Sajhakura Dainik - पूर्वाधार विकासलाई प्राथमिकता दिने गरी योजना बनाउन सुझाव
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साझा सरोकार

पूर्वाधार विकासलाई प्राथमिकता दिने गरी योजना बनाउन सुझाव


साझा सरोकार 37 पटक पढिएको


हेटौंडा÷प्रदेश–३ को योजना आयोगमा उपाध्यक्ष बिहिनताको अवस्थामा प्रथम आवधिक योजनाको विस्तृतीकरणको लागि सुझाव संकलन गरिएको छ ।

 यसअघि प्रदेशको पहिलो पञ्चवर्षीय योजनाको आधारपत्र तयार गरी पारित गरिएकोमा त्यसको विस्तृततीकरणको लागि भन्दै पुनः सांसदहरुको सुझाव लिइएको हो ।

बिहीबार हेटौंडामा आयोजित छलफलमा सांसदहरुले पूर्वाधार विकासलाई प्राथमिकता दिएर योजना बनाइनुपर्नेमा जोड दिएका छन् । योजना आयोगले ‘स्मार्ट’ योजना तथा नीति बनाउनुपर्नेमा उनीहरुको जोड थियो ।काँग्रेस प्रमुख सचेतक राधा घलेले आवधिक योजनाको लक्ष्य प्राप्तिका लागि सबै क्षेत्रको पूर्वाधारको समग्रमा विकास हुनुपर्ने भन्दै  पूर्वाधारलाई पर्यटनसँग जोड्नुपर्ने बताइन् । पूर्वाधारलाई पर्यटनसँग जोडेर काम गर्ने हो भने समग्र विकास हुने उनको भनाइ छ । 

सांसद् लालकुमारी पुनले ग्रामीण जनसंख्याको बसाईंसराई दर उच्च रहेको भन्दै उनले गाउ“मा नै रोक्ने गरी पूर्वाधार विकासका योजनाहरु ल्याउन आयोगलाई सुझाव दिइन् ।

सांसद राजन दाहालले आवधिक योजनाले उर्जा क्षेत्रलाई छुटाएको भन्दै प्रदेश ३ को विकासका लागि उर्जा महत्वपूर्ण पूर्वाधार भएकोले समेट्न सुझाव दिए। प्रदेशसभा सदस्य मीना ज्ञवालीले स्थानीयकरण गरेर काम गर्नुपर्नेमा जोड दिइन् । योजना आयोगले तयार गरेको आवधिक योजनाको अवधारणा पत्रलाई स्थानीयकरण गर्न जरुरी रहेको उनले औंल्याइन् । स्थानीय तहमा पुगेर योजना कार्यान्वयन हुँदा मात्रै सबै विषयहरु समेटिने उनको ठम्म्याई थियो ।

आयोगले विकासका लागि पाँचवटा प्रमुख चालकको रुपमा पूर्वाधार, कृषि, मानव संशाधन, उद्योग र पर्यटनलाई अघि सारेको छ । प्रथम आवधिक योजनाको अन्त्यसम्म प्रदेश ३ मा ११ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य लिइएको नीति तथा योजना आयोगका सदस्य डा. 

रामचन्द्र ढकालले जानकारी दिए । 

समन्वय र सहकार्य, रणनीतिक महत्वका आयोजनाहरुमा लगानी र परिणाममुखी शासन प्र्रणालीलाई अवधारणापत्रले समष्टिगत रणनीतिको रुपमा अघि सारेको छ ।

सांसदहरुले एकीकृत कृषि पूर्वाधार र सामूहिक खेतीमा रणनीतिक योजना बनाउन आयोगलाई सुझाव दिएका छन् । सांसद केशवराज पाण्डेले सामूहिक खेतीका लागि स्थान पहिचान गर्दै लगानीका लागि प्रदेश सरकारले भूमिका खेल्नु पर्नेमा जोड दिए । 

सांसद् नरोत्तम बैद्यले एउटा जिल्लामा एउटा विषयको प्रवद्र्धन गर्नु पर्नेमा जोड दिूदै पशुपति नाथको मन्दिरलाई प्रदेश सरकारको मातहतमा ल्याएर व्यवस्थित गर्दै धार्मिक पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताए । ‘भारतीय प्रधानमन्त्रीले समेत मानेको पशुपतिलाई प्रदेश ३ सरकारले चिन्न सकेन । पशुपतिको बार्षिक आम्दानी करिब डेढ अर्ब रुपैयाँ रहेको छ । हामीलाई धार्मिक पर्यटन प्रबद्र्धन गर्दै पशुपतिलाई प्रदेश मातहतमा ल्याएको खण्डमा आर्थिकरुपमा प्रदेश बलियो हुँदै जानेछ ।’ सांसद रमेश पौडेलले कुरा मात्रै धेरै भएको भन्दै महत्वका साथ उठाइएको परियोजना बैंकलाई नसमेटिएको बताए ।

प्रदेश तीनको नीति तथा योजना आयोगको उपाध्यक्ष पद रिक्त रहेकै अवस्थामा महत्वपूर्ण कार्यक्रमको आयोजना गरिएको हो । नीति तथा योजना आयोगकै आयोजनामा आवधिक योजनालाई पूर्णता दिने तयारी सुरु गरिएको हो । तत्कालीन उपाध्यक्ष खिमलाल देवकोटाको अग्रसरतामा तयार 

गरिएको प्रथम आवधिक योजनालाई अझै पूर्णता दिने गरी काम गरिरहेको आयोगले जनाएको छ । देवकोटाको राजीनामा स्वीकृत भइसकेपछि हालसम्म आयोग नेतृत्वबिहिन छ ।





कमेन्टसहरु




2639718 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top