Sajhakura Dainik - डेंगु नियन्त्रणमा गम्भीर बनौं
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

डेंगु नियन्त्रणमा गम्भीर बनौं


हाम्रो कुरा 14 पटक पढिएको


हेटौंडामा डेंगु संक्रमण निकै बढेपछि नियन्त्रणको प्रयास भइरहेको छ ।

 डेंगुले महामारीको रुप लिन नदिन हेटौंडा उपमहानगरपालिकाले सचेतनासँगै ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरेको छ । साउन १ गतेदेखि हालसम्म हेटौंडामा ८३ जनामा डेंगु संक्रमण भएको छ । डेंगु संक्रमणको शंका भएका कतिपय विरामी भरतपुर तथा काठमाडौंमा समेत उपचारका लागि गएको हुँदा संक्रमणको संख्या अझ बढी हुनसक्ने अनुमान गरिएको छ । एडिस एजिम्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको हालसम्म विशेष उपचार विधि पत्ता लागेको छैन । डेंगु भाइरस संक्रमित एजिम्टाई लामखुट्टे नियन्त्रणबाट नै डेंगु संक्रमण कम गर्न सकिन्छ भने संक्रमित व्यक्तिलाई स्वास्थ्य संस्थामै उपचार गराउनु उचित हुने चिकित्सकहरुको भनाई छ । नेपालमा सर्वप्रथम सन् २००६ मा बाँकेमा डेंगुको बिरामी भेटिएको थियो । सन् २०१० मा नेपालमा यसले माहामारीको रुप लिएको थियो, जसमा ९ सय १७ जना बिरामी भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार बर्षेनि विश्वमा करिब ६ करोड व्यक्ति यो रोगबाट संक्रमित हुन्छन् भने २ अर्ब ५० करोड व्यक्ति जोखिममा रहेका छन् । यो रोग सार्ने लामखुट्टे ग्रामीण भेगमा भन्दा शहरी भेगमा बढी पाइने गरेको छ । गर्मी तथा वर्षाको समयमा विशेषतः तराई क्षेत्रमा डेंगु संक्रमण देखिने गरेको छ । विगतमा वर्षहरुमा हेटौंडामा फाट्टफुट्ट डेंगु संक्रमितहरु भेटिने गरेको भए पनि यसवर्ष व्यापकरुपमा संक्रमण देखिएपछि हेटौंडाबासीमा त्रास फैलिएको छ । डेंगुबाट हेटौंडा बजार क्षेत्रका बासिन्दा बढी प्रभावित बनेपछि हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रका १, २, ४, ५, ६, ७, ८, ९ र १० नम्बर वडामा डेंगु नियन्त्रण अभियान सञ्चालन गरेको छ । प्रत्येक वडामा वडा अध्यक्षको संयोजनमा महिला स्वास्थ्य स्वयम्सेविका, टोल विकास संस्था तथा स्थानीय बासिन्दाको सहभागितामा उपमहानगरपालिकाको टोलीसमेत सम्मिलित भई अभियान सञ्चालन गरिएको हो । अभियानका क्रममा जनचेतना जगाउँदै डेंगुको लार्भा उत्पादन हुने पानी जमेका स्थान पुर्नेर पानी जमेका वस्तु हटाउने कार्य गरिएको छ । डेंगुविरुद्ध खोप तथा खास कुनै उपचारसमेत नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । यो रोग लाग्दा देखिने लक्षणहरुबारे आम सर्वसाधारण सचेत बन्दै रोगबाट बच्न आवश्यक सावधानी अपनाउनु उचित हुनेछ । डेंगुको शंका लागेमा तुरुन्त स्वस्थ्य संस्थामा सम्पर्क गर्ने र डेंगु संक्रमणको सम्भावना रहेका क्षेत्रमा आवश्यक सचेतनासहित लामखुट्टे नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्नु आवश्यक छ । डेंगु संक्रमण गर्ने लामखुट्टेले जमेको पानीमा फुल पारी लार्भा उत्पादन गर्दछन् । त्यसैले वर्षायाममा आकाशबाट परेको पानी खाल्डाखुल्डी, बाहिर राखिएका भाँडाकुँडा, पुराना ट्यांकी, टायरलगायतमा पानी जम्ने भएकाले खाल्डाखुल्डी पुर्ने र पानी जम्ने सामान हटाउने गर्नुपर्छ । सरकारी निकाय, स्थानीय तहका साथै आम सर्वसाधारणले आफ्ना घर, टोलमा लामखुट्टे बस्नमिल्ने गरी पानी जम्न नदिने हो भने डेंगु संक्रमण कम गर्न सकिन्छ ।






कमेन्टसहरु




2584286 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top