Sajhakura Dainik - निजामती सेवामा आध्यात्मिकताको अभ्यास
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
बिचार

निजामती सेवामा आध्यात्मिकताको अभ्यास


बिचार 47 पटक पढिएको


लक्ष्मीविलास कोइराला सार्वजनिक प्रशासनमा कमाण्ड एण्ड कन्ट्रोलको बर्चस्वमा स्खलन भएको छ र सो ठाउँ मानवता र आध्यात्मिकताले लिँदै गइरहेको छ ।

 कार्यस्थलमा आध्यात्मिकताको अभ्यास सार्वजनिक प्रशासनमा महत्वपूर्ण सिद्धान्तको रुपमा देखिएको छ । आत्माबाट आध्यात्मिकता बनेको हो । आत्मा भनेको चेतनशील चैतन्य तत्व हो, जसले शरीरलाई जीवित, प्राणमय र क्रियाशील राख्दछ । आत्मा परमान्दको रुप हो। अर्थात् आत्मा व्यापक हुन्छ, चेतन हुन्छ तर नाशवान हुँदैन । आत्मा अभौतिक हो, जसले न्याय र सत्यमा विश्वास गर्दछ । 

आत्माले परमशक्तिमा विश्वास गर्दै अदृश्य शक्तिको विश्लेषण गर्दछ । प्रत्येक सत्यको रहस्यको अनुबोध आत्मामा हुन्छ । आत्माबाट नै आध्यात्मिक दर्शन बनेको हो । सत्य पहिचान गर्नु आत्मामा विश्वास गर्नु अर्थात् आत्माज्ञानी हुनु आध्यात्मिक दिक्षा प्राप्त गर्नु हो । आत्माले कर्मेन्द्रीय र ज्ञोनेन्द्रीयहरुको परिचालन गर्दछ । आत्मा कर्मेन्द्रीय र ज्ञोनेन्द्रीयहरुको मालिक हो, शासक हो र आधिष्ठाता पनि हो । कर्मेन्द्रीय र ज्ञानेन्द्रीयहरुको कर्मभन्दा माथि निर्लोभ, निर्मोह र निष्पृह रहने भावको वकालत गर्ने दर्शन नै आध्यात्मिकता हो । आध्यात्मिकताको दर्शनबाट व्यक्ति काम, क्रोध, लोभ र मोहबाट टाढा रहन अर्थात् व्यक्ति मुक्त रहन सक्षम हुन सक्दछ । 

आत्मा सत्य बोध हो । सत्य पहिचान गर्नु आत्मज्ञानी बन्नु हो । जे सत्य छ, त्यो निःसन्देह हुन्छ । सत्यलाई कसैले नियन्त्रण गर्न सक्दैन, कहीँ कसैले क्षणिक भ्रममा कैद गरे पनि । सत्यको विकल्प पनि सत्य नै हो । मान्छेको उमेर बढ्दै जानु सत्य हो । तर मान्छे छिटो बुढो भएकोमा नै चिन्तित बन्दै मेकअप श्रृंगार गरेर सत्य छोप्ने आडम्बर गर्छ, तर त्यो धेरै टिक्दैन । प्रत्येक सत्यको रहस्यको अनुबोध आत्मामा हुन्छ । यसकारण आत्मा दुःखसुखको समान प्रतिक्रियामा निर्लिप्त हुन्छ । सबै जीव जीवात्माबीच अन्तरसम्बन्ध र अन्तरनिर्भरता 

रहन्छ भन्ने विश्वास गर्दछ । प्रत्येक वस्तु र जीवको उद्देश्य र अर्थ रहन्छ भन्ने वकालत गर्दछ । हरेक कर्मको उद्देश्य हुन्छ भन्छ । अदृश्य शक्तिमा विश्वास गर्दछ । आत्मा छुन नसकिने तर अनुभव गर्न सकिने अद्वितीय शक्ति हो । जुन आध्यात्मिकताको आधार हो । 

कर्मेन्द्रीय र ज्ञानेन्द्रीयहरुको कर्मभन्दा माथि अदृश्य, अमूक, अपारदर्शी स्वभावको तर भावनाबाट प्रेरित कार्यबाट सन्तुष्ट हुने र निर्लोभ, निर्मोह र निष्पृह रहने भावको वकालत गर्ने दर्शन आध्यात्मिकता हो । यसले व्यक्तिलाई काम, क्रोध, लोभ र मोहबाट टाढा अर्थात् मुक्त राख्दछ । व्यक्तिलाई आत्मिकतुष्टिको अवस्थामा पु¥याई आफैंलाई चिन्न बुझ्नसक्ने ज्ञानी बनाउँछ । धार्मिक विश्लेषणले आस्तिकमा धर्मका गुण र सिद्धान्त मान्ने र नास्तिकमा यथार्थ जीवनका दृश्य तथा दृष्टि र दृष्टिकोण मान्ने र अपनाउने चिन्तन पाइन्छ भन्ने विश्वास गर्दछ । यद्यपि आत्माले व्यक्तिको मन पूर्णरुपेण नियन्त्रण गर्न सकेको हुँदैन र त मानिस लोभी, कामी, दुःखी, क्रोधी, र तनावयुक्त हुन्छ ।

पदार्थवादी चिन्तनले प्रमाणमा आधारित कार्य वा घटना वा चिन्तनमा विश्वास गर्दछ । जसले देख्ने, सुन्ने, स्वाद लिने, छुने, वास्ना सुध्नेजस्ता बाह्य देखिने तत्वमा आधारित हुन्छ । आध्यात्मिक चिन्तन दृश्यभन्दा अदृश्य तथा कर्मेन्द्रीयको अनुभवभन्दा धेरै माथिको चिन्तन हो, आत्माको आवाज हो। मानव लोभ, मोह, काम र क्रोधबाट मुक्त भएको अवस्था हो । चिन्तन भावनामा व्यक्त हुन्छ । सकारात्मक सोचाईको प्रवद्र्धन गर्दछ । व्यक्तिको जीवनको, सोचको र कार्यको रुपान्तरण गर्दछ । 

धर्मको साथै आध्यात्मिक विश्लेषणले अदृश्य शक्तिमा विश्वास गर्ने, अदृश्य शक्तिको भावानुभूति गर्ने र यथार्थवादी दैनिक जीवनका पक्षहरुमा चिन्तन गर्ने खेमाको विश्लेषण गर्दछ । व्यक्तिको आफ्नो बारेमा, कामको बारेमा र संगठनकको बारेमा सोच्ने दृष्टिकोण नै परिवर्तन गर्दछ । पदार्थवादी (यथार्थवादी) चिन्तन गर्नेहरु दुःख, द्वन्द्व र तनावमा परेको समयमा आध्यात्मिकताले सत्यको विश्लेषण, अदृश्य शक्ति अर्थात् भगवानको उपस्थितिको ज्ञान तथा प्रार्थनाको सम्प्रेषणबाट मनवीय असन्तुलित व्यवहार उपचार गर्छ भन्ने मान्यता राख्दछ । आध्यात्मिकतालाई आजकल संस्थागत धर्मको रुपमा विश्लेषण र प्रयोग गर्न थालिएको छ ।

निजामती सेवामा आध्यात्मिकता 

निजामती कर्मचारीले जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्नुपर्नाले सबै सरकारी संगठनमा आध्यात्मिक संस्कृतिको निर्माण, विकास र अभ्यास आवश्यक हुन्छ । यसप्रकारको आध्यात्मिक संस्कृतिले संगठनमा तनावको स्थानमा आनन्द, द्वन्द्वको ठाउँमा मिलाप र सामूहिकता तथा प्रक्रियाको स्थानमा परिणामलाई जोड दिन्छ । ‘आध्यात्मिकता एट निजामती सेवा’ प्रशासन व्यवस्थापनको नवीन अभ्यास हो, जसले जीवनको उद्देश्य, कामको अर्थ र परिणाम खोज्ने गर्दछ। यसकारण आधुनिक व्यवस्थापनमा संगठन अर्थात् कार्यस्थलमा आध्यात्मिकताको अभ्यास अलग्गै सिद्धान्तको रुपमा अंगीकार गरिएको पाइन्छ। 

परिवर्तनशील समाजमा आध्यात्मिकताको बेग्लै स्थान बन्दै गएको छ । आध्यात्मिकताको ज्ञान र अवलम्बनले व्यक्तिलाई शालीन, स्थीर, लक्ष्य केन्द्रित, उत्पे्ररित र उदात्त बनाउँछ । आध्यात्मिक संगठनले कर्मचारीलाई आफ्नो कार्यको उद्देश्य, लक्ष्य पहिचान र सम्पादन गर्न उद्दत गर्छ र सहयोग गदर्छ । कार्यस्थल आध्यात्मिकताले कर्मचारीहरुको भित्री जीवनको अस्तित्व स्वीकार गर्दै सो को प्रवद्र्धन संगठनमा गरिने अर्थपूर्ण क्रिया र रेखदेखले हुने विश्वास गर्दछ । आध्यात्मिकताको अभ्यास गर्ने संगठनले मान्छेमा दिमाग र आत्मा हुने कारण उसले सधैँ आफ्नो कार्य वा कर्मको अर्थ र उद्देश्य खोज्दछ भन्ने मान्यतामा सो परिपूर्ति गर्न सहयोग गर्दछ । 

कर्मचारीको बाह्य जीवनको पनि संगठनले ख्याल गर्न सक्दैन । किनकि बाह्य जीवनमा ऊ संगठनको नियमले बाँधिएको हुँदैन र संगठन कर्मचारीको बाह्य जीवनको खर्च व्यहोर्न सक्षम पनि हुँदैन आध्यात्मिकतालाई कार्यस्थलमा किन अपनाउने भन्ने मत पनि पाइन्छ । यद्यपि कार्यस्थलमा आध्यात्मिकता अभ्यास आधुनिक संगठनमा कामको अर्थ खोज्ने, संगठनमा नयाँ–नयाँ खोजको प्रवद्र्धन, सञ्चारको माध्यम कामसँग जोड्ने, आफू र अरुलाई समान र मर्यादित व्यवहार गर्ने, सहभागितामूलक कार्य गर्ने, सकारात्मकताको विकास, परिवर्तनलाई आत्मसात गर्ने, खुसी जीवन प्रबद्र्धन गर्ने र आफूले आफैंलाई चिन्नेजस्ता सिद्धान्तहरुले महत्वपूर्ण भएको पुष्टि गर्दछन् ।

आध्यात्मिक संगठनको विकास र अभ्यासले संगठनलाई अन्य संगठनभन्दा भिन्न बनाएको हुन्छ, यसर्थ आध्यात्मिक संगठन चिनिने केही खास विशेषताहरु रहेका हुन्छन् । संगठनको उद्देश्य प्रस्ट ज्ञान, संगठनको मूल्य र उद्देश्य कर्मचारीलाई स्पस्ट ज्ञान हुने र परिणाम खोज्ने, व्यक्तिको विकासमा जोड, कर्मचारी संगठनको मूल्यवान तत्व हो । यसकारण कर्मचारीको सीप विकास उनीहरुको जागिरको सुरक्षा र वृत्ति विकासमा जोड दिने, संगठनमा खुला र सम्मानपूर्ण वातावरण, संगठनका सदस्यहरुबीच आपसी विश्वास र सहयोग, इमान्दारिता र खुलापनको विशेषता रहने, कर्मचारी सशक्तिकरण, कर्मचारीलाई कामको सन्दर्भमा निर्णय लिने स्वतन्त्रता र आवश्यक अधिकारको प्रत्यायोजन, नेतृत्वले कर्मचारीलाई विश्वास गर्ने वातावरण हुने, कर्मचारीको संवेगको सम्मान आध्यात्मिक संगठनले कर्मचारीको संवेग÷भावनालाई सम्मान गर्ने आफ्नो अनुभव सुनाउन प्रेरित गरिने तथा मानव सम्बन्धको प्रवद्र्धन हुने कार्यस्थल आध्यात्मिकताका चरित्र हुन् । 

तनाव आध्यात्मिक ज्ञानको अभावको परिणाम हो । तनाव घटना होइन, घटनाप्रति व्यक्तिले प्रकट गर्ने प्रतिक्रिया हो । हरेक घटनाप्रति व्यक्ति व्यक्तिको सोच, हेराई र प्रतिक्रिया पनि फरक–फरक हुन्छ । कसैले घटनालाई सहज र सामान्यरुपमा लिन्छ, त कसैले तनावको रुपमा । तनाव मान्छेको प्राकृतिकरुपमा पाइने एक लक्षण हो । अर्थात्, तनाव संवेग र उत्तेजनाको परिणाम हो । व्यक्ति आफ्नो अगाडि रहेको महत्वपूर्ण अवसर प्राप्त गर्न चाहन्छ, तर सोमा रुकावट आएको खण्डमा व्यक्ति तनावमा पर्दछ । तनावका स्रोतहरु वातावरण, संंगठन र व्यक्तिभित्रै रहेका हुन्छन् । 

निजामती सेवामा कर्मचारीलाई अवसरको उपयोग गर्न रुकावट भएमा, संगठनको संरचनागत एवम् र्कायविधि परिवर्तनबाट जिम्मेवारीमा परिवर्तन भएमा, जिम्मेवारी र उत्तरदायित्व धेरै भएमा, ज्ञान र सीप अपर्याप्त भएमा, संगठनमा विभेदपूर्ण व्यवहार गरिएमा तथा पारिवारिक दायित्व र सामथ्र्यता तनावका स्रोत हुन् । तनाव, भ्रष्टाचार र उत्पादकत्वबीच अन्तरसम्बन्ध र अन्तरनिर्भरता रहेको हुन्छ । तनावले केही समय ऊर्जा दिन्छ, क्रियाशीलता बढाउँछ र उपलब्धि हासिल गर्न सहयोग पनि पु¥याउँछ । तर तनावको समयमा नै व्यवस्थापन गर्न सकिएन भने त्यसले नकारात्मक परिणाम दिन्छ ।  

आध्यात्मिकताको अभ्यास

आध्यात्मिकताको ज्ञान हासिल गर्नु भनेको आफैंले आफैंलाई चिन्न र नियन्त्रण गर्न सक्नु हो । आध्यात्मिकताको अभ्यासले कर्मचारीमा सुख दुःख आपसमा बाँड्ने क्षमता र वातावरण निर्माण गरी कर्मचारीलाई सदैब प्रफुल्ल राख्दछ । यसर्थ, मानिसलाई कामप्रति उत्प्रेरक बनाउन र तनावमुक्त राख्न निजामती सेवामा मानवोचित व्यवहार र आध्यात्मिकता अवलम्बनले महत्वपूर्ण भूमिका खेल्न सक्दछ भन्ने विश्वास बढ्दै गएको छ । आध्यात्मिकताको ज्ञान र अभ्यासले कर्मचारीमा आफ्नो कर्मको उद्देश्य खोज्न, संगठनप्रति अपनत्व भाव सिर्जना गर्न, कार्यसम्पादनमा सामूहिकता बढाउन तथा आपसी अन्तरसम्बन्ध र कार्यसन्तुष्टि अभिबृद्धि गर्न सहयोग गर्दछ ।कार्यस्थलमा आध्यात्मिकताका तीन आयामहरु आफ्नो कामको अर्थ, समूहभाव र भित्री जीवनको सम्बन्ध अर्थात् जोडाई हुन्छन् । हरेक व्यक्तिको जीवनको आफ्नै परिभाषा हुन्छ, आफ्नै गुण हुन्छ । व्यक्तिको गुण कार्यस्थलसम्म साथसाथै हुन्छ । व्यक्तिलाई निर्देशन गर्ने, बुझेको अनुभव गराउने, अन्तरआत्मा अर्थात् अदृश्य शक्ति, महाशक्तिसँग सम्बन्ध जोड्ने सिद्धान्त आध्यात्मिकता हो । आध्यात्मिकता मान्छेको जन्मजात गुण पनि हो । आध्यात्मिकताको ठाडो सम्बन्ध ईश्वरसँग हुन्छ भने समतल सम्बन्ध संगठन वा समाजका आम सदस्यसँग हुुन्छ । कार्यस्थलमा आध्यात्मिकताको अभ्यासले संगठनका कर्मचारीले संगठनमा काम गर्दागर्दै आध्यात्मिकताको ठाडो र समतल डाइमेन्सनमा आफ्नो रेखदेख, सम्मान हुने र उपलब्धि पाउने विश्वास पैदा गर्छ । आध्यात्मिकताको अभ्यासले व्यक्तिमा सहनशीलता, धैर्यता, आपसी अन्तरसम्बन्ध, कामप्रति सम्मान र सकारात्मक सोचको अभिबृद्धि गर्दछ । अर्थात् आध्यात्मिकताको सिञ्चनले संगठन र व्यक्ति दुबैले समाजमा अर्थपूर्ण योगदान दिन र सफलता प्राप्त गर्नको लागि आध्यात्मिक पथमा परिणाममुखी कार्यसम्पादन गर्दछन् । खासमा आध्यात्मिकताको अभ्यासले मानिसमा मानिससँग मात्र नभएर अदृश्य महाशक्तिसँग सम्बन्ध जोडिएको अनुभूति हुन्छ र आफ्नो जीवन र जगत (संगठन) प्रति अपनत्वको भावना जागृत हुन जान्छ । 

आध्यात्मिक ज्ञान प्रत्येक व्यक्ति झैं निजामती कर्मचारीको व्यक्तित्व विकासको पनि आधारभूत तत्व हो । संगठन र व्यक्ति दुबै सत्य, इमान्दारिता, सकारात्मक सोचबाट बृहत् भलाईमा केन्द्रित हुनुपर्ने आजको माग हो । कार्यस्थलमा आध्यात्मिकताको सिद्धान्तले व्यक्ति जे भयो सो भयो सच्याउन सकिँदैन, जो भयो ठीक भयोजस्ता मूल्यवान दर्शन र इश्वरीय शक्ति, सकारात्मक सोच तथा अरुलाई चोट नपु¥याउने अद्वितीय गुणबाट सिञ्चित हुन्छ । कार्यस्थलमा आध्यात्मिकताले प्रत्येक व्यक्तिको मूल्य, मान्यता र दृष्टिकोणको उच्च सम्मान गर्न सिकाउँछ । 

संगठनको उद्देश्य र मूल्यका सम्बन्धमा कर्मचारीलाई स्पष्ट ज्ञान, दर्शन र निर्देशन दिन्छ । संगठनमा मानवीय मूल्य, मान्यता र अप्ठयाराहरुलाई बुझ्ने र तदनुरुप व्यवहार गर्ने अन्तारनुभूति विकास गर्दछ । व्यक्तिको वृत्ति विकासमा जोड दिन्छ, संगठनमा खुला र सम्मानपूर्ण वातावरण प्रर्वद्धन गर्छ । कर्मचारीको संवेगको सम्मान र कर्मचारी सशक्तिकरणलाई सशक्त बनाउँछ । अर्थात्, आध्यात्मिक संगठनले कर्मचारीको संवेग÷भावनालाई सम्मान गर्र्दै मानव सम्बन्धको प्रवद्र्धन गरी संंगठनलाई सफलउन्मुख गराउँछ । 

कर्मचारीको कार्यस्थलबाहिर पनि जीवन हुन्छ भन्ने मान्यतामा तनावको स्रोत पहिल्याई उपचार गर्ने, कर्मचारीको तनाव कम गर्न काउन्सेलिङका कार्यक्रमहरु सञ्चालन गर्ने, कार्यालयको काम र कर्मचारीको परिवारलाई एकीकृत गर्ने खालका विचार आदानप्रदानका कार्यक्रमहरु सञ्चालन गर्ने र आध्यात्मिक ज्ञानको सम्प्रेषण तथा कर्मचारीको दैनिक जीवनलाई आध्यात्मिक जीवनशैलीमा रुपान्तरण गर्ने व्यवस्थापन प्रणाली विकास गर्नुपर्दछ । 

जीवनको उद्देश्य, कर्मको अर्थ, नैतिकताका अभ्यास र आपसी विश्वासले व्यक्तिलाई परमानन्दसँग जोडिएको अनुभूति दिन्छ । व्यक्तिको जीवनमा सबै प्रकारका खराब आचरण, व्यवहार र अभ्यास नियन्त्रण गर्न स्वअनुशासन, स्वंनियन्त्रण स्वलक्ष्य आवश्यक मानिएको हुन्छ । स्वनियन्त्रणका लागि आध्यात्मिक शिक्षा जरुरी हुन्छ । संगठनमा आध्यात्मिक संस्कृतिले कर्मचारीलाई आफ्नो कामको उद्देश्य स्पष्ट गर्दछ, कर्मचारीको क्षमता विकासमा जोड दिन्छ, कर्मचारीलाई कार्यसम्पादन गर्न अधिकार प्रत्यायोजन गर्दछ । कर्मचारीको संवेगको कुशल व्यवस्थापन गर्दछ । कर्मचारीबीच खुला र हार्दिक सम्बन्ध प्रवद्र्धन गर्दछ । आध्यात्मिक संगठनले कर्मचारीलाई महाशक्ति, अदृश्य शक्तिको महत्व बुझाउँदै कर्मचारीलाई बृहत्तर हीतउन्मुख हुन सिकाउँछ । 

आध्यात्मिकताको अभ्यासले व्यक्तिलाई आफ्नो नीहित स्वार्थभन्दा माथि उठेर सोच्न, निर्णय गर्न पालना गर्न सक्षम बनाउँछ । संगठनमा जीवनको लक्ष्य र उद्देश्य खोज्दछ र अर्को कर्मचारीसँग घुलमिल भई संगठनात्मक समुदायको सदस्य बन्दछ । कर्मचारी जीवनको उद्देश्य र अर्थ, संगठनको उद्देश्यमा देखेपछि व्यक्ति स्वतः सिर्जनात्मक, स्वयम्उत्प्रेरित र स्वयम्लक्ष्यउन्मुख हुन्छ । आध्यात्मिक ज्ञान र संस्कृतिले मानिसलाई बितेका कुरामा नपछुताउन, भएको घटना सही थियो भन्ने स्वतः र स्वयम् सम्झाई बुझाई ज्ञानार्जन गर्न सक्षम बनाउँछ । आध्यात्मिक ज्ञानले व्यक्तिलाई ध्यान र उपासना गर्न प्रेरित गर्दछ । ध्यान र उपासनाले कर्मचारीमा प्रफुल्लता बढाई नवीन सोच सिर्जना गर्न प्रेरित गर्दछ । 

संगठनमा आध्यात्मिक दर्शनको अभ्यास गर्ने, कर्मचारीलाई आध्यात्मिक उपचारशैली अवलम्बन गर्न सचेत गर्ने, चाखलाग्दा कामहरु गर्ने वातावरण निर्माण गराउने, स्वस्थ जीवन पद्धतिका लागि कर्मचारीलाई प्रेरित गर्ने तथा योग, ध्यान साधना केन्द्रको व्यवस्था गर्नुपर्दछ । संगठनको संस्कृति आध्यात्मिक बनाउनु पर्दछ । व्यक्तिले आध्यात्मिक दर्शनको ज्ञान लिने र अभ्यास गर्नुका साथै स्वअनुशासनमा बस्ने, सत्य जान्ने, समय व्यवस्थापन गर्ने, आनन्द लिने, पारिवारिक सुसम्बन्ध कायम गर्ने तथा कामगर्दा बेलाबखतमा छुट्टी लिने र मन बहलाउने गर्नुपर्दछ ।

खासमा, आध्यात्मिकताले व्यक्तिलाई घटनाको आलोचनात्मक मूल्यांकन गर्न सक्षम बनाउँछ र सत्यको शाश्वत ज्ञान दिन्छ । कर्मचारी कर्मको उद्देश्य जान्ने, कर्म गर्न उत्प्रेरित हुने, निर्लाेभी मन लिएर अदृश्य शक्ति तथा कर्मचारी कर्मचारीबीच अन्तरजोडाई कायम गर्ने, द्वन्द्वात्मक परिस्थिति आउन नदिने र आपसमा मेलमिलाप र समूहकार्य गर्ने वातावरणको निर्माण गर्ने कर्मचारीलाई स्वार्थभन्दा माथि उठ्न सक्षम बनाउने र कर्मबाट प्राप्त हुने परिणामलाई लिएर नपछुताउने परिस्थिति बन्ने कारण कर्मचारीमा सन्तुष्टि प्राप्त हुने गर्दछ । यसकारण आजभोलि कार्यस्थलमा आध्यात्मिकताको महत्व बढ्दै 

गएको छ ।






कमेन्टसहरु




2639748 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top