हेटौंडा/लामो समयदेखि बहसमा रहेको प्रदेशको स्थायी राजधानी र नामाकरणबारे राजनीतिक सहमति बनिसकेको प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले दावी गरेका छन् । अबको प्रदेशसभा बैठकबाट राजधानी र नामाकरणको विषय टुङ्गो लाग्ने पौडेलले विश्वास दिलाए ।

गण्डकी प्रदेशको सभामुखसहितको टोलीसग सोमबार आफ्नो कार्यकक्षमा भेटघाट गर्दै मुख्यन्त्री पौडेलले काठमाडौं उपत्यकाबाहिर नै राजधानी राख्ने सहमति भएको बताए । उनले स्थायी राजधानी कहाँ हुने र नाम के हुने भन्नेबारेमा भने खुलाउन चाहेनन् । ‘निकै धेरै छलफलपछि प्रदेशको नाम र राजधानीको टुङ्गो लगाएका छौं । अबको प्रदेशसभा बैठकबाट टुङ्गो लाग्छ ।’ मुख्यमन्त्री पौडेलले भने । गण्डकी प्रदेशसको भ्रमण टोलीको स्थायी राजधानीबारेको जिज्ञासामा मुख्यमन्त्री पौडेलले परिपक्व निर्णयका लागि सबैको सहमति लिँदा केही ढिलाई भएको जानकारी गराए । बहुमत भएकै आधारमा हचुवाको भरमा राजधानी टुंगो लगाउँदा दीगो नहुने भएका कारण धेरै छलफल र बहस गरी सहमति जुटाइएको मुख्यमन्त्रीको भनाइ थियो । राजधानी र नामाकरणबारे चाँडै नै टुङ्गो लाग्ने बताउँदै आएका मुख्यमन्त्री पौडेलले अब बस्ने प्रदेशसभा बैठकको पहिलो एजेण्डा नै राजधानी र नामाकरण हुनेमा विश्वास दिलाए ।

प्रदेशको राजधानी उपत्यका बाहिर नै रहने मुख्यमन्त्रीले बताए । विकेन्द्रीकरणको अभ्यास गर्नेबारे मुलुकमा ठूलो संघर्ष भएको भन्दै पौडेलले उपत्यकामै राजधानी हुनुपर्छ भन्ने धारणा गलत भएको बताए । ‘धेरै सांसद् उपत्यकाभित्रै भएका कारण आफ्नो सहजताका लागि काठमाडौं वरपर नै राजधानी राख्न चाहन्थे तर अब उपत्यकाबाहिरै राजधानी राख्नुपर्ने कारणबारे हामीले उहाँहरुलाई कन्भिन्स गराएका छौं ।’ मुख्यमन्त्री पौडेलले भने ।स्थायी राजधानीको बारेमा प्रदेशसभाले समिति नै बनाएको थियो । समितिले प्रस्तावित जिल्लाहरुको अध्ययन गरी प्रतिवेदन पेश गरिसकेको छ । राजधानी र नामाकरण टुङ्ग्याउने कार्यविधि पनि प्रदेशसभाबाट पारित भइसकेको छ । वर्षे अधिवेशनभित्रै राजधानीको टुंगो लगाउन दबाब रहे पनि प्रदेश सरकारले तयारी नपुगेको भन्दै हिँउदे अधिवेशनबाट टुंगो लगाउने प्रतिवद्धता जनाएको थियो ।

गण्डकी प्रदेशबाट आएको भ्रमण टोलीको स्वागत गर्दै मुख्यमन्त्री पौडेलले संघीयताको कार्यान्वयनको क्रममा विभिन्न किसिमका अप्ठ्याराहरुको सामना गर्नुपरे पनि अहिले भने विस्तारै सहज बन्दै गएको बताए । कर्मचारीको अभाव र आवश्यकता अनुसार ऐन कानुन नहुँदा केही कठिनाई भए पनि अहिले भने धेरै सहज वातावरण बन्दै गएको पौडेलले सुनाए । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी सहितको टोली प्रदेश ३ सरकारले गरिरहेको कामका बारेमा जानकारी लिनको लागि हेटौंडा आएको थियो । भ्रमण टोलीलाई प्रदेश ३ को कृषि, शिक्षा, स्वास्थ्यलगायतको नीति तथा कार्यक्रमको विषयमा जानकारी गराइएको थियो ।