हेटौंडा÷मकवानपुरमा कोरोना संक्रमित बढेपछि जिल्ला प्रशासनले चार स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ। कोरोना महामारीको दोस्रो लहरका कारण मकवानपुरमा जोखिम कायमै छ ।
संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा र स्थानीय सरकारको आग्रहलाई वेवास्ता गर्दै गाउँमा लद्युवित्तले भने आतंक मच्चाएको छ ।
प्रशासनले निषेधाज्ञामा समूहगत छलफल, कुनै कार्यक्रम नगर्न निर्देशन जारी गरिरहँदा मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा भने लद्युवित्तले आतंक मच्चाएको नगरबासीले आरोप लगाएका छन् । थाहामा रहेको लद्युवित्तले संक्रमण रोकथामका लागि भूमिका खेल्नु पर्ने अवस्थामा उल्टै समूह सञ्चालन गरेर संक्रमणलाई बढावा दिने काम गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहा नगरपालिकासहित, हेटौंडा उपमहानगर– पालिका, मनहरी र भीमफेदी गाउँपालिकामा सोमबार बिहानदेखि निषेधाज्ञा जारी गरेको हो । जिल्लामा दैनिक संक्रमित बढ्नुका साथै मृत्यु दर पनि उकालो लाग्दै छ । तर, संक्रमणका कारण उत्पन्न विषम् परिस्थितिलाई ख्याल नै नगरी लद्युवित्त संस्थाहरुले समूह सञ्चालन गर्ने, भीडभाड बढाउने कार्य गरेको थाहाका पत्रकार कुमार नेगीले जानकारी दिए । उनले सरकारको निर्देशनलाई पालना गर्दै थाहा नगरपालिका–३ मा एक युवाले आफ्नो विवाह भोज नै स्थगित गरेको बेला लद्युवित्तले भने आफ्नो फाइदा मात्रै हेरेर समूह चलाएको बताए ।
‘समूहमा लघुवित्तको कार्यक्रम संचालन गर्ने केही वित्तीय संस्थाले सरकारको आदेशविपरीत गाउँगाउँमा बैठक (भेला) गरिरहेको पाइएको छ ।,’ नेगीले भने। उनले निषेधाज्ञाबीचमा लद्युवित्त लगायतका वित्तिय संस्थाहरुको कदमलाई अनुगमन गर्दै कारबाही गर्नुपर्ने बताएका छन् । थाहा नगरपालिकाले लघुवित्त संस्थाको समूह बैठकलाई अर्को सुचना नभएसम्म रोक्ने यसअघि नै निर्देशना जारी गरेको थियो । तर, लद्युवित्तहरुले निर्वाध समूह सञ्चालन गर्दा पनि नियमनकारी निकायले भने खासै चासो नदिएको पाइएको छ ।
थाहा नगरपालिकाको सर्वपक्षीय बैठकले गत शनिवार कोरोनाको जोखिम न्यूनिकरणका लागि तत्काल महिला समूहका बैठक स्थगन गर्ने निर्णय गरेको थियो । तर, कतिपय वित्तीय संस्थाहरुले आफुहरुलाई औपचारिक जानकारी नभएको भन्दै दैनिक रुपमा थाहा विभिन्न क्षेत्रमा बैठक जारी राखेको बुझिएको छ । थाहा नगरपालिकाको अधिकांश वडामा कोरोना संक्रमित भेटिएका छन् । सोमबारको तथ्यांक अनुसार थाहाको वडा नम्बर १ मा १०, २ मा ४, ३ मा ९, ४ मा ११ जना संक्रमित छन् । वडा नम्बर ५ मा २, ६ मा ७, ७ मा १, ९ मा २, १० मा १ र ११ मा ३ जना गरि ५० जना संक्रमित रहेको थाहा संक्रमणको उच्च जोखिमा छ ।
थाहाका नगर प्रमुख लवशेर विष्टले लद्युवित्त संस्थाहरुलाई सचेत गराएकोले मंगलबारबाट समूहगत छलफललगायतका कार्य रोक्ने प्रतिबद्धता जनाएको बताए । उनले सचेत गराउँदा पनि अटेर गर्ने लद्युवित्तलाई कानूनी दायरामा ल्याउने बताएका छन् । उनका अनुसार थाहाभित्र करिब ८ वटा लद्युवित्त संस्था सक्रिय छन् ।