हेटौंडा/बागमती प्रदेश प्रहरी कार्यालयको हेटौंडामा निर्माण गरिने मुख्यालय भवनको शनिबार शिलान्यास गरिएको छ ।
३२ करोड लागतमा निर्माण गरिने मुख्यालय भवनको आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले शिलान्यास गरेका हुन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा भवन निर्माण सुरु गरिएको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने भवनको कुल लागत ३२ करोड अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षको लागि मन्त्रालयबाट ५ करोड निकासापछि टेण्डर प्रक्रियामार्फत भवन निर्माण सुरु गरिएको कार्यालय जनाएको छ । निकट भविष्यमा नेपाल प्रहरी समायोजन भइ प्रदेश प्रहरीको रुपमा रहने भएकोले हालको संरचना अपूग हुने र बागमती प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा विकास गर्नुपर्ने भएकोले सुविधान सम्पन्न भवन निर्माण थालिएको हो ।
बागमती प्रदेश प्रहरी हाल संघीय अन्तर्गत रहेता पनि बागमती प्रदेश सरकारले भवन निर्माणलगायत शान्ति सुरक्षासँग सम्बन्धित प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सहयोग गर्दै आइरहेको छ । मन्त्रालय बागमतीको सहयोगमा हालसम्म बागमती प्रदेश उपत्यका बाहेक अन्तर्गत ३४ वटा प्रहरी इकाई निर्माण भइसकेको छ । हाल १२ वटा प्रहरी इकाई निर्माणाधिन र चालु आर्थिक बर्षमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी इकाई निर्माणको लागि सम्झौता भई प्रारम्भ भइसकेको छ ।