हेटौंडा/ हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा एक महिने मकर मेला सुरु भएको छ । हेटौंडा –९, मा रहेको कुष्माण्ड सरोवर त्रिवेणीधाममा मकर मेला सुरु भएको हो ।

मकवानपुर जिल्ला सहित काठमाडौं, चितवन, बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरु बाट माघ महिनामा मकर मेलामा नुहाउन पूजापाठ गर्न भक्तजनहरु उक्त क्षेत्रमा आउने गरेका छन् । एक महिनाभर सञ्चालन हुने मेलामा नुहाउन पूजापाठ गर्न भक्तजनहरु आउने गर्दछन् । कुष्माण्ड सरोवर त्रिवेणी धाम व्यवथापन समितिका अध्यक्ष ईशवरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण भण्डारी, टोल विकास संस्था वडा समन्वय समिति ९ नम्बर वडाका अध्यक्ष यधुवंश खतिवडालगायतकाको उपस्थिति रहेको थियो । ुष्माण्ड सरोवर त्रिवेणीधाममा हरेक वर्ष माघ महिनाभर मेला लाग्ने मेलामा महिनाभर एकसय आठ गौमुखी धारामा मकर स्नान, दैनिक भागवत पाठपारायण, ख्यातीप्राप्त गुरुजनबाट दैनिक प्रवचन, भजन कीर्तन, साँझ आरती, सामूहिक ब्रतवन्ध गर्नेहरुको भिड लाग्ने गरेको छ । माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्ध क्षेत्र, पाण्डवहरुले श्राद्ध तर्पण गरेको, अम्बरीस राजाले भगवान विष्णुको आज्ञाले एकसय आठ धारामा स्नान गरी सन्तान लाभ भएकोलगायत विभिन्न रोग निदान भएको धर्मशास्त्रमा उल्लेख भएअनुसार यस क्षेत्रको महत्व रहेको छ । तीन नदीको संगमस्थलका साथै उत्तरबाहिनी नदीका कारण पनि त्यस क्षेत्रमा गरिने स्नानको विशेष महत्व छ ।