Sajhakura Dainik - मानव बेचबिखन नियन्त्रण गरौं
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

मानव बेचबिखन नियन्त्रण गरौं


हाम्रो कुरा 38 पटक पढिएको


आज भदौ २० गते मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

 यस वर्षको दिवसको राष्ट्रिय नारा ‘सरकारको प्रतिबद्धता ः मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यवद्धता’ रहेको छ । मानव बेचविखनतथा ओसारपसार विरुद्धको दिवसलाई सप्ताहव्यापीरुपमा विभिन्न सचेतनात्मक तथा सृजनात्मक कार्यक्रम आयोजना गर्दै अभियानमूलक तवरले कार्यक्रम गरी मनाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आह्वान गरेको छ । दिवसका लागि निर्धारण गरिएको नाराले बोकेको भावनाअनुरुप नेपाल सरकार, विकास साझेदार संस्था, गैरसरकारी संघसंस्था, नागरिक समाज, सामाजिक अभियन्ता एवम् सरोकारवालाहरू सबैमा मानव बेचविखन तथा ओसारपसारजस्तो जघन्य अपराधलाई निर्मूलीकरणमा सहयोग गर्न दिवस मनाउन आग्रह गरिएको छ । सार्क राष्ट्रहरुबीच यौन शोषणको लागि महिला तथा बालबालिका बेचबिखन गर्ने कार्यको बिरुद्घमा आपसी सहयोग तथा ऐक्यबद्धता जनाउन सार्कको ११ औँ सम्मेलनबाट ‘बेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन बिरुद्घको सार्क महासन्धि २००२’ पारित भएको थियो । सो महासन्धिलाई तत्कालीन व्यवस्थापिका संसदबाट २०६३ भदौ २० गते अनुमोदन भयो । उक्त महासन्धि अनुमोदन भएको दिनको स्मरणमा मिति २०६४ सालबाट मानव बेचबिखन बिरुद्घको राष्ट्रिय दिवस मनाउने गरिएको छ । मानव जीवनकै कलंकका रुपमा रहेको मानव बेचबिखन मुलुकको ठूलो सामाजिक समस्या बनेको छ । जघन्य सामाजिक अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकार र विभिन्न गैरसरकारी संघसंस्थाले सक्रियता बढाए पनि नियन्त्रण हुन सकेको छैन । नेपालको संविधानको भाग ३ मौलिक हक र कर्तव्यअन्तर्गत् धारा ३८ मा महिलाको हक र धारा २९ मा शोषणविरुद्धको हकलाई सुनिश्चित गर्दै मानिसलाई बेचबिखन गर्न, दास तथा बाँधा बनाउन पाइनेछैन भनी मानव बेचबिखनविरुद्धको कार्यलाई मौलिक हकका रुपमा समावेश गरिएको छ । यस्तै, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ लगायत ऐन÷कानून भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा मानव बेचबिखनलगायतका आपराधिक क्रियाकलाप बढ्दै गएको छ । विश्व बजारमा श्रमको बढ्दो मागसँगै मानव बेचबिखन तथा ओसारपसार बढ्दै गएको छ । हाम्रो देशबाट पनि कानूनी तथा गैरकानूनीरुपमा वैदेशिक रोजगारीमा गएका महिलाहरु बढीमात्रामा बेचविखनमा परेको पाइन्छ । आर्थिक र सामाजिकरुपमा बहिष्कृत, शिक्षा आर्जनमा संलग्न नभएका, अन्य व्यक्तिको साथ नपाएका, बेरोजगार १८ वर्षमाथिका महिला सबैभन्दा बढी बेचबिखनको जोखिममा रहेका छन् । बेचविखनमा परेकाहरु चरम शारीरिक, मानसिक र आर्थिक शोषणमा पर्दछन् । यसैले विभिन्न क्षेत्रबाट मानव बेचबिखन न्यूनीकरणका प्रयासहरु प्रभावकारी बनाइनुपर्छ । बढ्दो मानव बेचविखन रोक्न विशेषगरी किशोरी तथा महिलालाई यसबारे सचेतनासँगै बेचविखन तथा ओसारपसारमा संलग्नलाई प्रभावकारी कानूनी कारबाही हुनुपर्छ ।






कमेन्टसहरु




2639757 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top