Sajhakura Dainik - सन्दर्भ ः १०६ औ“ बीपी जयन्ती बीपी व्यक्ति एक, विशेषता अनेक
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
बिचार

सन्दर्भ ः १०६ औ“ बीपी जयन्ती बीपी व्यक्ति एक, विशेषता अनेक


बिचार 25 पटक पढिएको


विनोदचन्द्र कोइराला / जव व्यक्ति जीवन, मृत्यु, डर, त्रास, लोभ, लालच, पद, प्रतिष्ठा, मान, अपमान, प्रशंसा, निन्दा, जस, अबजस आदि मानवीय कमजोरीबाट माथि उठेर ‘मानव कल्याण’ एकमात्र उद्देश्य लिएर हिँड्दछ, ऊ महामानव बन्दछ ।

 उपरोक्त सबै गुण भएका व्यक्ति पाउनु विरलै हुन्छ । तिनै विरलै पाइने व्यक्तिमध्येका एक हुन्, विश्वेश्वरप्रसाद (बीपी) कोइराला । 

बीपी जीवन, मृत्यु तथा डर, त्रासभन्दा माथि घटना–१ ः कोशीमा बाढीको प्रकोप थियो । पिताजी, काका, भान्दाइ र हामी केटाकेटीहरु एउटा ठूलो नाउँमा कुन्नि कहाँबाट आइरहेका थियौँ । काकाले अचानक आज्ञा दिनुभयो– ‘ढुण्डीराज पानीमा हामफाल ¤’ ढाकु दाजुले भयग्रस्त भएर नाकेस्वरमा भन्नुभयो– पानी अथाह छ । म डुब्छु ।’ ढाकु दाजुलाई काकाले बडो अनुशासनमा राख्नु भएको थियो । त्यसो हुनाले म बडो आश्चार्यका साथ ढाकु दाजुको त्यस्तो अनुशासनहिन अवज्ञालाई हेरिरहेको थिएँ कि पिताजीले आज्ञा दिनुभो– विश्वेश्वर नदीमा हामफाल । मैले केही आनाकानी नगरी तत्क्षण कोशीमा हामफालेँ । मलाई राम्ररी पौडिन आउँदैनथ्यो र तत्क्षण मेरो सहायताका लागि माझीहरु पनि हामफाले । मेरो कुनै क्षति भएन । मैले त्यत्तिले नै अनुशासन भाव र पितृ आदेश पालनको ख्याति आर्जन गरेँ । (बीपी कोइराला– आफ्नो कथा पाना १३२)

घटना–२ ःबीपी निर्वासनमा हुनुहुन्थ्यो । देशभित्र बीपीमाथि मृत्युदण्ड नै हुने किसिमले विभिन्न ७ वटा अपराध गरेको भनि मुद्दा दायर गरिएको थियो । देशको अस्तित्व नै संकटमा परेको मूल्यांकन गरेर बीपी स्वदेश फर्कने निर्णय गर्नुुभयो । धेरैले मृत्युदण्ड हुनसक्छ त्यसैले नफर्कने सल्लाह दिए । तर बीपीले मान्नु भएन । भन्नुभयो– ‘म एकजना मरेर केही फरक पर्दैन, देश बाँच्नु पर्दछ । तसर्थ देश बचाउनकै लागि म फर्कन्छु । म मरेर यदि देश बचेछ या बचाउन सकेछु भने त्यो मेरो लागि गौरवको कुरा हुनेछ’ भन्दै २०३३ साल पौष १६ गते बीपी स्वदेश फर्कनु भयो । यसको अलावा २९ दिनको भोक हड्ताल, कालकोठरीमा मृत्युदण्डको त्रास आदि सयौँ घटनाहरुले पनि बीपीलाई आफ्नो उद्देश्यबाट विचलित गराउन सकेन । तसर्थ बीपी जीवन, मृत्यु वा डर, त्रासबाट माथि उठेको मानव अर्थात् महामानव हुनु हुन्थ्यो ।

बीपी लोभ, लालच, पद, प्रतिष्ठाभन्दा माथि

पिताजी कृष्णप्रसाद कोइराला बन्दी जीवन बिताइरहेको अवस्थामा बहादुर शाहले माफी मागेर जेलमुक्त हुन पिताजीलाई भन्दा पिताजीको यस्तो जवाफ थियो– भयको सीमा मृत्यु हो । म मृत्युदेखि नै डराउन्न भने यो निरर्थक प्रयास किन ? रह्यो मेरो छोराहरुको कुरा, मैले जन्माएका छोराहरु मेरो औरस सन्तान हुन् भने यो अन्यायको प्रतिकार अवश्य नै गर्लान् ।’ पिताजीको जस्तो अडान थियो, बीपीमा त्यहि गुण पाइन्छ । अर्थात् पिताजीले आफ्ना 

छोराहरु जस्तो बनाउन चाहनु हुन्थ्यो, बीपी त्यस्तै भएर निस्कनु भयो । अर्थात् लोभ, लालच, पद, प्रतिष्ठा आदिभन्दा माथि । राजा महेन्द्र वा वीरेन्द्रले समेत उनीहरुलाई समर्थन सहयोग गर्ने शर्तमा बीपीलाई आजन्म प्रधानमन्त्रीको लालच देखाइएको थियो भन्ने कुरा त विभिन्न समयमा उजागर भएकै सत्य हुन् । हिन्दूस्तानमा निर्वासनमा रहँदा इन्दिरा गान्धीले बीपीलाई आजन्म प्रधानमन्त्री बनाइदिने प्रस्ताव गर्दा किन नस्वीकारेको ? भन्ने प्रश्नमा बीपीको जवाफ भनेर वरिष्ठ पत्रकार मणिराज उपाध्यायले नेपाल साप्ताहिकमा लेखेका छन्– ‘इन्दिरा गान्धीको कुरा मान्ने हो भने म भोलि नै मुलुकको प्रधानमन्त्री बन्न सक्छु । तर, प्रधानमन्त्री भइसकेपछि मैले कसको कुरा मान्ने ? नेपाली जनताको कि इन्दिरा गान्धीको ? (नेपाल साप्ताहिक, श्रावण १३)राजा त्रिभुवनले उपहारस्वरुप गाडी दिन खोज्दा बीपीले अस्वीकार गरेको कुरा होस् वा अन्य कतिपय घटना परिघटनाहरुले पटक–पटक पुष्टि गरेका छन्, बीपी लोभ, लालच एवम् पद, प्रतिष्ठाभन्दा माथि उठेर जनता र राष्ट्रहितमा चिन्तित हुनु हुन्थ्यो ।

बीपी मान–अपमान, जस–अपजस, प्रशंसा–निन्दाभन्दा माथि

बन्दी अवस्थामा राणाहरुको टर्चर धेरै सहेको बृत्तान्त बीपीले लेख्नु भएको छ । ‘बाहुन गद्दीमा बस्न त पुर्पुरोमा लेखेर आउनु पर्छ’जस्ता अपमानजनित व्यवहार सहे बीपीले तर आफ्नो उद्देश्यबाट टसमस भएनन् । बीपीले भन्नु भएको छ– ‘व्यक्तिगत दृष्टिबाट मलाई जतिसुकै कष्ट पुगेको होस् अथवा मेरो आस्थामा जत्रोसुकै ठूलो चोट पुगेका होस्, पौष १ को घटनाले ममाथि जस्तो ठूलो विश्वासघात गरिएको होस् कि देशमा राजा र संसद दुबैको राम्रो सम्बन्ध भएको प्रजातान्त्रिक प्रणालीको आवश्यकता छ ।’ (जेल जर्नल– २१) २०३३ पौष १६ गते ‘राजाको गर्धनसँग मेरो गर्धन जोडिएको छ भन्ने कुराले होस् वा पौष १ को घटनापछि दिएको उल्लेखित प्रतिक्रियाले होस् । जनमतसंग्रहमा बिनाशर्त जाने कुरामा होस् कि जनमतसंग्रहको परिणाम स्वीकार गरेको कुरामा होस्, बीपीमाथि आलोचना र अपजस थोपर्ने पर्याप्त प्रयत्न भए । तर ती सबै कुरा सहेर सबैलाई आफ्नो तर्कद्वारा सन्तुष्ट बनाउन सक्नुभयो । कसैमाथि रिस, राग, द्वेष राख्नु भएन । आफ्नो प्रशंसा त उहाँले सुन्नै चाहनु भएन । आलोचनात्मक टिप्पणी सुन्न चाहनुहुन्थ्यो, जसबाट आफू सुध्र्रिन सकियोस् । बामपन्थी पत्रकार मदनमणि दीक्षितलाई आर्थिक सहयोग गरेर आफ्नो सरकारको कमजोरी उजागर गरी समाचार वा लेखहरु लेख्न प्रेरित गर्नु भएको कुरा त हामीले पढेकै हो । अन्तमा, बीपीले राष्ट्र संघमा दिएको वक्तव्यको एक अंश, जसले बीपीको अन्तर्राष्ट्रिय व्यक्तित्वलाई झल्काउँदछ । ‘यद्यपि हामी भारतीय, अमेरिकी, सोभियत संघ र बेलायतजस्ता मित्र सरकार र अरु संस्थाहरु (जस्तो कि राष्ट्र संघ) को सहयोगको स्वागत गर्छौँ र यो सहयोगप्रति कृतज्ञ छौँ । तर हामी कुनै देशले ‘नेपालले के सोच्नु पर्दछ, वा के गर्नु पर्दछ भनेको सुन्न चाहँदैनौँ ।’ (कान्तिपुर, भाद्र २४, २०७१)राष्ट्र संघजस्तो ठूलो मञ्च प्रयोग गरी दिएको यो हुंकारबाट विश्व राजनीतिमा दक्षिण एसियाबाट आफू निर्विकल्प एकमात्र नेता भएको ठान्ने नेहरुलाई चस्का परेको र २०१७ साल पौष १ गते ल्याउन भूमिका खेलेकोबारे समेत उक्त आलेखमा उल्लेख गरिएको छ । साहित्य र राजनीतिलाई एकको प्रभाव अर्कोमा पर्न नदिई मानव कल्याणको एकमात्र उद्देश्यका साथ सम्पूर्ण जीवन अर्पित गर्ने बहुआयामिक व्यक्तित्वका धनी महामानवप्रति सादर श्रद्धा सुमनअर्पण गर्दै यो आलेख अन्त गर्दछु । (कोइराला बीपी विचार समाज, मकवानपुरका अध्यक्ष हुन्)





कमेन्टसहरु




2639783 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top