Sajhakura Dainik - तीज गीतमा मौलिकता
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

तीज गीतमा मौलिकता


हाम्रो कुरा 9 पटक पढिएको


यस वर्षको तीज आउन करिब ३ साता बाँकी छ । महिलाहरुको विशेÈ चाडको रुपमा तीजलाई लिने गरिन्छ ।

तीजको अवसर पारेर नेपाली सांगीतिक क्षेत्रमा थुप्रै गीतसंगीत सार्वजनिक हुने गरेका छन् । नारी वेदनासँग जोडिएको यो पर्वमा गाइने मौलिक गीत प्रचलनमा भए पनि आजभोलि तीजको नाममा रत्यौली र ठट्यौली गीतलाई महत्व दिइँदा तीज गीतको मौलिकता लोप हुने अवस्थामा पुगेको छ । तीज पर्वभन्दा करिब दुई महिना अघिदेखि दिनहुँ दर्जनौं तीज गीत युट्युबमा सार्वजनिक हुने गरेका छन् । तीज गीतको नाममा गाइएका र अभिनय गरेका गीतहरु भद्दा, छाडा, अश्लील र तीजको मर्मविपरित पाइनुले यसको मौलिकतामा ह्रास हुँदै गएको छ । तीजको नाममा भइरहेको सांगीतिक क्षेत्रको यस्तो विकृतिविरुद्ध सामान्य चर्चा हुने गरे पनि यसको न्यूनीकरणका लागि गम्भीर समीक्षा भने हुन सकेको पाइँदैन । सांगीतिक बजारमा तीज गीत सार्वजनिक गर्नेको लर्कोमा पुराना तथा नयाँ कलाकार सबै छन् । चलेका कलाकार तथा नवोदित कलाकार एउटै मैदानमा प्रतिस्पर्धामा रहेको सांगीतिक बजार नयाँ–नयाँ स्वादका गीतहरु त आएका छन् तर तीनको प्रभावका बिषयमा भने निकै कम मूल्याङकन हुने गरेको छ । पछिल्लो समय युट्युबमा तीज गीतको नाममा सार्वजनिक भएका गीतहरुमा तीजको मर्म तथा मौलिकता नभएका गीतहरु नै बढी पाइने गरिएको छ । यसले नेपाली गीत संगीतको यात्रा कतातिर मोडिँदैछ भन्नेतर्फ व्यापक चर्चा र चासो दिनुपर्ने देखिन्छ । तीजको बेला नारीका बेदनामा आधारित रहेर गीत गाउने र पीडाले भरिएको मन हलुंगो बनाउने गरिन्छ । तर पछिल्लो समय तीज गीतको नाममा देखिएको विकृतिलाई सार्वजनिक भएका गीतहरुले उजागर गरिरहेका छन् । तीज पर्वको सांस्कृतिक महत्व तथा यसको मौलिकता जगेर्ना गर्न तथा समाज रुपान्तरणका लागि तीज गीतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा समाजमा विकृति बढाउनेतर्फ अग्रसर हुनु पक्कै राम्रो हुनेछैन । गीत संंगीतको माध्यमबाट समाजमा सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक चेतना अभिवृद्धिका लागि प्रशस्त सम्भावना भए पनि नेपाली गीत संगीत पछिल्लो समय विकृतिको बाटोमा अघि बढ्नु विडम्बना हो । नेपालमा गीत लेख्न, गाउन, भिडियो बनाउन, अभिनय गर्न पूर्ण स्वतन्त्रता भएका कारण यसमा विकृति बढिरहेको मान्न सकिन्छ । गीतमा प्रयोग भएका शब्द, लय, स्वर, अभिनयको अनुगमन तथा नियमनका लागि सरकारले अग्रसरता देखाउनु पर्छ । तीज गीतमा देखिएको विकृतिले नकारात्मक सन्देश प्रवाह गरी समाजलाई गलत बाटोमा लैजान बेर लाग्दैन । विगतका वर्षहरुमा भन्दा यसवर्ष सार्वजनिक भएका गीतहरुमा मौलिकता रहेको पाइए पनि केही गीतहरु विकृत छन् । चाडपर्वको नाममा विकृतिलाई बढावा दिने क्रियाकलाप कसैबाट हुनु हुँदैन । हरेक चाडपर्वको आ–आफ्नै धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य मान्यता हुन्छन् । चाडपर्वको असल मूल्य मान्यताको पालना गरेर राम्रो उद्देश्यबाट यससँग जोडिएका क्रियाकलाप गर्नुपर्छ । तीज पर्व र यससँग जोडिएका दुःख, पीडा र वेदनाले ग्रसित बनेका दिदीबहिनीको व्यथालाई उजागर गर्न तीज गीतलाई माध्यम बनाउनु आवश्यक छ ।






कमेन्टसहरु




2584348 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top