हेटौंडा/हेटौंडामा कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको कोभिड वार्ड दुई दिनमै भरिएको छ ।
कोरोना संक्रमित बिरामी अप्रत्याशित रुपमा बढेसँगै हेटौंडामा उपचारका लागि निर्माण गरिएको कोभिड उपचार कक्ष सञ्चालनमा ल्याइएको दोस्रो दिनमै भरिएको हो । हेटौंडा अस्पतालमा रहेको भेन्टिलेटर सहितको ६ वटा आइसीयु र २४ बेडको एचडीयु गरी ३० बेडको उपचार कक्ष पूर्णरुपमा भरिएको छ।
हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा.सागर काफ्लेका अनुसार बाहिरी जिल्ला– बाट समेत बिरामीहरु उपचारका लागि हेटौंडा आइरहेका छन् ।
‘तराईमा संक्रमित बढिरहेका छन् । चितवनका अस्पतालहरुबाट रिफर गरिएका विरामी उपचारका लागि यहाँ नै आइरहेका छन् ।’,
उनले कोभिड संक्रमितको अवस्था हेर्दा ‘थेग्नै नसक्ने’ स्वास्थ्य सेवा पुगेको बताए । ‘हामीले असाध्यै जटिल संक्रमित मात्र भर्ना गरिहेका छौं । सामान्य लक्षण भएका संक्रमितलाई परामर्श सेवा प्रदान गरिरहेका छौं ।’
हेटौंडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट प्रविण श्रेष्ठले सक्रिय कोरोना संक्रमितको उपचार गर्न नसक्ने अवस्थामा पुगिसकेको बताए । ‘मकवानपुरका मात्र नभएर तराईका जिल्लाबाट समेत उपचार गराउन हेटौंडा आउनेको भीड लागेको छ । जसको कारणले गर्दा थप संक्रमित भर्ना लिन सक्ने अवस्थामा हामी छैनौं ।’, उनले भने, ‘हालकै अवस्थामा संक्रमित बढेको खण्डमा स्वास्थ्य अवस्था असाध्यै जटिल हुनेछ । हामी थेग्नै नसक्ने अवस्थामा पुगिसकेका छौं।’, मेसु श्रेष्ठका अनुसार हेटौंडा अस्पतालमा थप ४० बेडको कोभिड वार्ड निर्माणको सुरु गरिएको छ ।
हाल अस्पतालका ५० जना डाक्टर र ६६ जना नर्ससहित २ सय ५६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारका लागि दिनरात परिचालन भइरहेका छन् । ‘हामीले आफ्नो तर्फबाट शतप्रतिशत दिएर उपचार गरिरहेका छौं ।’, मेसु श्रेष्ठले हेटौंडामा कोरोना परीक्षणका लागि भीटीएमको अभाव देखिन थालेको बताए ।
‘तत्काललाई अक्सिजनको अभाव छैन । बेडको अभाव छ ।’, उनका अनुसार अब स्थानीय तहले तयार पारेको आइसोलेसनमा संक्रमित राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ । ‘आइसोलेसनमा रहेकामध्ये स्वास्थ्य अवस्था असाध्यै जटिल भएकालाई मात्र आईसीयुमा उपचार गर्ने वातावरण हामी बनाउँदैछौं ।’, उनले भने । जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता ठाकुरा पौडेलका अनुसार सोमबारसम्म मकवानपुरमा ७ सय ८६ जना सक्रिय कोरोना संक्रमित छन् ।
निषेधाज्ञा जारी
मकवानपुरका चारवटा स्थानीय तहमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना भाइरस नियन्त्रणका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा मकवानपुरको हेटौंडा उपमहानगर, मनहरी, भीमफेदी र थाहा नगरपालिकाका क्षेत्रमा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा गरिएको छ।
पूर्वपश्चिम राजमार्गको दायाँ–बायाँ पाँचसय मिटर वरपरसम्म निषेधाज्ञा गरिएको छ । निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजे सम्मका लागि जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
स्थानीय तहमा आइसोलेसन
कोरोना संक्रमित बढेसँगै मकवानपुरका स्थानीय तह धमाधम आइसोलेसन निर्माणमा जुटेका छन् । जिल्लाको दशवटा स्थानीय तहमध्ये आठ पालिकाले आइसोलेसन निर्माण गरेका छन् भने दुईवटाले अझै निर्माण गरेका छैनन् ।
हेटौंडा उपमहानगरले १ सय २० बेडको आइसोलेसन निर्माण गरेको छ । जिल्लामा सवैभन्दा बढी संक्रमित हेटौंडामा रहेका छन् । थाहा नगरपालिका, मकवानपुरगढी, बकैया, मनहरी, बागमती, राक्सिराङ, कैलाश गाउँपालिकामा गरी जिल्लाभर २ सय ८० बढी बेडको आइसोलेसन निर्माण भएको छ ।
इन्द्रसरोबर र भीमफेदी गाउँपालिकाले आइसोलेसन बनाउन सुरु गरेको छैन । हेटौंडामा १ सय २०, बकैया २०, थाहा ४०, मनहरी ४०, मकवानपुरगढी १५, इन्द्रसरोबर १२, बागमती १०, कैलाश १० र राक्सिराङ २० बेडको आइसोलेसन कक्ष निर्माण गरेको छ ।