हेटौंडा÷कुष्माण्ड नवमीको अवसरमा हेटौंडा–९ स्थित कुष्माण्ड सरोबर त्रिवेणीधाममा बुधबार कुष्माण्ड मेला लागेको छ ।
       मेलामा करिब दशहजार भक्तजनले पूजाआजका साथै कुभिन्डो दान गरेको अनुमान गरिएको कुष्माण्ड सरोबर त्रिवेणीधामका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार कात्तिक शुल्क नवमीको दिनमा धाममा विशेष मेला लाग्ने गरेको छ । कुभिन्डो दान गरेमा पृथ्वी दान गरेबराबरको फल प्राप्त हुने र मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास रहेको छ । ‘यस दिनमा कुष्माण्ड भगवतीको पूजाआजा गरी विष्णु भगवानलाई कुभिन्डो दान गरे पूण्य प्राप्ती हुने धार्मिक विश्वास छ ।’, उनले  नवदूर्गाको चौथो स्वरुप कुष्माण्ड भगवतीले विष्णुको तपस्या गरी सिद्धि प्राप्त भएको दिनको स्मरणमा पूजा अर्चना गरी कुभिन्डो दान गर्ने प्रचलन सुरु भएको हो ।अहिले त्रिवेणीधाम स्थापना गरिएकै स्थानमा कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धी प्राप्त भएको स्कन्द पुराणको हिमवत खण्डमा उल्लेख रहेको उनले बताए । रत्न, कर्णा र कौशवाही नदीको संगमस्थल त्रिवेणाीधाममा २०६६ सालदेखि हरेक वर्ष कुष्माण्ड मेला लाग्ने गरेको छ । कात्तिक शुल्क नवमीकै दिनदेखि सत्य युगको गणना सुरु भएको पनि धार्मिक मान्यता रहेको छ । मेलामा करिब १० हजारभन्दा बढी भक्तजनले कुभिन्डो दान गरेको अनुमान गरिएको छ । गतवर्षको मेलामा करिब आठ हजारभन्दा बढी भक्तजनले कुभिन्डो दान गरेका थिए । मेलामा दान पेटिका, भक्तजनको भेटी लगायतगरी गतवर्ष धामले एकलाख १४ हजार तीनसय २५ रुपैयाँ दान संकलन गरेको थियो । 
        यसवर्ष पनि सोभन्दा बढी नै दान संकलन भएको अनुमान गरिएको छ । त्रिवेणी धाममा मंसिरमा बाला चतुदर्शी मेला, माघमा एक महिना माघी मेला लाग्ने गर्दछ । नाग पञ्चमी, जनैपूर्णिमा, मातातिर्थ औंशी लगायतमा धाममा विशेष मेला तथा पूजाआजा हुने गरेको छ । धाम मकवानपुरको धार्मिक गन्तव्यको रुपमा विकास हुँदै गरेको नयाँ स्थान हो । मेलामा भारतलगायत छिमेकी जिल्ला, बारा, पर्सा, रौतहट, चितवन तथा काठमाडौंलगायत स्थानबाट भक्तजनहरु सवारी नै रिजर्भ गरेर समेत आएका थिए ।