हेटौंडा/मकवानपुरमा साना तथा घरेलु उद्योगबाट करिब ४ करोड राजश्व संकलन गरिएको छ ।चालु आर्थिक वर्ष २०७७÷०७८ को ८ महिना अवधिमा ३ करोड ८६ लाख ४८ हजार राजश्व संकलन गरिएको साना तथा घरेलु उद्योग कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका अनुसार उद्योग प्रशासन र वाणिज्य प्रशासन गरी कुल राजश्व ३ करोड ८६ लाख ४८ हजार संकलन भएको हो । बजार अनुगमनतर्फ ६ लाख ७० हजार जरिवाना असुल गरेको कार्यालयका अधिकृत जगन्नाथ दाहालले जानकारी दिए ।
घरेलु तथा साना उद्योग कार्यालयमा चालु आर्थिक वर्षमा ८ सय ८८ वटा उद्योग दर्ता गरेको छ । २०७७÷०७८ को ८ महिनामा ८ सय ८८ वटा उद्योग दर्ता भएको तथ्यांकमा उल्लेख छ । कार्यालयले गत साउनदेखि फागुनसम्म उद्योगतर्फ ८ सय ८८ उद्योग दर्ता गरेको छ भने, वाणिज्यतर्फ ३ सय ९६ वटा पसलहरु दर्ता भएको छ । यसैगरी कार्यालयले गत साउन महिना देखी फागुन महिना सम्म ३८ वटा उद्योग खारेजी र बाणिज्यतर्फ ६६ वटाखारेजी गरेको जनाएको छ । यसैगरी कायालयले बागमती प्रदेश सरकारद्वारा उद्यमी व्यवसायहरुको लागी प्रदान गर्ने सहुलियत पुर्ण ऋण अन्तर्गत ७० जना उद्यमीलाई ऋणको लागी सिफारिस गरेको छ ।
कार्यालयले कृषि, पशुपालन, होटल टेलर, फर्निचरजस्ता पाँच लाखदेखि पाँच करोड रुपैयाँसम्म स्थिर पुँजी लगानी भएका उद्योग, व्यवसाय खोल्न घरेलु तथा साना उद्योग कार्यालयले अनुमति दिने गरेको छ । पछिल्लो समय जिल्लामा उद्यमशीलमा जोड दिइएको छ । स्थानीय तहले आफ्नो मातहतका क्षेत्रमा स्थानीयलाई उद्यमशील बनाउन विभिन्न योजना अघि बढाएका छन् । स्थानीय तहले ल्याएका योजना अनुसारनै आगामी बर्षभन्दा बढी राजश्व संकलन भएको कार्यालय अधिकृत दाहालले बताए ।