हेटौंडा/ भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारबाट शनिबार राति एकजना कैदी पर्खाल नाघेर भागेका छन् ।कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका कुलदिपराज धामी पर्खाल नाघेर शनिबार राति फरार भएको कारागार प्रमुख जेलर प्रकाश खनालले जानकारी दिए । उनका अनुसार कारागारको १२ फिटभन्दा अग्लो पर्खाल नाघेर धामी भागेको प्रारम्भीक अनुसन्धानबाट देखिएपनि थप अनुसन्धान भइरहेको र अन्य कैदीको सहयोगबाट भागेको हुनसक्ने अनुमान गरिएको छ । कारागारमा रहेका कैदीहरुको आन्तरिक प्रशासनले राती पौने १० बजे खबर गरेपछि उनी भागेको थाहा भएको र तत्कालले खोजी कार्य अघि बढाइएको भएपनि हालसम्म नभेटिएको जेलर खनालले बताए । ‘एक्लैले त्यो पर्खाल नाघ्न सक्ने देखिूदैन । अन्य कैदीहरुबाट पनि सहयोग भएको हुनुपर्छ ।’, जेलर खनालले पर्खालको सानो भागमा ग्याप रहेका र त्यहाँ तार तानिएको भेटिएकाले धामी त्यहिँबाट भागेको हुन सक्ने अनुमान गरिएको जानकारी दिए ।

भरतपुर जेलबाट १५ महिना अघि भीमफेदी कारागार आएका धामी क्षेत्रीय कारागार भीमफेदीको ‘क’ ब्लकका सहनाईके समेत हुन् । उनका अनुसार कारागारको सीसी क्यामेरामा शनिबार राति साढे ८ बजेसम्म देखिएको र करिब ९ बजेको भागिएको अनुमान गरिएको छ । ‘प्रत्येक साूझ ५ बजे कैदीको रोलकल हुन्छ । उक्त रोल कलमा उनी शनिबार सहभागी थिए ।’, जेलर खनालले धामीको खोजीका लागि उनको स्थायी घर चितवन र पुरानो ठेगाना सुनसरीमा समेत अर्लट गरिएको बताए । ‘घटना हुनेबित्तिकै प्रहरीको सहयोगमा रातभर र दिनभर खोजी कार्य गरिएको छ । मैले पौने दशबजे मात्र थाहा पाएको थिएँ।’, उनले भने । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय काटिरहेका थिए । कारागारको सुरक्षा सशस्त्र प्रहरीले गरिरहेको छ । यस विषयमा थप अनुसन्धान गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । ‘हामीले स्थलगत अनुसन्धान अगाडि बढाइसकेका छौं । छिट्टै निष्कर्षमा पुग्ने विश्वास लिइएको छ ।’, उनले भने ।प्रमुख जिल्ला अधिकारी प्रेमकुमार जोशीले उक्त घटना भएसँगै कारागारको सुरक्षामा कडाई गरिएको बताए । ‘सुरक्षा अभवस्था पहिला पनि मजबुत नै थियो ।

तर, अब थप शतर्कता अप्नाएका छौं । आवश्यक पर्दा सुरक्षा बढाउन प्रशासन तयार रहेको छ ।’, प्रजिअ जोशीले घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली खोजी र अनुसन्धान सुरु गरिसकेको बताए । ‘पर्खालको बीचमा एक स्थानमा मान्छे छिर्न सक्ने प्वाल देखिन्छ । त्यहीबाट भागेको अनुमान गरिएको छ ।’, प्रजिअ जोशीले कारागारको सुरक्षामा सशस्त्र प्रहरीका नायब उपरीक्षकको नेतृत्वमा ६० जना र नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षकको कमाण्डमा आठजनाको प्रहरी युनिट कारागारभित्र रहेको बताए ।‘कारागारभित्र शंकास्पद कैदीबन्दीसूग पनि अनुसन्धान तथा सोधपुछ भइरहेको छ ।’, जेलर खनालका अनुसार कारागारमा एकहजार चारजना कैदीबन्दी रहेका छन् ।