हेटौंडा/हेटौंडामा सक्रिय कोरोना संक्रमित बढ्दै गएपछि कोभिड अस्पतालको रुपमा निजी अस्पताललाई प्रयोग गरिने भएको छ ।
जिल्लामा रहेको निजी अस्पताललाई क्रमशः आईसीयु सेवासहितको कोभिड अस्पतालको रुपमा प्रयोग गरिने भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा आईसीयु सेवा सहितको २५ बेडको कोरोना विशेष अस्पताल सञ्चालन गर्ने निर्णय
गरेको छ ।
‘सक्रिय संक्रमित बढिरहेका छन् । आईसीयुको अभाव नहोस् भने निजी अस्पताललाई पनि प्रयोग गर्न थालेका हौं।’, प्रजिअ भरतमणि पाण्डेले निजी अस्पताल एसोसिएसनसँग यस विषयमा समझदारी भइसकेको बताए ।
हाल हेटौंडा अस्पतालमा ७० बेडको आईसीयु कक्ष सञ्चालनमा रहेको छ । सञ्चालनमा ल्याइएको ३० बेडको आईसीय दुई दिनमै भरिएपछि अस्पतालमा थप ४० बेडको आईसीयु कक्ष सञ्चालनमा ल्याइएको थियो । ‘निजी अस्पतालको सहयोगमा कभर्ड हलमा पनि अक्सिजन सहितको बेडको व्यवस्था गर्दैछौं। यो महामारीको समयमा निजीक्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने हाम्रो योजना रहेको छ ।’, उनले भने ।
हेटौंडामा कोरोनाको दोस्रो लहरबाट ६ जनाले ज्यान गुमाइसकेका छन् भने कोरोना संक्रमितको संख्या सातसय नाघिसकेको छ । हेटौंडामा स्वास्थ्यकर्मीको अभाव हुन नदिन तत्काल हेटौंडा उपमहानगरपालिकाले स्वास्थ्यकर्मी नियुक्त गरी काजमा खटाइने भएको छ ।
‘प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा हामी करारमा स्वास्थ्यकर्मी समेत नियुक्त गर्दै जानेछौं ।’, प्रमुख जिल्ला अधिकारी पाण्डेले संक्रमितका लागि आवश्यक अक्सिजन र बेडको अभाव हुन नदिने गरी तयारी गरिएको बताए ।
हेटौंडामा अक्सिजनको अभाव हुन नदिन ‘अक्सिजन बैंक’ स्थापना गरिने भएको छ । ‘हेटौंडा औद्योगिक क्षेत्र हो । उद्योगहरुमा धेरै अक्सिजनका सिलिण्डरहरु छन् । हामीले उपलब्ध गराउने आग्रह गरिसकेका छौं ।’, प्रजिअ पाण्डेका अनुसार हेटौंडामा रहेका तीनजना सप्लायर्ससँग १५ सयवटा सिलिण्डर रहेको र सवैमा अक्सिजन भरिएको बताए । ‘हेटौंडामा अक्सिजनको अभाव नहुने गरी तयारी गरेका छौं ।’, उनले भने । कोरोना संक्रमणलाई न्यूनीकरण गर्न निषेधाज्ञाको अवधिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भएका सवारी पास बाहेक अन्य कुनैपनि पासलाई मान्यता नदिने भएको छ ।
जिल्लामा कोरोना संक्रमित बढेसँगै स्थानीय तहले धमाधम आइसोलेसन तयार गरेका छन् । जिल्लाको दशवटा स्थानीय तहमध्ये आठ पालिकाले आइसोलेसन निर्माण गरेका छन् भने दुईवटाले अझै निर्माण गरेका छैनन् । हेटौंडा उपमहानगरले १ सय २० बेडको आइसोलेसन निर्माण गरेको छ । जिल्लामा सवैभन्दा बढी संक्रमित हेटौंडामा रहेका छन् । थाहा नगरपालिका, मकवानपुरगढी, बकैया, मनहरी, बागमती, राक्सिराङ, कैलाश गाउँपालिकामा गरी जिल्लाभर २ सय ८० बढी बेडको आइसोलेसन निर्माण भएको छ ।
इन्द्रसरोबर र भीमफेदी गाउँपालिकाले आइसोलेसन बनाउन सुरु गरेको छैन । भीमफेदीले २० वेडको बनाउने निर्णय गरेपनि काम अगाडि बढाएको छैन । हेटौंडामा १ सय २०, बकैया २०, थाहा ४०, मनहरी ४०, मकवानपुरगढी १५, इन्द्रसरोबर १२, बागमती १०, कैलाश १० र राक्सिराङ २० बेडको आइसोलेसन कक्ष निर्माण गरेको छ ।