हेटौंडा/राष्ट्रियसभाको बागमती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदका लागि तीनजनाले शुक्रबार उम्मेदवारी मनोनयन दर्ता गराइसकेका छन् ।
सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, माओवादी केन्द्रको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा डा. खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट काभ्रेका कृष्णबहादुर तामाङले राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
तत्कालिन नेकपा विभाजन पश्चात् एमालेमा प्रवेश गरेका गृहमन्त्री ‘बादल’लाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त
रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । जेठ ६ गते हेटौंडा स्थित भुटनदेवी उच्च माविमा मतदान हुनेछ । प्रदेश सांसद, पालिका प्रमुख÷ उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्ने सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले जानकारी दिए ।
उपनिर्वाचनमा प्रदेश सभाका एकसय १० र स्थानीय तहका २ सय ३८ गरी कुल ३ सय ४८ मतदाता रहेका छन् । प्रदेश सभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ । प्रदेशसभामा एमाले ५७, माओवादी केन्द्र २३, कांग्रेस २२, विवेकशील साझा पार्टी २, राप्रपा दुई, नेमकिपा २ र स्वतन्त्र एक गरी एकसय १० मतदाता छन् । स्थानीय तहमा एमालेको १ सय ३३, कांग्रेसको ६७, माओवादीको ३३, नेमकिपाको २, राप्रपाको २ र जसपाको १ मत रहेको छ ।
एमालेको प्रदेशमा रहेका ५७ सांसदको भोट एकढिक्का भए २ हजार ७ सय ३६ मतभार प्राप्त हुनेछ । स्थानीय तहका १ सय ३३ जनप्रतिनिधिको १८ मतभारले २ हजार ३ सय ९४ मतभार हुनेछ । जसमा खनाल–नेपाल समूहको विद्रोह नहुने अवस्था भयो भने एमालेको कुल ५ हजार १ सय ३० मतभार हुनेछ ।
कांग्रेसको प्रदेशमा २२ सदस्यको ४८ मतभारका हिसाबले १ हजार ५६ र स्थानीय तहमा रहेका ६७ जनप्रतिनिधिको १८ मतभारका हिसाबले १ हजार २ सय ६ मतभार हुन्छ । कांग्रेसस“ग जम्मा मतभार २ हजार २ सय ६२ छ । माओवादीको प्रदेशमा रहेको २३ सिटको ४८ मतभार हुने हु“दा १ हजार १ सय ४ र स्थानीय तहका भोट हाल्न पाउने ३३ जनप्रतिनिधिको ५ सय ९४ गरी १ हजार ६ सय ९८ मात्र मतभार छ । यस हिसाबले कांग्रेस र माओवादी केन्द्र मात्रको गठबन्धन स“ग ३ हजार ९ सय ६० मात्र हुन आउ“छ ।
साना दलमध्ये विवेकशील साझाको प्रदेशसभामा तीन सदस्य छन्, जसको मतभार १ सय ४४ मत हुन्छ । विवेकशीलले कसलाई सहयोग गर्ने टुंगो लागेको छैन । राप्रपाको प्रदेशमा दुई सांसदको ९६ र एक स्थानीय जनप्रतिनिधिको १८ गरी १ सय ३२ मत भार छ । नेमकिपाको प्रदेशमा दुई सिटको ९६ र स्थानीय तहका दुई जनप्रतिनिधिको ३६ गरी १ सय ३२ मतभार छ ।
प्रदेशका एकजना स्वतन्त्र सांसदको ४८ मतभार र एक जनप्रतिनिधिको १८ मतभार जसपाको कित्तामा जाने निश्चित छ । प्रदेशको अंकगणितमा कांग्रेस, माओवादी र जसपाको गठबन्धनमा एमालेको नेपाल समूहको साथ नमिल्ने हो भने देवकोटा पराजित हुने निश्चित छ ।
नेपाल समूहले दावी गरेअनुसार प्रदेशसभाको २३ जना सांसदको १ हजार १ सय ४ र स्थानीय तहका ४५ जना प्रतिनिधिको ८ सय १० मतभार गठबन्धनको पक्षमा जानेछ ।