हेटौंडा/दक्षिण एसियाकै पहिलो मानवनिर्मित सवारीसाधन गुड्ने जीर्ण मकवानपुरको चुरियामाईस्थित चुरिया सुरुङमा डिल्ली जंग थापाको शालिक अनावरण गरिएको छ ।हेटौंडा–१५ मा चुरियामाई मन्दिर र भग्नावशेष सुरुङ छ । देशमा थुप्रै राजनीतिक
परिवर्तन भएपनि हालसम्म सवारी गुड्ने सुरुङ निर्माण हुन नसकेको अवस्थामा चुरिया सुरुङ भने १ सय वर्ष अगाडि नै निर्माण भइसकेको थियो । मकवानपुर र बाराको सिमाना पर्ने चुरियामाई मन्दिरसँगैको सुरुङ दक्षिण एसियाकै पहिलो भएको विश्वविख्यात भूगर्भविद् टोनी हेगनले आफ्नो पुस्तक ‘नेपाल’मा उल्लेख गरेका छन् ।
करिब ७ सय मिटर लामो सुरुङ नेपालका प्रथम ग्राजुएट सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्ली जंग थापाको डिजाइनमा निर्माण भएको थियो । थापाको डिजाइनमा ९ फिट चौडा र १० फिट अग्लो सुरुङको निर्माण सन् १९१७ मा गरिएको थियो । उनै इन्जिनियर थापाको अर्धकदको शालिक हेटौंडा उपमहानगरपालिकाले निर्माण गरेको छ । हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले थापाको शालिक अनावरण गरेका छन् ।
थापाकी नातिनी चन्द्र थापा राणाले शालिकमा माल्यापर्ण गरेकी छन् । इन्जिनियर थापाको शालिक अनावरणमा उनको उपलब्ध परिवार कार्यक्रममा सहभागी थिए । चुरियामाई सुरुङको संरक्षण र मन्दिर वरपर पानी खुवाउनेलगायतका हरेक क्षेत्रमा उपमहानगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख महतले बताए । दक्षिण एसीयामै पहिलो पटक सुरुङ निर्माण गर्ने थापाको इतिहासलाई जोगाउन उनको सम्झनामा शालिक स्थापना गरिएको महतको भनाइ छ ।
‘दक्षिण एसियाकै पहिलो मानवनिर्मित सुरुङ भएकाले यसलाई विश्वमाझ चिनाउन उपमहानगरपालिकाले विगतदेखि नै संरक्षण गर्दै आइरहेको छ। इन्जिनियर थापाको योगदानको कदर गर्दै उनको सम्झनामा शालिक स्थापना गरेका हौं ।’, महतले भने । प्रदेश
सरकार र उपमहानगरपालिकाले सुरुङको स्तरोन्नती गर्ने कार्यलाई अगाडि बढाएको नगर प्रमुख महतले बताएका छन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाध्यक्ष सबिन न्यौपाने, खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियर थापाले अमलेखगञ्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए । उक्त सडकमा पर्ने चुरिया सुरुङ खन्नुपर्ने वा बक्स कटिङ भएपछि उपकरण नभएकाले मानिसद्वारा सुरुङ खनिएको थियो । चुरियामाई मन्दिर पनि इन्जिनियर थापाले नै बनाएका हुन् । टोनी हेगनले भारत हुँदै नेपालको भ्रमण गर्ने क्रममा उक्त सुरुङबाट गाडि गुडाएर भीमफेदी पु¥याएका थिए । भीमफेदीबाट उनको गाडी पनि बोकेर काठमाडौं लगिएको थियो।
इन्जिनियर थापाले आफ्नो कार्यकालमा देशका १२ वटा महत्वपूर्ण संरचना संरचनालााई आकार दिएका छन् । हेटौंडा—काठमाडौं रोपवे, १९९० सालको भूकम्पपछि भत्किएको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौंमा रहेका राणाहरुका दरबार, नेपालको प्रथम रेलवे जनकपुर–जयनगरको पनि थापाले डिजाइन गरेको जनाइएको छ।