोक स्तम्भ

आजभन्दा करिब २२६६ वर्षअगाडि अथवा बुद्धको परिनिर्वाणभन्दा करिब २८४ वर्षपछि भारतवर्ष, महाभारत खण्ड, आर्यवर्त, जम्बुद्वीपका सम्राट (राजाहरुको पनि राजा) अशोकले आफू बुद्धका अनुयायी भएपछि धार्मिक यात्रा गर्नेक्रममा लुम्बिनी आएका थिए । उनले ‘हिंद बुधे जाते शाक्यमुनीति’ अर्थात् यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो भन्ने शिलालेखसहितको ढुंगाको स्तम्भ खडा गरे, जसलाई हाल प्रसिद्ध अशोक स्तम्भका रुपमा लुम्बिनीमा देख्न सकिन्छ । सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारिका शिला र जन्मेपछि उहाँलाई शुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदहजस्ता ऐतिहासिक ठाउँहरुको भ्रमणसमेत गरे ।

सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ हाल करिब ३१ फिट अग्लो छ । जसमा १३ फिट जमिनमुनि र १८ फिट जमनिमाथि रहेको छ । यसको तौल अनुमानअनुसार करिब ३७ टन (३७ हजार किलोग्राम) रहेको छ । यो स्तम्भ चुनार (सारनाथबाट करिब एकसय किलोमिटर दक्षिणतर्फ, उत्तर प्रदेश) बाट चट्टानी पहाड काटेर गोलो आकार बनाई नदीमार्फत् र कहीँ कहीँ सयौं हात्ती, घोडाहरुलाई बोकाई ल्याइएको हो । यो स्तम्भको शिरभाग पनि थियो भनेर विश्व प्रसिद्ध चिनियाँ यात्री हुयन साङले आफ्नो यात्रा वर्णनमा उल्लेख गरेका छन् । हुयन साङले इसाको ६३९ देखि ६४६ सम्म भारत र नेपालका विभिन्न बौद्ध तीर्थस्थलहरुको भ्रमण गरेका थिए । तर, हाल स्तम्भको शिरभाग भेटाइएको छैन ।

करिब ५ सय वर्षसम्म संसारको नजरबाट ओझेलमा परेको लुम्बिनी अशोक स्तम्भकै कारण पुनः उजागर भयो । यसैकारण आज गर्वका साथ शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्छ भनिएको हो । यो अकाट्य प्रमाण अशोक स्तम्भले नै दिन्छ । यो स्तम्भमा अंकित लिपि र भाषा ब्राह्मी लिपि र पाली भाषा नै खास प्रमाण हुन् । सम्राट अशोकले आफूले आफ्नो राज्याभिषेकको बीसौं वर्षमा लुम्बिनीको भ्रमण गरेको, आफू बुद्धको अनुयायी भएको, आफूले बुद्धको जन्मस्थलको पूजा गरेको, यो ठाउँको जनताको कर घटाइदिएको आदि कुराहरु स्तम्भमा अंकित गरिएका छन् । आफूले राख्न लगाएको शीलालेखको लिपिलाई अशोकले धम्मलिपि भन्न रुचाएका छन् । यो स्तम्भको बीच भागमा रहेको मुललेखभन्दा बाहेक अन्य विभिन्न भाषा र लिपिहरुमा पनि विभिन्न कुराहरु उल्लेख गरिएका छन् । ती लेखहरु कुनै कर्णालीका खस राजा रिपु मल्लले कुँदाएका छन् भने कुनै लेख १९ औं शताब्दीका भैरहवाका बडाहाकिमले अंकित गर्न लगाएका हुन् ।

मायादेवी मन्दिर

मायादेवीले सिद्धार्थलाई लुम्बिनीको सुन्दर बगैंचामा जन्म दिएकी हुन् । जसलाई मायादेवीले जन्म दिइन्, पछि गएर उनै सिद्धार्थ बुद्धका रुपमा प्रख्यात भए । बौद्ध धर्ममा स्तुप, चैत्य, बिहारजस्ता पुजनीय ठाउँहरु हुन्छन्, प्रायः मन्दिर हुँदैनन् । तर, लुम्बिनीमा अवस्थित मायादेवी मन्दिर बौद्ध धर्म तथा बुद्धसँग सम्बन्धित मन्दिर हो । सिख र मौर्यकालदेखि इसाको आठौं शताब्दीसम्म बारम्बार मर्मत सम्भार र पुनर्निर्माण गरिएकाले यसको प्राचिन मौलिक स्वरुप 

परिवर्तन हुँदै आएको पाइन्छ । बुद्धको जीवनभर लुम्बिनीको खासै चर्चा भएन । तर, बुद्धले आफ््नो अन्तिम उपदेशमा लुम्बिनी  आर्यपुत्रहरुका लागि महत्वपूर्ण स्थल हुनेछ भनेको हुँदा त्यसपछि बुद्ध अनुयायीहरुले लुम्बिनीमा मन्दिर, चैत्य, बिहार बनाएर बुद्ध जन्मस्थलको पूजा गर्न थाले । त्यसकारण सबैभन्दा पहिले मायादेवी मन्दिरको निर्माण आजभन्दा करिब २५ सय वर्षपहिले भएको मानिन्छ । त्यसपछि लुम्बिनीमा निरन्तर धार्मिक कार्यहरु भइरहेका छन् ।बुद्धको महापरिनिर्वाणको करिब साढे दुईसय वर्षपछि सम्राट अशोकको पनि लुम्बिनीमा आगमन भयो । उनले पनि थुप्रै धार्मिक कार्यहरु गरे । उनले मायादेवीको मन्दिरलाई व्यवस्थित गरे । अशोक स्तम्भको स्थापना गरे । लुम्बिनीमा मन्दिर, बिहार तथा चैत्यहरुको निर्माण कार्य इसाको सातौं शताब्दीसम्म निरन्तर भइरह्यो । त्यसपछि भारत र नेपालबाट बौद्ध धर्म पलायन हुन थाल्यो । बौद्ध धर्म पलायन भएपछि मन्दिर, चैत, बिहारहरु भत्किएर माटोमा पुरिन थाले । करिब ५ सय बर्ष माटोमा पुरिएपछि भारत र श्रीलंकामा भएको बौद्ध पुनर्जागरणको प्रभाव नेपालमा पनि पर्न थाल्यो । सन् १८९६ मा लुम्बिनी पुनः उजागर भयो । लुम्बिनी पुनः उजागर भएपछि लुम्बिनीमा धार्मिक, पुरातात्विक, सांस्कृतिक, ऐतिहासिक खोज, अनुसन्धान, अन्वेषण तथा संरक्षणहरु हुन थाले ।केशर शम्शेरले सन् १९३३–१९३९ मा मायादेवी मन्दिरको निर्माण गराए । तर, बुद्ध जन्मेको ठाउँमा एउटा शिला छ भन्ने विषयलाई लिएर फेरि विवाद देखाप¥यो । सन् १९९३ मा केशर शम्शेरले बनाएको मायादेवी मन्दिर भत्काई उत्खनन गर्दा सन् १९९६ मा बुद्ध जन्मस्मारक शिला पत्ता लगाइयो । त्यसै समयबाट आधिकारिक रुपमा बुद्ध सोही शिला भएको ठाउँमा जन्मिएका हुन् भन्ने कुरा पत्ता लागेको हो । त्यसपछि पुनः सन् २००२ मा सो स्थानलाई भित्र पारेर वर्तमान मायादेवी मन्दिरको निर्माण सम्पन्न भयो । मायादेवी मन्दिरभित्र रहेका पुराना इट्टाको संरचनाहरु प्राचिन मायादेवी मन्दिरको अवेशषहरु हुन् । (सन्दर्भ ः बुद्ध र लुम्बिनी, राजन बस्नेत र सुमन्तराज न्यौपाने)






कमेन्टसहरु




2584334 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top