हेटौंडा/कोरोना संक्रमणको दोस्रो लहरका कारण निरन्तर निषेधाज्ञा जारी रहँदा हेटौंडा औद्योगिक क्षेत्रको उद्योगमा उत्पादकत्वमा गिरावट आएको छ ।
एक महिनादेखि निरन्तर निषेधाज्ञाका कारण औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योगको उत्पादकत्वमा गिरावट आएको हो । उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलका अनुसार निषेधाज्ञायता औद्योगिक क्षेत्र भित्रका ८० प्रतिशत बढी उद्योगले ५० प्रतिशत क्षमतामा मात्र उत्पादन गरिरहेका छन् ।
बाँकी २० प्रतिशत उद्योग पूर्ण रुपमा ठप्प छ ।
कोरोना संक्रमण र निषेधाज्ञाका लागि औद्योगिक क्षेत्र भित्र रहेका १ सय १२ उद्योग मध्ये ८० प्रतिशत उद्योगले एक महिना देखि निरन्तर उत्पादनमा कटौती गर्दै आएको पोखरेलले बताए । ‘औद्योगिक उत्पादनमा अघिल्लो वर्षझैं यस पटक पनि निरन्तर गिरावट आइरहेको छ ।’ उनले भने ‘कोरोना संक्रमणको पहिलो लहरका कारण थलिएको उद्योग उठ्न नपाइ यस पटकको महामारी र निषेधाज्ञाले थप मारमा परेको छ ।’
निषेधाज्ञा जारीपछि ठूला उद्योगले १२ घण्टाको एक सिफ्ट र साना उद्योगले ६ घण्टाको सिफ्ट मात्र संचालन गरिरहेका छन् । मजदुरको न्यून सहभागीता, कच्चा– पदार्थको अभाव, बिक्री वितरणमा कमी, घाटामा संचालन गर्नुपर्ने बाध्यता र महामारीको जोखिमका कारण उत्पादकत्वमा निरन्तर
गिरावट आएको उद्योगीहरुको दाबी छ । एक सिफ्टमा २ सय भन्दा बढी मजदुरले काम गर्ने उद्योगमा हाल ५० देखि ६० जना मात्र रहेको र कच्चापदार्थ सहज रुपमा उपलब्ध नहुँदा उत्पादन कटौतीको विकल्प नरहेको उद्योगीहरु बताउँछन् ।
हेटौंडामा संचालित बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल प्रालि, एशियन पेन्ट्स, सिएसआइ क्लोजअप, बर्जर पेन्ट्स जस्ता ठूला उद्योगहरु भने गत वर्ष देखिनै निरन्तर संचालनरत् रहे पनि समयसमयमा उत्पादन कटौती गर्दै आएको उद्योग संघ अध्यक्ष पोखरेलले बताए । ‘उद्योगले उत्पादन कटौती गर्दा
रोजगारी गुम्ने, राजश्वमा गिरावट र उद्योग धरासायी हुनेछ । यस्तो अवस्थालाई मध्येनजर गर्दै सरकारले नयाँ रणनीति ल्याउनुपर्नेछ ।’ उनले भने ।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले औद्योगिक क्षेत्रभित्र रहेका खाद्यान्न, अत्यावश्कीय बस्तु उत्पादन गर्ने उद्योग संचालनमा निरन्तर समन्वय भइरहेको बताए । उनले औद्योगिक क्षेत्रभित्र रहेका १५ वटा खाद्यान्न र अत्यावश्यकीय बस्तु उत्पादन गर्ने उद्योग संचालित रहेको जानकारी दिए । ‘निर्माण सम्बन्धि सामाग्री उत्पादन गर्ने उद्योग लगायतका लागि उत्पादकत्व कम भएपनि बन्द हुन सक्ने अवस्थाबाट जोगाउन हामी लागि परेका छौं ।’ उनले भने ‘उद्योगलाई बचाउन सरकारबाटै भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।’