हेटौंडा/मकवानपुरका १० स्थानीय तहमध्ये कोरोना संक्रमणको जोखिमको आधारमा चार पालिकामा सोमबारदेखि निषेधाज्ञा जारी छ ।
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकासहित थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकामा संक्रमणको उच्च जोखिम छ । यी चारमध्ये पनि सबैभन्दा बढी जोखिममा हेटौंडा उपमहानगर छ । हेटौंडाको चारवटै दिशामा प्रहरी निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका छन् । तर, बजारका व्यापारिक सटरमात्रै बन्द भएका छन् भने बजारमा सर्वसाधारणको चहल– पहल बाक्लै छ । बजारका औषधी पसलबाहेक सबै सटर बन्द छ । व्यापारिक सटरहरु बन्द हुँदा हेटौंडामा निषेधाज्ञाको पूर्ण कार्यान्वयन भएको देखिए पनि सर्वसाधारणको चहलपहलले भने त्यस्तो लाग्दैन् । सर्वसाधारणहरु अनेक बहाना खोजेर प्रहरीलाई झुक्याउन खोजेको देखिन्छ ।
प्रहरीले अत्यावश्यक काम भएका नागरिकलाई भने सहजै आवतजावतको व्यवस्था मिलाएको छ । सोमबार निषेधाज्ञाकै क्रममा प्रहरीलाई औषधी किन्न जानेदेखि, पत्रकारको ज्याकेट लगाएकाले झुक्याएको पाइएको छ ।
हेटौंडा–१ चौकिटोलको प्रहरी चौकी छलेर बाइपास सडक हुँदै सामरी चिया खान जानेको संख्या पनि सानो छैन् । ३१ वैशाख मध्य राति १२ बजेसम्म गरिएको निषेधाज्ञा कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ । मकवानपुर प्रहरीले अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई अनावश्यक हिँड्ड्लमा कडाइ गरेको छ । तर, प्रहरीलाई छक्याउन सर्वसाधराणले अनेकन दाउ रचेको देखिन्छ सोमबार करिब १२ बजेको समयमा पहेँलो रंगको प्रेस ज्याकेट लगाएका एक युवकले मध्यान्ह मेनरोडमा रहेका प्रहरीलाई छल्न हेटौँडा–१०, राम मन्दिरको बाटो प्रयोग गरेको देखिएको छ । ती युवकले लगाएको ज्याकेटको अगाडि भागमा प्रेस लेखिएको छ भने पछाडि ‘लेन्स’ लेखिएको छ । युवक पत्रकार नभई फोटो स्टुडियोमा काम गर्ने खुलेको छ । बुद्धचोकमै एक युवकले महिला प्रहरीलाई औषधि लिन मेडिकल हिँडेको जवाफ दिए । महिला प्रहरीले चिकित्सकले लेखेको कार्ड देखाउन आग्रह गरिन् । युवकले भने, ‘औषधि सकिन लागेको छ । त्यही भएर बेलैमा औषधि लिन हिँडेको हुँ ।’ महिला प्रहरीले बट्टामा औषधि नै भएको भन्दै यसरी नहिँड्न आग्रह गर्दै छोडिन् ।
हेटौंडा–५, क्याम्पाडाँडा स्थित माछापालन क्षेत्रमा युवायुवती घुम्दै गरेको दृश्य पनि देखिएको छ । सर्वसाधारणका अनेक बहानाले प्रहरी नै आजित बनेको छ । बुद्ध चोकमै खटिएका एक प्रहरी भन्छन्, ‘मान्छेहरु थरीथरीका बहाना बनाउने रहेछन् । हस्पिटलमा बिरामी भेट्न, औषधी किन्न, तरकारी किन्न, आफू लाई जँचाउन भन्छन्, कोही खाने कुरा छैन, बैंक हिँडेको भन्छन् ।’, ती प्रहरीले भने, ‘कस्ले सत्य बोलेको छ, कस्लाई समस्या परेको छ हामीले कसरी बुझ्ने ।,’
मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगर–पालिका, मनहरी र भीमफेदी गाउँपालिकामा जोखिमका आधारमा निषेधाज्ञा लगाइएको छ । पूर्व–पश्चिम राजमार्गको ५ सय मिटर दायाँ–बायाँ निषेधाज्ञा लगाइएको छ । मकवानपुरमा अन्य ६ वटा स्थानीय तहमा संक्रमितको अवस्था र जोखिमका आधारमा निषेधाज्ञा लगाउने तयारी प्रशासनको छ ।