Sajhakura Dainik - दूर्घटना रोक्न पहल आवश्यक
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

दूर्घटना रोक्न पहल आवश्यक


हाम्रो कुरा 49 पटक पढिएको


प्रदेश ३ को अस्थायी राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो सडकमा दूर्घटनाको जोखिम बढ्दै गएको छ ।

 हेटौंडामात्र नभई मध्ये तराईका पर्सा, बारा, रौतहट र सर्लाहीसम्मका बासिन्दाको लागि छिटो काठमाडौं जाने बाटोको रुपमा प्रयोग हुँदै आएको हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं मार्गमा दूर्घटनाको सम्भावना निकै बढी देखिन्छ । शुक्रबारमात्रै उक्त सडकको देउराली–भीमफेदी खण्डको जुरिखेतमा टाटा सुमो दूर्घटना हुँदा ३ जनाको ज्यान गयो भने ८ जनो घाइते भए । सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना १ ज ३६४० नम्बरको सुमो शुक्रबार अपराह्न दूर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । हेटौंडा–काठमाडौंको यात्राको समय कम गर्न महत्वपूर्ण भए पनि निकै साँघुरो र घुमाउरो उक्त सडकमा सवारी चाप बढ्दै गएको र पुराना सुमो जिपहरु निर्वाध सञ्चालन भइरहँदा दूर्घटनाको जोखिम बढ्दै गएको छ । हेटौंडाबाट करिब ४ घण्टामा काठमाडौं पुग्न सकिने उक्त बाटो सञ्चालनमा आएपछि एकै दिनमा काठमाडौं पुगेर आवश्यक काम गरी बेलुका फर्कन सकिने अवस्था बनेको छ । यसले यात्रुलाई धेरै सुविधा भए पनि बढ्दो सवारी चाप तथा अप्ठेरो बाटोका कारण सवारी दूर्घटनाको जोखिम अत्यधिक रहेको छ । विशेषगरी उक्त बाटोको भीमफेदीदेखि कुलेखानीसम्मको १६ किलोमिटरको यात्रा बढी जोखिमपूर्ण रहेको छ । भीमफेदीदेखि देउरालीहुँदै कुलेखानीसम्मको बाटो अत्यधिक उकालो–ओरालो, साँघुरो र घुमाउरो छ । कुलेखानी जलविद्युत् आयोजना निर्माणक्रममा उक्त आयोजनाको जलाशय इन्द्रसरोबर र निबुवाटारस्थित कार्यालय आउजाउ गर्न बनाएको बाटोलाई प्रयोग गरेर सार्वजनकि यातायात सञ्चालन गरिएको हो । करिब डेढ दशकदेखि साना सार्वजनिक यातायातका लागि खुला 

गरिएको उक्त बाटोमा अहिले दैनिक हजारौं साना सवारी आवातजावत गर्दछन् । सुरुमा कुलेखानी–फाखेल–फर्पिङ ग्रामीण सडकसँग जोडेर यातायात सञ्चालन गरिएकोमा करिब ५ वर्षदेखि कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डसँग जोडेर यो सडकलाई सडक विभागअन्तर्गत् राजमार्गकै रुपमा प्रयोग गरिएको छ । पहिलो विद्युत् प्राधिकरणकै स्वामित्वमा रहेको भीमफेदी–कुलेखानी सडकखण्डमा प्राधिकरणबाट पास बनाएर केही निजी सवारी सञ्चालन हुने गर्दथ्यो । पछि प्राधिकरणले सार्वजनिक (भाडाका) सवारीलाई पनि पास दिएर उक्त बाटो प्रयोग गर्न दियो भने सडक विभाग मातहत आएपछि निर्वाध साना सवारी सञ्चालन हुँदा दूर्घटनाको जोखिम बढेर गएको छ ।चाडपर्व नजिकिएसँगै बढ्ने यात्रु चापका कारण झनै साना सवारीले एकै दिन दुई–तीन पटकसम्म यात्रु ओसार्न तँछाडमछाड गर्नेक्रम बढ्नेछ । उक्त मार्गमा बढ्दो दूर्घटनालाई मध्यनजर गरी लागू गरिएको टाइमकार्ड पनि प्रभावकारी हुन सकेको देखिँदैन । अप्ठेरो बाटोमा धेरै सवारी सञ्चालन हुँदा र तीब्र गतिमा सवारी चलाउँदा दूर्घटनाको जोखिम हुन्छ नै । अर्कोतर्फ उक्त बाटोमा गुड्ने अधिकांश सवारी साधन जीर्ण हुँदै गएकाले प्राविधिक त्रुटीबाट हुने दूर्घटनाको सम्भावना पनि उत्तिकै देखिन्छ । सम्भावित दूर्घटना न्यूनीकरणका लागि सम्बद्ध निकाय गम्भीर बन्नु आवश्यक छ ।






कमेन्टसहरु




2639716 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top