हेटौंडा/बागमती प्रदेश सरकारले एक अर्ब रुपैयाँ लगानीमा दशवटा शित भण्डार निर्माण गरिरहेको छ ।
किसानद्वारा उत्पादित तरकारी र फलफूल राख्न प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र साझोदार संस्थाहरुको लगानीमा शित भण्डार निर्माण भइरहेको हो । नुवाकोटसहित प्रदेशका अन्य जिल्लाहरुमा स्थानीय सहकारी संस्था तथा निजी कम्पनीहरुसँग साझेदारीमा शित भण्डार निर्माण भइरहेको छ । केही शित भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जानकारी दिएको छ । १० वटा शित भण्डारमध्ये थोरैको मात्रै निर्माण कार्य ५० प्रतिशत भन्दा कम रहेको जनाइएको छ ।
शित भण्डार नुहँदा उत्पादित तरकारी तथा फलफूल कुहिने समस्या अब संधैका लागि निराकरण हुने भएको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले बताए । ‘किसानका लागि गरिएको प्रदेश सरकारको धेरैवटा महत्वपूर्ण काममध्ये शितभण्डार पनि एक हो ।,’ मन्त्री लामाले भने । मन्त्रालयका अनुसार कुल ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लगानीमा शित भण्डार निर्माण भइरहेको हो । चितवनको खैरहनी नगरपालिका–६ मा मन्त्रालयको १२ करोड ९४ लाख ४२ हजार रुपैयाँ र स्थानीय साना किसान कृषि सहकारी संस्थाको लगानीमा शित भण्डार बनिरहेको छ । उक्त शित भण्डार वैशाखको तेस्रो सातासम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ मा पनि १५ सय मेट्रिक टन क्षमताको शित भण्डार निर्माण गर्न मन्त्रालयले १२ करोड ८३ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने गरी कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था लिमिटेडसँग साझेदारी गरेको छ । शितभण्डारको काम अन्तिम चरणमा रहेको छ । रसुवाको कालिका गाउँपालिका–२ मा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३ करोड ७० लाख ३५ हजार रुपैयाँ कुल लागतमा ३ सय मेट्रिक टन क्षमताको शित भण्डार निर्माण भइरहेको छ । शित भण्डार निर्माण हालसम्म ७० प्रतिशत भइसकेको मन्त्रालयले जनाएको छ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मा मुकुटेश्वर बहुउदेश्य कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ करोड ३० लाख ८० हजार रुपैयाँ लागतमा शितभण्डार निर्माण भइरहेको हो । ५ सय मेट्रिक टन क्षमताको शित भण्डार निर्माण ६९ प्रतिशत सम्पन्न भएको जनाइएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ गोल्मुथान कृषि सहकारी संस्थासँगको साझोदारीमा ५ करोड ३५ लाख १७ हजार रुपैयाँ लागतमा ५ सय मेट्रिक टन क्षमताको शित भण्डार निर्माण भइरहेको छ । यो शित भण्डारको काम ३४ प्रतिशत सकिएको छ ।
सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकाको पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिक टनको शित भण्डार ५ करोड ३५ लाख ४९ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको छ । यसको काम हालसम्म ४५ प्रतिशित भएको छ । दोलखाको जिरी नगरपालिका–५ जिरी कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिक टन क्षमताको शित भण्डार ५ करोड ३७ लाख १६ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको छ । रामेछापको मन्थली नगरपालिकामा पनि ५ करोड ३० लाख ९५ हजार रुपैयाँ लागतमा शित भण्डार निर्माण भइरहेको छ । ५ सय मेट्रिक टन क्षमताको शित भण्डारको काम ४० प्रतिशत सकिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नुवाकोटको दुई वटा नगरपालिकामा निजी कम्पनीसँगको साझेदारीमा शित भण्डार बनाइरहेको छ । प्रदेश र निजी कम्पनीको ५०÷५० प्रतिशत लागतमा बिदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१० मा ५ हजार मेट्रिक टनको शित भण्डार निर्माण भइरहेको हो । बिदुरमा २१ करोड ५२ लाख ८१ हजार रुपैयाँ र बेलकोटगढीमा २० करोड १२ लाख ७४ हजार रुपैयाँ लागतमा शित भण्डार निर्माण भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।